काठमाडौं, १९ कार्तिक । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधबार राति ६३ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाका अनुसार अस्वस्थ भएपछि उहाँलाई ग्राण्डी अस्पताल पुर्याइएको थियो। डेंगी संक्रमित उहाँलाई राति हृदयघात भएको बताइएको छ।
गौचनको शव अस्पतालमै राखिएको छ । उहाँका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । गौचन नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुनुहुन्थ्यो।
यस अगाडि दामोदर कुण्ड गाउँपालिकाको दामोदर कुण्डको अवलोकनका लागि गएको समयमा पनि उनी बिरामी परेपछि नेपाली सेनाले उद्धार गरेको थियो।


















