-स्टेफनी हेगार्टी । जनसङ्ख्या संवाददाता, बीबीसी विश्व सेवा
लण्डन(संयुक्त अधिराज्य), २९ कार्तिक । विश्वव्यापी स्तरमै अपेक्षा गरिएभन्दा तीव्र रूपमा प्रजननदरमा ह्रास आएको छ। चीनमा हालसम्मकै तल्लो स्तरको जन्मदर देखिएको छ। ल्याटिन अमेरिकी देशहरूमा पनि आधिकारिक जन्मसङ्ख्या पूर्वानुमानभन्दा निकै कम देखिएको छ।
मध्यपूर्व र उत्तरी अफ्रिकामा समेत नाटकीय रूपमा जन्मदरमा गिरावट आएको छ। मानिसहरूले कम सन्तान जन्माएका कारण यस्तो भएको हो।
संसारका लगभग हरेक देशमा बहुसङ्ख्यक मानिसहरूका सन्तान छैनन्।
निःसन्तानपनका कारण
धेरैका निम्ति ुसन्तान नहुनुु एउटा छनौट हो। अन्यका निम्ति यो जैविक समस्या हो। अन्य कैयौँका निम्ति यो फेरि अर्कै हो– विभिन्न कारकहरूको संयोगले गर्दा कुनै सन्तान बच्चा चाहेको भए पनि व्यक्तिले त्यो प्राप्त गर्न सक्दैन। समाजशास्त्रीहरू त्यसलाई “सामाजिक निःसन्तानपन” भन्छन्।
हालैको एउटा शोधले पुरुषहरूले र त्यसमा पनि विशेष गरी न्यून आय भएका पुरुषहरूले चाहेर पनि सन्तान प्राप्त गर्ने सम्भावना नहुने देखाएको छ।
सन् २०२१ मा नर्वेमा गरिएको एउटा अध्ययनले पुरुष निःसन्तानपनको दर अध्ययनमा सहभागीहरूको आयका आधारमा विभाजन गर्दा सबैभन्दा कम आय भएका पाँच प्रतिशत मानिसमा सबैभन्दा धेरै अर्थात् ७२ प्रतिशत रहेको निष्कर्ष निकाल्यो।
सबैभन्दा बढी कमाउनेहरूमा यो दर केवल ११ प्रतिशत मात्र भएको देखायो। यो अन्तर ३० वर्षमा लगभग २० प्रतिशतले फराकिलो भएको पाइयो।
तीसको दशकमा चल्दै गर्दा रोबिन ह्याड्लीलाई असाध्यै बाबु बन्न मन लागेको थियो। विश्वविद्यालय नगए पनि उहाँ उत्तरी इङ्ल्यान्डस्थित एउटा विश्वविद्यालयमा प्राविधिक फोटोग्राफरका रूपमा काम गर्नुहुन्थ्यो।
बीसको दशकमा विवाह गर्नुभएका उहाँ श्रीमतीसँग सम्बन्धविच्छेद हुनुअघिसम्म सन्तानका निम्ति प्रयत्नरत हुनुहुन्थ्यो।
धितोको किस्ता तिर्न सङ्घर्ष गर्नुपरेका कारण उहाँलाई नयाँ सम्बन्ध विकास गर्न कठिन भयो। साथीभाइ तथा सहकर्मीहरू बाबु बनेपछि उहाँलाई केही गुमाएजस्तो लाग्यो।
“केटाकेटीको बर्थ–डे कार्ड वा उनीहरूका सामग्रीहरूले तपाईँ के होइन वा के हुनुपर्थ्यो भन्ने स्मरण गराउँदो रहेछ। त्योसँग दुःख जोडिएको हुन्छ,” उहाँ भन्नुहुन्छ।
स्वयंको अनुभवले उहाँलाई पुरुष निःसन्तानपनबारे पुस्तक लेख्न प्रेरित गर्यो। त्यो लेख्दा उहाँले आफूमाथि “सन्तानोत्पादनलाई प्रभावित पार्ने सबैजसो कारणहरूस अर्थशास्त्र, जीवशास्त्र, घटनाक्रमको समय तथा सम्बन्धको छनौट”ले असर पारेको महसुस गरे।
सँगसँगै उहाँले आफूले अध्ययन गरेका धेरैजसो उमेर तथा सन्तानोत्पादनसम्बन्धी अनुसन्धानहरूमा निःसन्तान पुरुषहरूको उल्लेख नभएको पाए। उहाँका अनुसार राष्ट्रिय तथ्याङ्कहरूमा पनि त्यस्तै स्थिति थियो।
