अशोक दाहाल / बीबीसी न्यूज नेपाली
काठमाडौं, १८ कार्तिक । ईपीएस कोरिया शाखाले यो वर्ष रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा दिएकाहरूमध्ये करिब १० प्रतिशत मात्रै सफल भएको जानकारी दिएको छ।
सन् २०२४ सुरु भएयता हालसम्म करिब १ लाख २५ हजारले उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा दिइसकेका छन्। जसमध्ये १३ हजार ९ सय ४ जना मात्रै उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ।
बाँकी ३६ हजारको परीक्षा यही नोभेम्बर ११ बाट सुरु भएर डिसेम्बर १५ मा सकिँदैछ। त्यसबाट पनि दक्षिण कोरियाले करिब २ हजार ५ सय जना कामदार मात्रै छनौट गरिने जानकारी दिएको छ। अब हुने परीक्षामा यसअघि भन्दा कम, करिब सात प्रतिशत, मात्रै छनौट हुनेछन्।
यो वर्ष उत्पादनमूलक क्षेत्रमा आवेदन दिएकाहरूको परीक्षा सक्न वर्षभरि लाग्ने भएपछि दक्षिण कोरियाले नेपालबाट ुरुट इन्डस्ट्रीु बाहेकका अन्य क्षेत्रको भाषा परीक्षा गराएको थिएन। रुट इन्डस्ट्री भनिने वेल्डिङ लगायतका क्षेत्रमा ५० जना अर्धदक्ष कामदारहरूका लागि भने विशेष परीक्षा लिइएको थियो।
किन कम उत्तीर्ण भए ?
दक्षिण कोरियाले वर्षभरिमा लैजाने कामदारहरूको सङ्ख्या पहिले नै तोकेको र नेपालमा परीक्षाका लागि आवेदन दिने धेरै भएका कारण अधिकांश मानिसहरू अनुत्तीर्ण भएको ईपीएस कोरिया शाखाका अधिकारीहरू बताउँछन्।
“उहाँहरूले पहिल्यै कोटा तोकेको हुन्छ। नेपाललाई उत्पादनमूलक क्षेत्रमा १५ हजार कोटा दिने भनेर आवेदन माग गरिएकोमा पछि थपेर १६हजार ४ सय जति पुर्याइएको थियो,” ईपीएस कोरिया शाखाका अधिकृत कमलराज श्रेष्ठले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो।
यो वर्ष नेपालको कोटा भन्दा १० गुणाभन्दा धेरैले भाषा परीक्षाका लागि आवेदन दिएका कारण ९० प्रतिशत छनौटमा नपरेको श्रेष्ठ बताउनुहुन्छ।
ईपीएस कोरिया शाखाका अनुसार अहिले दक्षिण कोरियाको ह्युमन रिसोर्स डिभलपमेन्ट (एचआरडी) सर्भिसले दैनिक पाँच समयमा गरेर १ हजार जनाको भाषा परीक्षा लिइरहेको छ।
ईपीएस प्रणालीबाट १६ वटा देशबाट कामदार लैजाने व्यवस्थापन हेर्दै आएको दक्षिण कोरियाको एचआरडीले तीन चरणमा भाषा परीक्षा सञ्चालन गरेको थियो।
ज्यानुअरी २० बाट सुरु भएको पहिलो चरणको परीक्षामा सहभागी भएका ४७ हजार मध्ये ५ हजार ७ सय ५३ जना मात्रै उत्तीर्ण भए। मे महिनामा सुरु भएर जुलाई अन्तिममा सकिएको दोस्रो चरणको परीक्षामा आवेदन दिएका करिब ८० हजारमध्ये केही कमले परीक्षा दिएका थिए। त्यसमध्येबाट ८ हजार १ सय ५१ जना मात्रै उत्तीर्ण भए।
नोभेम्बर ११ मा सुरु भएर डिसेम्बर १७ मा सकिने तेस्रो चरणको परीक्षामा बाँकी ३६ हजार सहभागी हुँदैछन्। त्यसमध्येबाट बाँकी २ हजार ४ सय ९६ जना छनौट हुनेछन्। अर्थात् अब हुने परीक्षामा करिब ७ प्रतिशत मात्रै उत्तीर्ण हुनेछन्।
दक्षिण कोरियाले सबैभन्दा बढी अङ्क ल्याउनेहरू मध्येबाट आफूलाई आवश्यक कामदार मात्रै छनौट गर्दा यो वर्ष भाषा परीक्षामा धेरै जना अनुत्तीर्ण देखिएको अधिकारीहरूले बताएका छन्।
एचआरडीले अबको वर्ष हुने परीक्षामा चाहिँ नेपालको कोटा भन्दा तीन गुणा बढीलाई मात्रै भाषा परीक्षामा सहभागी गराउन आग्रह गरेको छ। जसकारण परीक्षा दिएकाहरू मध्येबाट एक तिहाइ युवाहरू एचआरडीले छनौट गर्ने तयारी गरेको छ।
नेपाल सबैभन्दा धेरै कामदार पठाउने देश
दक्षिण कोरियाले ईपीएस प्रणालीबाट बाङ्ग्लादेश, श्रीलङ्का, पाकिस्तान, कम्बोडिया, म्यान्मार लगायत १६ वटा देशहरूबाट कामदार लैजाने गरेको छ। जसमध्ये पछिल्ला वर्षहरूमा सबैभन्दा धेरै कामदार नेपालबाट लैजाँदै आएको छ।
