काठमाडौं, २९ कार्तिक । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधसिभा सदस्य धनराज गुरुङसँग बयान लिएको छ ।
बुधबार करिब ११ बजेपछि सीआईबी पुग्नुभएका गुरुङसँग करिब ५ बजेसम्म बयान लिएको बताइएको छ । मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको अनियमितताबारे सीआईबीले गुरुङसँग बयान लिएको थियो ।
सो सहकारीको महाप्रबन्धक रहनुभएकी उहाँकी पूर्वपत्नी ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ अपचलन भन्दै सहकारी रजिष्ट्रारको कार्यालयमा गत साउनमा सहकारीका अध्यक्ष कुम्मराज गुरुङले उजुरी गरेका गर्नुभएको थियो । यसका सम्बन्धमा संसदको सहकारी छानबिन समितिले पनि अध्ययन गरेर अनुसन्धान गरी आवश्यक कारबाही चलाउन सिफारिस गरेको थियो ।
कांग्रेस उपसभापति धनराजले भने आफूले ज्योतिसँग सम्बन्धविच्छेद गरिसकेकाले पूर्वपत्नीको कारोबारबारे आफूलाई जानकारी नहुने बताउँदै आउनुभएको छ ।
सहकारीका अध्यक्ष कुम्मराज गुरुङले संस्थाको महाप्रबन्धक ज्योती गुरुङ २०७६ माघदेखि संस्थाको उक्त रकम ठगेर सम्पर्क बाहिर रहेको जानकारी दिनुभएको छ ।
सहकारीमा २०७० सालमा लेखा प्रबन्धकका रुपमा काम थाल्नुभएकी ज्योतिले २०७६ मा विभिन्न १ सय ३८ भन्दा बढी बचतकर्ताको १२ करोड ५० लाख रुपैयाँ अपचलन गरेकी हुन् । संस्थाबाट बचतकर्ताको पैसा अपचलन भएपछि समिति नै बनाएर छानबिन गरिएको थियो ।