Prakash Adhikari December 17, 2024

 

क्वालालम्पुर(मलेशिया), २ पौष । एसीसी यु १९ महिला एसिया कप अन्तरगत आज भईरहेको खेलमा नेपालले भारतलाई ९५ रनको सामान्य लक्ष्य दिएको छ ।

मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९४ रनको सामान्य योगफल तयार गर्यो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा ३ चौका प्रहार गरेकी थिईन् । खेलमा अलिसा कुमारी यादवले ९ रन, ओपनर साना प्रविन ९ रन , उपकप्तान सोनी पाख्रिनले ८ रन तथा ज्योत्सिका मरासिनीले ६ रन जोडेका थिए ।

नेपाललाई रोक्ने क्रममा भारतका लागि पुरोनीका सिसोदीले ४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिईन् । आनन्दिता किशोरीले १ विकेट लिईन् ।

नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरिसकेको छ । सोमवार भएको खेलमा पाकिस्तानलाई नेपाल ६ विकेटले पराजित गरेको हो ।

भारतले पनि पाकिस्तानलाई हराएसँगै सुपर ४ मा स्थान पक्का गरिसकेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

Share Now