सन् २०२३ मा नेपालबाट ईपीएस प्रणालीअन्तर्गत १९ हजार २ सय १४ जना कामदार रोजगारीका लागि छनोट भएका थिए। त्यसअघि सन् २०२२ मा १४ हजार जना गएको ईपीएस कोरिया शाखाका अधिकारीहरू बताउँछन्।
यो वर्ष दक्षिण कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार विदेशी कामदारहरू भित्र्याउने लक्ष्य राखेको जनाएको छ। उत्पादनमूलक क्षेत्र बाहेकका परीक्षाहरू नहुँदा यो वर्षका सुरुआती महिनाहरूमा नेपालबाट जाने कामदारहरूको सङ्ख्या केही घटेको थियो।
तर दक्षिण कोरियाले कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा काम गर्न भाषा परीक्षा उत्तीर्ण गरेका नेपालीहरूलाई क्षेत्र परिवर्तन गरेर सेवा क्षेत्रमा रोजगारीका लागि आवेदन दिने मौका दिएको थियो।
यो वर्ष अघिल्लो वर्षभन्दा केही बढी कामदार दक्षिण कोरियाले लैजाने अपेक्षा नेपाली अधिकारीहरूको छ।
भाषा परीक्षा उत्तीर्ण गरेकाहरूबाट अझै करिब २४ हजार जना कोरिया जाने प्रक्रिया र पर्खाइमा रहेको ईपीएस कोरिया शाखाले जनाएको छ।
“बढी चाहिँ कृषि क्षेत्रका जान बाँकी छन्। उनीहरू जाने क्रम पनि नियमित चलिरहेकै छ,” श्रेष्ठले भन्नुभयो।
अबको वर्ष पाँच क्षेत्रमा कामदार लैजाने
ईपीएसबाट कोरिया जानेहरूको सङ्ख्या
गत वर्ष भाषा परीक्षाको विषयमा उत्पन्न विवादपछि भएको विरोध प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि उत्पादनमूलक क्षेत्रमा आवेदन दिएका सबैलाई भाषा परीक्षामा सहभागी गराउने निर्णय भएको थियो।
दक्षिण कोरिया रोजगारीमा जानका लागि प्रमुख खुड्किलो मानिने भाषा परीक्षामा सहभागी हुन १ लाख ६३ हजार नेपालीहरूले आवेदन दिएका थिए। ती सबै उत्पादनमूलक क्षेत्रमा काम गर्न चाहनेहरू थिए।
एउटै क्षेत्रमा भाषा परीक्षाको चाप भएको भन्दै अन्य क्षेत्रमा परीक्षा नलिएको दक्षिण कोरियाले सन् २०२५ मा पाँचवटा क्षेत्रमा कामदार लैजाने आफ्नो तयारीबारे नेपाली पक्षलाई जानकारी गराएको छ।
तर आगामी वर्ष नेपालबाट लगिने कामदारको कोटाबारे कोरियाले अझैसम्म केही बताएको छैन।
यसबीचमा दक्षिण कोरियाले सेवामूलक र वन विज्ञानसहितका विभिन्न क्षेत्रमा रोजगारीको अवसर खुलाएको छ।
केही पहिलेबाट पानीजहाजको निर्माण क्षेत्रमा पनि नेपालबाट कामदार लैजान थालेको सो मुलुकले ‘होटेल र रेस्टुराँ’ लगायतका क्षेत्रमा पनि रोजगारीको मौका दिने जनाएको थियो।
ईपीएस शाखाका अनुसार क्षेत्र परिवर्तन गरेर ‘फरेस्ट्री ’ र सेवामूलक क्षेत्रमा पनि नेपाली युवाहरू गएका थिए। ईपीएस कोरिया शाखाले अर्को वर्षबाट उक्त समूहका लागि अलग्गै परीक्षा गर्ने तयारी गरिरहेको छ।
अबको परीक्षा प्रणाली कस्तो हुन्छ ?
सन् २०२५ का लागि भने कामदारहरूको मागसङ्ख्या भन्दा दुई तिहाइ बढी मात्रै आवेदन स्वीकार गरेर परीक्षा लिने तयारी भइरहेको ईपीएस कोरिया शाखाका अधिकृत श्रेष्ठले बताउनुभयो
“अब १५ हजार माग भयो भने ४५ हजार को मात्र आवेदन लिइन्छ। त्यसका लागि ईपीएस कोरिया शाखाले एउटा प्रणाली विकास गरिरहेको छ,” उहाँले भन्नुभयो ।
“त्यसमा आवेदन खुल्नुअघि नै आफ्नो विवरण राख्ने र आफ्नो लगइन बनाउने सुविधा दिइन्छ। एचआरडीले आवेदन खुलाउने बित्तिकै क्षेत्र छानेर पेस गर्ने काम मात्रै बाँकी हुँदा प्रणालीमा ओभरलोड हुँदैन।”
आवेदनको तोकिएको सङ्ख्या पुग्ने बित्तिकै आवेदन प्रणाली स्वचालित रूपमा बन्द हुने गरी व्यवस्था गर्न लागिएको ईपीएस शाखाले जनाएको छ।
अर्को वर्ष कोरियाबाट २० हजार भन्दा धेरै कामदारहरूको माग हुने आकलन गरिएको छ। त्यसो भए ६० हजार हाराहारीले परीक्षा दिन पाउने अधिकारीहरूले बताएका छन्।