सामाजिक निःसन्तानपनको उदय
सामाजिक निःसन्तानपनका पछाडि बच्चा जन्माउन आवश्यक पर्ने स्रोतको अभावदेखि सही समयमा सही व्यक्तिलाई नभेट्नुजस्ता विभिन्न कारणहरू छन्। तर फिन्ल्यान्डको पप्युलेशन रिसर्च इन्स्टिच्यूटकी समाजशास्त्री र जनसङ्ख्याविद् अन्ना रोट्किर्च त्यसको जरो अन्तै भएको ठान्नुहुन्छ।
उहाँले युरोप र फिन्ल्यान्डमा २० वर्षभन्दा बढी समयदेखि सन्तानोत्पादन अभिप्रायको अध्ययन गर्नुभएको छ। उहाँले बालबालिकालाई हेर्ने दृष्टिकोणमा पनि गहिरो परिवर्तन आएको देख्नुभएको छ।
एसियाबाहिर फिन्ल्यान्ड विश्वमै सबैभन्दा बढी निःसन्तानपन दर भएको देश हो। तर सन् १९९० को दशक र सन् २००० को पूर्वार्धमा यसले विश्वकै अग्रणी बालमैत्री नीतिहरूका माध्यमले घट्दो प्रजननदरसँग लडेर खुसियाली मनायो। फिन्ल्यान्डमा आमाबाबुले प्रशस्त बिदा पाउँछन्, शिशुको हेरचाह गर्न धेरै खर्च लाग्दैन र महिला–पुरुष दुवैले घरायसी काममा समान हिस्सेदारी लिन्छन्।
तर सन् २०१० यता फिन्ल्यान्डको प्रजननदर झन्डै तीन गुनाले घटेको छ।
प्राध्यापक रोट्किर्चका विचारमा विवाह तथा सन्तानोत्पादनलाई एक समय आधारशिलाका रूपमा हेरिन्थ्यो। वयस्क जीवनमा प्रवेश गर्दै गर्दा त्यसो गर्ने चलन थियो। तर अहिले यसलाई जीवनका अन्य लक्ष्यहरू पूरा भएपछि अन्तिममा गर्ने कार्यजसरी लिने गरिन्छ।
“सबै विभिन्न वर्गका मानिसहरूले सन्तानले जीवनमा अनिश्चितता बढाउने ठान्ने गरेको देखिन्छ,” उहाँ भन्नुहुन्छ।
फिन्ल्यान्डमा धनी महिलाहरू अनिच्छुक रूपमा निःसन्तान हुने सम्भावना कम रहेको र कम आय भएका पुरुषहरू चाहँदाचाहँदै पनि सन्तानविहीन हुने सम्भावना रहेको उहाँले पाउनु भयो । यो पहिले हेरी ठूलो परिवर्तन हो। पहिले गरिब परिवारका मानिस वयस्कतातर्फ पहिले प्रवेश गर्थे, पढाइ छाड्थे, काम थाल्थे र युवावयमै परिवार अघि बढाउँथे।
पुरुषत्वमाथिको सङ्कट
पुरुषहरूका हकमा आर्थिक अनिश्चितताले चर्को प्रभाव पार्छ, जसले उनीहरूको सन्तान प्राप्त गर्ने सम्भावनालाई झनै कम बनाइदिन्छ। यसलाई समाजशास्त्रीहरूले “छनौटको प्रभाव” भनेका छन्, जसमा महिलाहरूले जीवनसाथी रोज्दा आफूसरह वा आफूभन्दा माथिल्लो सामाजिक हैसियतको व्यक्ति हेर्छन्।
“म बौद्धिक तथा आत्मविश्वासको कोणबाट आफू मैदानबाहिर पुगिरहेको थिएँ भन्ने देख्न सक्छु,” रोबिन ह्याड्ली आफ्नो तीसको दशकमा टुटेको सम्बन्धबारे भन्नुभयो, “यसो सोच्दा छनौटको प्रभाव एउटा कारक हुन सक्छ।”
झन्डै ४० नजिक पुगेपछि उहाँले अहिलेकी श्रीमतीलाई भेट्नुभयो, जसले उहाँलाई विश्वविद्यालय गएर विद्यावारिधि हासिल गर्न सघाउनुभयो। “उनी नभएको भए म अहिले जहाँ छु त्यहाँ हुँदैनथेँ।” समयक्रममा दुवैजनाले सन्तानका बारेमा सोच्नुभयो, तर ४० कटिसकेकाले धेरै ढिला भइसकेको थियो।
