Prakash Adhikari December 17, 2024

क्वालालम्पुर(मलेसिया), २ पौष । एसीसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा पुगेको छ ।

आज भएको नेपाल र भारत यु १९ बीचको खेल वर्षाका कारण स्थगित भएपछि नेपाल अपराजित रुपमा सुपर ४ मा पुगेको हो ।

खेलमा नेपालले दिएको ९५ रनका लक्ष्य भारतले पछ्याइरहेको अवस्थामा भारी वर्षा भए पछि खेल रद्द भएको हो । भारतले ३.१ ओभरमा कुनैपनि विकेट नगुमाइकन २८ रन जोडेको बेला बर्षा सुरु भएको थियो ।
आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको समान्य योगफल तयार गर्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा ३ चौका प्रहार गरेकी थिईन् । अलिसा कुमारी यादवले ९ बलमा ४ चौकाको सहयोगमा ९ रनमा नट आउट रहिन् । खेलमा ओपनर साना प्रविन ९, उपकप्तान सोनी पाख्रिन ८ तथा ज्योत्सिका मरासिनीले ६ रन जोडेकी थिइन।

नेपाललाई रोक्ने क्रममा भारतकी पुरोनीका सिसोदीले ४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिईन् । आनन्दिता किशोरीले १ विकेट लिईन् ।

नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरिसकेको थियो । सोमवार भएको खेलमा पाकिस्तानलाई नेपालले ६ विकेटले पराजित गरेको हो ।

प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् ।
एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । नेपाल विश्व कपमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

Share Now