Prakash Adhikari January 4, 2025
सोलुखुम्बु, २० पुसः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तराईसँग सञ्जाल विस्तार गर्न बनाइएको सडक सञ्चालले हिमाल र तराईबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताउनुभएको छ ।
सगरमाथा क्षेत्रलाई पर्यटन र विकाससँग जोड्ने उद्देश्यले निर्माण गरिएको सडक परियोजनाको आज उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले उक्त सडकले हिमाल र तराईबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सगरमाथा क्षेत्र जोड्ने सडक स्तरोन्नतिमा कोशी प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रको पर्यटन प्रवर्द्धनलाई तीव्रता दिने योजना रहेको जानकारी दिनुभयो ।
”पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै विकासमा लहर आएको छ । अब खुम्बुमा सडक पुगेपछि पर्यटकलाई जहाजको भर पर्नुपर्ने बाध्यता हटेको छ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो । यस सडकले स्थानीय उत्पादनलाई ठूला बजारसम्म पु¥याउन र हिमाली उत्पादनलाई तराई तथा तराईका उत्पादनलाई हिमालसम्म जोड्न थप सहज हुने विश्वास व्यक्त गर्दै उहाँले पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकारको निरन्तर साथ र सहयोग रहने उल्लेख गर्नुभयो ।
लुक्लाबाट नजिकैको बस्ती सुर्केसम्म सडक विस्तार भएपछि अहिले त्यहाँसम्म बस सेवा सञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउनेमा मुख्यमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । हिमाली उत्पादनहरू जस्तै आलु, गहुँ, जडीबुटी र तरकारीहरूलाई तराईसम्म पु¥याउन यो सडकको ठूलो भूमिका रहने उहाँले बताउनुभयो ।
सडकले सगरमाथा क्षेत्रमा मात्र नभई सम्पूर्ण कोशी प्रदेशको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाले समेत सडक निर्माणलाई स्वागत गर्दै यो विकासले आफ्नो दैनिकीमा परिवर्तन ल्याउने विश्वास गरेका छन् ।
मुख्यमन्त्री कार्कीले खुम्बु क्षेत्रमा थप विकास योजना अघि बढाइने र यस क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउने रणनीति रहेको बताउनुभयो । “सगरमाथा क्षेत्र नेपाललाई विश्वमै परिचित गराउने क्षेत्र हो । यसको विकास र प्रवर्द्धन हाम्रो प्राथमिकतामा छ”, उहाँले भन्नुभयो ।
सडक निर्माणले सगरमाथा क्षेत्रमा पर्यटकहरूको आगमनमा सहजता ल्याउने देखिएको सङ्घीय सरकारका रक्षामन्त्री मानवीर राईले बताउनुभयो । भौगोलिक हिसाबले विकट रहेको खुम्बुलाई सडकले छोएसँगै आफ्नो एउटा अभिभारा पूरा भएको उहाँको भनाइ छ । सडक विस्तार गरेर मात्रै नपुग्ने भएकाले सङ्घ र प्रदेश सरकारको नजर यो सडक पक्की गर्नमा जानुपर्ने मन्त्री राईले जोड दिनुभयो ।
कोशी प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले बजेटमा सङ्घ प्रदेश सरकारले जिल्लालाई उपेक्षा गरेको आरोप लगाउनुभयो । पर्यटकीय जिल्ला सोलुखुम्बुलाई विश्वले नियालिरहेको भए पनि बजेट विनियोजनमा आफ्नो जिल्ला सधैँ उपेक्षामा पर्ने गरेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले भौगोलिक कठिनाइका बाबजुत उत्कृष्ट कार्य गरेको दाबी गर्नुभयो । भूगोलको हिसाबले जिल्लाको सबैभन्दा बढी क्षेत्र ओगटेको पालिका भएकाले उच्च हिमाली क्षेत्रका विकट पालिकाहरूलाई प्रोत्साहन गर्न विशेष प्याकेजका कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष टासी शेर्पाले कुनै पनि राष्ट्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको मेरुदण्ड भएको बताउनुभयो । खुम्बु क्षेत्र हवाई सेवाको मात्रै भर पर्नु परेको तीतो यथार्थ सुनाउँदै उक्त बाध्यतालाई सडकले हल गरेको उहाँले बताउनुभयो । सो सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।
Share Now