संसारभरका देशहरूभध्ये ७० प्रतिशतमा पुरुषले भन्दा महिलाहरूले शिक्षाको क्षेत्रमा राम्रो गरिराखेका छन्। येल विश्वविद्यालयकी समाजशास्त्री मार्सिआ इनहर्न यसले “सम्बन्धमा अन्तर” (मेटिङ ग्याप) बढाएको बताउँनुहुन्छ। यसले गर्दा विश्वविद्यालयको डिग्री नहुने युरोपेली पुरुषहरू निःसन्तानको समूहमा पर्ने गरेका छन्।
अदृश्य पुरुषहरू
धेरै देशहरूमा पुरुष प्रजनन क्षमतासँग सम्बन्धित व्यवस्थित तथ्याङ्क छैन किनभने उनीहरूले जन्मदर्ता गर्दा आमाको प्रजनन इतिहासमात्र लिन्छन्। यसको अर्थ निःसन्तान पुरुषहरूको निश्चित मान्यताप्राप्त श्रेणी छैन भन्ने हो।
तथापि केही नर्डिक देशहरूले दुवैको तथ्याङ्क लिन्छन्। एउटा नर्वेली अध्ययनले धनी र गरिब पुरुषहरूबीचको सन्तानप्राप्तिमा ठूलो असमानता पहिचान भएको पत्ता लगाएको छ, जसमा असङ्ख्य पुरुषहरू पछि छुटेका छन्।
भिन्सेन्ट स्ट्राबले अक्स्फोर्ड विश्वविद्यालयमा पुरुष स्वास्थ्य र प्रजननबारे अध्ययन गर्नुभएको छ। जन्मदर घटेको सन्दर्भमा पुरुषको भूमिकालाई प्रायशः नजरअन्दाज गरिएको उहाँ बताउनुहुन्छ।
उहाँ प्रजनन क्षमतामा गिरावट आउनुमा “पुरुष अस्वस्थता”को भूमिकाबारे रुचि राख्नुहुन्छ । त्यो भनेको युवा पुरुषहरूले महसुस गर्ने एक प्रकारको भ्रम हो जुन महिलाहरू सशक्त हुँदै जाँदा पुरुषत्वबारे उनीहरूको अपेक्षा बदलिन्छ भन्ने सोचसँग सम्बन्धित छ।
यसलाई पुरुषत्वको सङ्कटका रूपमा पनि लिने गरिएको छ, एन्ड्रयू टेटजस्ता दक्षिणपन्थी नारीवाद विरोधी व्यक्तित्वको उदयले पनि त्यो देखाउँछ।
धेरै नपढेका पुरुषहरूले विगतका दशकहरूमा भन्दा धेरै खराब प्रदर्शन गरेका छन्, स्ट्रबले बीबीसीसँग भन्नुभयो ।
धेरै उच्च र मध्यम आय भएका देशहरूमा प्राविधिक विकासले मानिसले गर्ने कामहरूलाई कम मूल्यवान र अधिक असुरक्षित बनाइदिएको छ, जसले विश्वविद्यालयका डिग्री भएकाहरू र नभएकाहरूबीचको खाडललाई फराकिलो बनाएको छ।
यसले मेटिङ ग्याप पनि फराकिलो पारेको छ र यसले पुरुषको स्वास्थ्यमा पनि महत्त्वपूर्ण प्रभाव पारेको छ।
विश्वव्यापी रूपमा लागुपदार्थको दुरुपयोग बढ्दै गएको छ र यसको प्रभाव प्रजनन गर्ने उमेरका पुरुषहरूमा सबैभन्दा बढी छ, चाहे त्यो अफ्रिका, दक्षिण अमेरिका तथा मध्य अमेरिकामा किन नहोस्।
यी सबैले सामाजिक र जैविक प्रजनन क्षमतामा प्रभाव पार्छन्। “मेरो विचारमा सन्तानोत्पादन र यी सामाजिक र सांस्कृतिक परिवर्तनहरूबीचको कडी छुटिराखेको छ,” उहाँ भन्नुहुन्छ।
यसले पुरुषहरूको शारीरिक र मानसिक स्वास्थ्यमा आधारभूत प्रभाव पार्न सक्छ। स्ट्रब भन्नुहुन्छ, “सम्बन्धमा रहेका पुरुषहरूको तुलनामा एकल पुरुषहरूको स्वास्थ्य खराब हुन्छ।”
के गर्न सकिन्छ ?
