बेसीसहर(लमजुड.),२० पौष । विभागीय टिम एपीएफ फुटबल क्लब लमजुङमा सञ्चालित ३२ औं संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
बेंसीसहरको त्रिवेणी रंगशाला सहजी खेल मैदानमा शनिबार एपीएफले बुद्ध युवा क्लब (बीवाईसी) भोटेओडार लमजुङलाई टाइब्रेकरमा ४–३ गोलले पाखा लगाउँदै उपाधि हात पारेको हो । बीवाईसी यसअघि तीनपटकसम्म च्याम्पियन बनेको थियो ।
खेलको पहिलो हाफको सुरुवाती १२ मिनेटमा बीवाईसीका लागि समीर तामाङले गोल गर्दै खाता खोलेका थिए । पहिलो हाफको ३० मिनेटमा एपीएफका युवराज खड्काले गोल फर्काएर खेललाई बराबरीमा ल्याए ।
दोस्रो हाफको ६ मिनेटमा एपीएफका कप्तान हरि कार्कीले गोल गरे । ८ मिनेटको इन्जुरी समयको पाँचौं मिनेटमा भोटेओडारका समीरराज ठकुरीले गोल गरेपछि खेल बराबरीमा रोकिएको हो । थप १५ मिनेटमा दुवै टीमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेल अवधिभर एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ दी म्याच बन्दै नगद १० हजार रुपैयाँ पाए ।
विजयी एपीएफले १२ लाख रुपैयाँ, त्रिवेणी कप, मेडल र प्रमाणपत्र पाए । उपविजेता भोटेओडारले ६ लाख रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिता अवधिभर ६ गोल गरी एपीएफका प्रदीप लामाले सर्वाधिक गोलकर्ताको उपाधिसँगै नगद २५ हजार रुपैयाँ र ट्रफी पाए ।
उत्कृष्ट खेलाडी घोषित हुँदै भोटेओडारका विदेशी खेलाडी इम्यानुअलले २५ हजार रुपैयाँ र ट्रफी पाए ।
विजयीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष राजकुमार घिमिरेलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
त्रिवेणी युवा क्लब बेंसीसहरले पुस १२ गतेदेखि आयोजना गरेको ३२ औं त्रिवेणी कपमा १६ टिमले सहभागी थिए ।