भैरहवा(रुपन्देही), २९ कार्तिक । बुटबलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज पनि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान भइरहेको छ । आज उहाँको बयानको तेस्रो दिन हो । बयान बिहान १०ः४० बजेदेखि थालिएको हो ।
मंगलबार बिहान पोखराबाट भैरहवा ल्याए लगत्तै रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा उहाँको बयान लिन थालिएको थियो । तर बयान नसकिएपछि उहाँलाई बुधबार करिब १० घण्टा जिल्ला सरकारी वकिल कार्यालयमा राखेर बयान लिइएको थियो ।
बयानका क्रममा दुई दिनमा गरी ५० भन्दा बढी प्रश्न सोधिएको र यसअघि नै तयार गरिएका झन्डै १५ प्रश्न सोध्न बाँकी रहेको अनुसन्धान अधिकारीहरुले बताएका छन् । उहाँको बयान आज सक्ने तयारी छ ।
सहकारीहरुको रकम अपचलन गरी गोर्खा मिडियामा लगानी गरेर रकम फिर्ता नदिई वचतकर्ताको रकम ठगी गरेको अभियोगमा नै पक्राउ पर्नुभएका गोर्खा मिडियाका उपाध्यक्ष छविलाल जोशीलाई पनि पोखराबाट रुपन्देही ल्याएर १३ घण्टा बयान लिएपछि पोखरा पठाइएको थियो । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान सकिएपछि उहाँहरुलाई भने मंगलबार काठमाडौं पठाइएको थियो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न जोशी र लामिछानेलाई काठमाडौं पनि लैजाने प्रहरीले जनाएको छ ।
बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित उपाध्यक्ष छविलाल बञ्जाडे जोशी लगायतलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको थियो ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र त्यसको खर्च लामिछानेको हस्ताक्षरमा भएको भन्दै त्यसको अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा, जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ र साढे १२ करोड विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।
आइतबार मात्र कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा भइरहेको अनुसन्धान सकिएको छैन ।