स्ट्रब र ह्याडलीले सन्तानोत्पादनसम्बन्धी चर्चा लगभग पूर्णतयाः महिलाकेन्द्रित भएको देखेका छन् र यसलाई सम्बोधन गर्न बनाइएका नीतिहरू पनि अधुरा पाएका छन्।
स्ट्रबका विचारमा हामीले सन्तानोत्पादनको कुरा गर्दा पुरुषको स्वास्थ्यबारे पनि ध्यान केन्द्रित गर्नुपर्छ र बाबुले सन्तानको हेरचाह गर्दाका फाइदाबारे चर्चा गर्नुपर्छ।
“युरोपेली सङ्घमा सयमध्ये एकजना पुरुषले शिशुको हेरचाहका निम्ति आफ्नो करिअरलाई विराम दिन्छन्, महिलाको हरेक तीनमध्ये एउटामा त्यस्तो हुन्छ,ू उहाँ भन्नुहुन्छ । शिशुको पालनपोषण गर्नु पुरुष स्वास्थ्यका निम्ति राम्रो छ भन्ने प्रशस्त प्रमाणहरूका बावजुद यस्तो भइरहेको छ।
निःसन्तान महिलाहरूको सङ्गठन नुन्का मड्रेस (नेभर मदर्स) मार्फत् इजबेलले मेक्सिकोमा ठूला अन्तर्राष्ट्रिय ब्याङ्कका केही प्रतिनिधिहरूसँग भेट्नुभयो। उनीहरूले इजबेललाई भर्खरै बाबु बनेकाहरूलाई छ हप्ता बिदा दिँदा समेत कोही बिदा नबसेको बताए।
“उनीहरूलाई यो छोरीमान्छेको काम हो भन्ने लाग्छ। ल्याटिन अमेरिकी पुरुषहरू त्यसरी सोच्छन्,” उहाँ भन्नुहुन्छ ।
ूहामीलाई राम्रो तथ्याङ्क चाहिन्छ,ू रोबिन ह्याड्ली भन्नुहुन्छ।
पुरुषको प्रजनन क्षमताको अभिलेख नराख्दासम्म यसलाई पूर्ण रूपमा बुझ्न सकिँदैन वा यसले तिनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने थाहा पाउन सकिँदैन।
प्रजननको चर्चामा पुरुषहरूको अदृश्यता अभिलेखभन्दा परसम्म फैलिएको छ। युवा महिलाहरूबीच उनीहरूको घट्दो प्रजनन क्षमताबारे सचेतना बढ्दै गर्दा पुरुष युवाबीच यसको चर्चा पनि हुँदैन।
पुरुषहरूमा पनि जैविक घडी हुने बताउने ह्याड्ली अनुसन्धानतर्फ सङ्केत गर्दै ३५ वर्षपछि शुक्राणुको प्रभावकारितामा कमी आउने बताउँछन्।
यी अदृश्य समूहलाई दृश्यमा ल्याउनु सामाजिक निस्सन्तानपनसँग जुध्ने एउटा उपाय हुन सक्छ। शिशुको पालनपोषणको परिभाषालाई व्यापक बनाएर पनि त्यसो गर्न सकिन्छ।
निःसन्तानपनबारे टिप्पणी गर्ने सबै अनुसन्धानकर्ताहरू सन्तान नभएका मानिसहरूले केटाकेटी हुर्काउन महत्त्वपूर्ण भूमिका खेल्न सक्नेतर्फ जोड दिन्छन्।
यसलाई एलोप्यारेन्टिङ भनिने रोट्किर्च बताउँनुहुन्छ। मानव विकासका क्रममा एउटा शिशुको हेरचाहका निम्ति एक दर्जनभन्दा बढी हेरचाहकर्ताहरू हुने गर्थे।
डाक्टर ह्याड्लीले आफ्नो अनुसन्धानका क्रममा कुरा गरेका निःसन्तान पुरुषहरूमध्ये एकले आफूले स्थानीय फुटबल क्लबमा नियमित भेट्ने एउटा परिवारको कुरा सुनाए। ती व्यक्तिका अनुसार, स्कूलको एउटा कार्यका निम्ति दुईजना भर्खरका बालकहरूलाई हजुरबुवा–हजुरआमा चाहिएछ। तर तिनीहरूसँग कोही पनि थिएनन्।
त्यसपछि ती व्यक्तिले केटाहरूको हजुरबुवाको भूमिका निर्वाह गरेछन्। वर्षौँपछि ती व्यक्तिलाई फुटबल मैदानमा देख्दा उनीहरू नमस्ते हजुरबा भन्ने गर्थे। त्यस्तो सम्मान पाउँदा राम्रो लाग्यो, उहाँले भन्नुभयो।
प्राध्यापक रोट्किर्च भन्नुहुन्छ, ूमेरो विचारमा अधिकांश निःसन्तान व्यक्तिहरू यस प्रकारका हेरचाहमा सामेल छन्, बस् त्यो देखिँदैन मात्र। त्यो जन्मदर्ताको ढड्डामा पनि देखिँदैन, तर वास्तवमै महत्त्वपूर्ण छ।ू


















