Prakash Adhikari November 5, 2024

निरञ्जन राजवंशी
बीबीसी न्यूज नेपाली

काठमाडौं, २० कार्तिक । अमेरिकाको ड्यालसमा आँधीबेहरी आउन सक्ने सम्भावना र वर्षाका कारण सोमवार राति (स्थानीय समयानुसार सोमवार दिउँसो) स्कटल्यान्ड र नेपालबीचको आईसीसी विश्वकप लीग २ को खेल सुरु भएपछि रद्द भयो।

उक्त खेलसँगै विश्वकप क्रिकेट लीग २ को सन् २०२३-०२७ अन्तर्गत नेपालले सन् २०२४ मा खेल्ने तय भएका तीनवटा शृङ्खला सकिएका छन्।

विगत डेढ महिनाको अवधिमा नेपाली टोलीले क्यानडा र अमेरिकाको भ्रमण गर्‍यो। तर दुवै भ्रमण फलदायी भएनन्। क्यानडामा जम्मा एक अङ्क बटुलेको नेपालले अमेरिकामा तीन अङ्क जोड्यो अर्थात् आठ खेलबाट चार अङ्क मात्र। समग्रमा यो वर्षको लीग २ बाट नेपालले ६ अङ्क मात्र पाउन सक्यो।यो परिणामले लीग २ मा नेपालको चुनौती अझ गहिरिँदै गएको सङ्केत गरेको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चा बटुलेको नेपाली टोलीको ब्याटिङ फेरि लरबराउन थालेको देखिन्छ।

पुछारबाट दोस्रो
असोसिएट वर्गका नेपाल, क्यानडा, अमेरिका, स्कटल्यान्डन, नेदरल्यान्ड्स, नामिबिया, ओमान र यूएईसहित आठवटा देशका टोलीहरू चारवर्षे शृङ्खलामा सहभागी छन्।

एउटा टोलीले हरेक वर्ष घरेलु मैदानमा एक तथा बाहिर दुईवटा शृङ्खला खेल्ने छ। समग्रमा टोलीले सन् २०२७ सम्ममा ३६ खेल खेल्ने छन्।

अब शृङ्खलामा सहभागी राष्ट्रहरूको स्थिति हेरौँ।

यसपालि मात्रै लीग २ को शृङ्खलामा उक्लिएको क्यानडाले प्रभावशाली प्रदर्शन गर्‍यो।

क्यानडा र अमेरिका दुवैले १६ अङ्क बटुलेका छन् र रन रेटका कारण क्यानडा दोस्रो स्थानमा छ।

उति नै १२ खेल खेलेको नेपालसँग भने छ अङ्क मात्र छ। नेपाल तालिकाको सातौँ स्थानमा छ। यो भनेको पुछारबाट दोस्रो स्थान हो।

अन्तिम आठौँ स्थानमा चार अङ्कका साथ यूएई छ।

स्मरणीय कुरा के छ भने यूएईले जम्मा नौ खेल मात्र खेलेको छ। उसले तीन खेल खेल्न बाँकी नै छ।

दुई दिनअगाडि मात्र यूएईले आफ्नै घरमा बलियो ठानिएको नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

तालिकाको तेस्रो स्थानमा १४ अङ्कका साथ साबिक विजेता स्कटल्यान्ड छ। उसले ११ खेल खेलेको छ।

सोमवार राति ड्यालसमा २६ रन जोड्दा एक विकेट गुमाइसकेको नेपालको स्थिति राम्रो देखिएको थिएन। तर खेल अवरुद्ध हुँदा नेपालले एक अङ्क पायो।

चौथो स्थानमा रहेको नेदरल्यान्ड्सले नौ खेलबाट १२ अङ्क जोडेको छ। त्यस्तै १२ खेलबाट १० अङ्क जोडेको नामिबिया तालिकाको पाँचौँ स्थानमा छ।

छैटौँ स्थानमा ओमान छ। उसले नौ खेलबाट आठ अङ्क बटुल्न सकेको छ।

संयुक्त राज्य अमेरिका – १२ खेलबाट १६
क्यानडा – १२ खेलबाट १६
स्कटल्यान्ड – ११ खेलबाट १४
नेदरल्यान्ड्स – ९ खेलबाट १२
नामिबिया – १२ खेलबाट १०
ओमान – ९ खेलबाट ८
नेपाल – १२ खेलबाट ६
यूएई – ९ खेलबाट ४

