काठमाडौं, २० कार्तिक । तिहार पछि पनि शेयर बजारले उकालो यात्रा तय गर्ने जाँगर देखाएन । तिहारको बिदापछिको पहिलो कारोबार दिन शेयर बजारपरिसूचक झिनो अंक घटेर बन्द भएको छ। तिहार अघिको अन्तिम कारोबार दिन करिब साढे १४ अंक घटेर बन्द भएको धितोपत्र बजार परिसूचक मंगलबार ०.२१ अंक घटेर २६७७.४० विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३ सय २ स्टकको ९७ लाख १३ हजार कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन सुपर माइ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १०३ रुपैयाँ ७० पैसा बढेर १ हजार १४० रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य साढे प्रतिशत बढेको छ। यस दिन अधिक मूल्य बढ्ने कम्पनीहरुमा गुराँस लघुवित्त वित्तीय संस्था, रसुवागढी हाइड्रो, एनआईसी सेलेक्ट फण्ड, साञ्जेन जलविद्युत, बलेफी हाइड्रो, मानुषी लघुवित्त र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् ।
कारोबारमा आएको मिड सोलु हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १०६ रुपैयाँ १० पैसा घटेको छ। यस दिन शेयर मूल्य धेरै घट्ने अन्य कम्पनीहरुमा अपर स्याड.गे हाइड्रो पावर, सामलिड. पावर कम्पनी, एक्सेल विकास बैंक, एनआईसी फ्लेक्सी क्याप फण्ड, सिभिल बैंक डिबेञ्चर, एनआईसी एशिया ग्रोथ फण्ड, सनराईज फस्र्ट म्युचुअल फण्ड, सानिमा लार्ज क्याप फण्ड र आत्मनिर्भर लघुवित्त रहेका छन् ।
कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सानिमा जीआईसी इन्स्योरेन्सको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनएलजी इन्स्योरेन्सको करिब १६ करोडको शेयर खरिदबिक्री भएको छ। त्यस्तै आईजीआई इन्स्योरेन्सको ११ करोड ६१ लाख, समृद्धि फाइनान्स कम्पनी लिमिटेडेको ११ करोड ६० लाख,रसुवागढी हाइड्रो पावरको ११ करोड ५३ लाख,पिपल्स हाइड्रो १० करोड १७ लाख, लिबर्टी इनर्जीको ९ करोड ९७ लाख, सामलिड. पावरको ९ करोड १९ लाख र सोल्टी होटल लिमिटेडको ८ करोड ५४ लाखको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १।०६ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको हो।


















