Prakash Adhikari January 29, 2025

काठमाडौं, १६ माघ । नेपाल पुलिस क्लबलाई ४-० ले हराउँदै एपीएफ क्लब एन्फा महिला लिग च्याम्पियन बन्न सफल भएको छ।

सविता राना मगरको दुई र सरु लिम्बु र अनु लामाको एक एक गोलमा एपीएफले उपाधि जितेको हो ।

दशरथ रंगशालामा आज भएको खेलमा एपीएफले पहिलो हाफमा आफ्नो क्षमता अनुसार खेल्न सकेन्। ३० औं मिनेटमा अनिता बस्नेतको लामो प्रहारलाई गोल किपर उषा नाथले बचाइन्।

यस बाहेक एपीएफले गोल गर्ने अवसर सिर्जना गर्न सकेन्। यता पुलिसले पनि मुभ समेत बनाउन सकेन्। पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

दोस्रो हाफमा एपीएफले पुलिसलाई दबाबमा राख्यो। ६४औं मिनेटमा अनिता केसीले दिएको बलमा सरू लिम्बुले बक्सभित्रबाट दिएको सटिक पासमा सबिता राना मगरले गोल गरिन्। एपिएफले १-० को अग्रता बनायो।

पहिलो गोल खाएको पुलिस क्लब सम्हालिन नपाउँदै ६९ औं मिनेटमा एपीएफले अग्रता दोब्बर गर्यो। निशा थोकरको लामो पासमा रश्मीकुमारी घिसिङको हेडर पोलमा लागेर फर्कियो। रिबाउन्डमा सरुले गोल गरिन्। ८३ औं मिनेटमा प्रीती राईको पासमा सविताले अर्को गोल गरिन्। इन्ज्युरी समयमा अनु लामाले खाली पोष्टमा गोल गर्दै टिमलाई ४-० को जित दिलाइन्।

एपीएफले तेस्रो पटक पुलिसलाई हराएको हो। एपीएफ यो लिगमा एक खेलमा बराबरीमा रोकिएको थियो। बाँकी सबै खेल जित्न सफल टिम बन्यो। एपीएफलाई बराबरीमा रोक्ने टिम पुलिस नै हो। पहिलो चरणमा एपीएफलाई पुलिसले गोल रहित बराबरीमा रोकेको थियो।

अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफले पहिलो चरणको लिगमा ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम चरणमा स्थान बनाएको थियो।

अन्तिम चरण डबल राउन्ड रोबिन फरम्याटमा भयो। जहाँ एपिएले ८ मा ८ खेल नै जित्यो। शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरको हकदार एपीएफ बनेको थियो।

उपाधिसँगै एपीएफले १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

पहिलो चरणमा छनोट चरणका खेल सुर्खेतमा भएको थियो । दोस्रो चरणमा कुल १० टोलीको सहभागिता रहेको थियो। दोस्रो चरणबाट ५ टिम अन्तिम चरणमा पुगेका थिए। डबल राउन्ड रोबिन पछि प्ले अफ भएको थियो। कोशी प्रदेशले अन्तिम चरण नखेल्ने भनेपछि बागमतीले अन्तिम चरण खेलेको थियो।

Share Now