नेपाली टोलीको प्रदर्शन कस्तो

आईसीसी विश्वकप लीग २ को गत सन् २०१८-०२२ को शृङ्खलामा नेपालले तेस्रो भएको थियो।

तेस्रो बन्दा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को मान्यता जोगाउनुका साथै सीधै विश्वकप छनोटमा पुग्ने अवसर पनि पायो।

तर यसपालि टोलीको प्रदर्शन सुरुदेखि नै बिथोलियो।

सन् २०२३-०२७ को शृङ्खलाको सुरु गत फेब्रुअरीमा नेपालबाटै भएको थियो। नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच भएको उक्त शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई एउटा खेलमा पराजित गरेको थियो।तर नामिबियासँग दुई र नेदरल्यान्ड्ससँग एक खेल गुमाउन पुग्यो।

त्यसपछि नेपालले क्यानडा र अमेरिका भ्रमण गरेको हो। क्यानडामा नेपालले तीन खेल गुमायो भने एउटा खेल रद्द हुन पुग्यो। क्यानडामा ओमान सम्मिलित शृङ्खलामा नेपालको ब्याटिङ समस्या बल्झिएको देखियो।

क्यानडासँगको दुई खेलमा नेपालले एउटामा १८१ र दोस्रो खेलमा १५० रन मात्र बनाउन सकेको थियो।

ओमानविरुद्ध २२० रन बनाएको प्रतिस्पर्धात्मक खेल भने ओमानले एक बल खेल्नुअगाडि जितेको थियो भने अर्को खेल अवरुद्ध भएको थियो। क्यानडामा भोगेको पराजयका कारण अमेरिका भ्रमणमा नेपाल थप दबावमा परेको थियो।

स्कटल्यान्ड सम्मिलित प्रतिस्पर्धामा ड्यालसमा पनि नेपालले एक खेल मात्र जित्न सक्यो। अमेरिकासँगको दुवै भेटमा नेपाल पराजित भयो। स्कटल्यान्डलाई भने नेपालले पहिलो खेलमा हरायो र दोस्रो खेल रद्द हुन पुग्यो।

उक्त भ्रमणअगाडि नै यो वर्ष नेपालले एकपछि अर्को प्रतियोगिता गुमाइसकेको थियो। टोली एशिया कप २०२५ मा छनोट हुन सकेन भने एसीसी इमर्जिङ टीम्स एशिया कप २०२४ मा समेत छनोट हुन विफल भयो।

तर गत वर्ष एशिया कपमा नेपालले आफ्नो प्रभावशाली खेल देखाएको थियो। इमर्जिङ टीम्स एशिया कपको साबिक विजेता नेपाल नै थियो।

अब कस्ता चुनौती?

तीन शृङ्खलाको विश्वकप लीग २ को परिणामपछि नेपाली टोलीमाथि चुनौती थपिएको छ। जम्मा नौ शृङ्खला खेल्नुपर्ने नेपालले अब सन् २०२७ सम्म छ शृङ्खला खेल्न बाँकी छ।

प्रत्येक टोलीले घरेलु मैदानमा तीन शृङ्खला खेल्न पाउने प्रावधानअनुसार नेपालले कीर्तिपुर मैदानमा दुई शृङ्खला खेल्ने छ भने बाँकी चार शृङ्खला बाहिरी मैदानमा।

बाहिरका प्रतिस्पर्धामा नेपालले सधैँ ब्याटिङमा सङ्घर्ष गर्दै आएको देखिन्छ।

“टी-२० विश्वकपमा व्यस्त नेपाली टोली त्यही मनस्थितिमा खेलिरहेको जस्तो देखिन्छ। प्रदर्शन त्यस्तो देखिँदैन,” राष्ट्रिय टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीले भने।

नेपालले आगामी वर्ष मे महिनाको अन्तिम साता स्कटल्यान्डमा नेदरल्यान्ड्ससँग र अक्टोबरमा यूएई गएर अमेरिका र यूएईसँग खेल्ने छ।

सोही वर्षको अन्त्यतिर नेपालले यूएईलाई नेपालमा निम्त्याउने छ।

Share Now