Prakash Adhikari January 29, 2025

 

प्रयाग (उत्तरप्रदेश, भारत), १६ माघ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलेको कुम्भमेलामा बुधवार बिहान सबेरै एउटा घाटमा घातक भागदौड हुँदा कम्तीमा ३० जना मारिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार ६० जना घाइते भएका छन्।

मृतकमध्ये २५ जनाको सनाखत भइसकेको अधिकारीहरूले जानकारी दिए।

भागदौडपछि हराइरहेका मानिसहरूको खोजी जारी रहेको उनीहरूका आफन्तले बताएका छन्।

कति मानिस हराइरहेका छन् भन्ने ‍औपचारिक विवरण हालसम्म सार्वजनिक भएको छैन।

प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने मानिसका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ।

भागदौड भएपछि विभिन्न अखडाहरूले औँसीका दिन आयोजना गर्न लागेको विशेष स्नानको कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए। तर अपराह्ण २ बजेसम्म गङ्गा र यमुना नदीका किनारमा झन्डै पाँच करोड मानिसले स्नान गरेको जानकारी अधिकारीहरूले दिएका थिए।

बीबीसी संवाददाता विकास पाण्डेका अनुसार घटना भएपछि मेला लागेको ठाउँमा सुरक्षाव्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीहरूले भक्तजनलाई सङ्गमतिर नभई नदीको किनारमै स्नान गर्न आग्रह गरेका छन्।

अधिकारीहरूका अनुसार ज्यानुअरी १३ मा कुम्भमेला सुरु भएदेखि अहिलेसम्म झन्डै २५ करोड मानिसले स्नान गरिसकेका छन्। कुम्भमेलालाई संसारकै सबैभन्दा ठूलो भेला मानिन्छ। त्यहाँ उर्लिएको जनसागर अन्तरिक्षबाट पनि देखिएको छ।

१२ घण्टासम्म राज्य मौन थियो

घटना भएको १२ घण्टा बितिसक्दासम्म राज्य वा केन्द्र सरकारले मृतकको सङ्ख्या र क्षतिबारे कुनै जानकारी दिएको थिएन।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा टिप्पणी गर्नुअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुम्भमेलामा भागदौड मच्चिएको र केही मानिस गम्भीर घाइते भएको बताएका थिए। तर उनी वा उनको सरकार तथा अन्य अधिकारीहरू कसैले पनि घटनामा मानिसहरूको मृत्यु भए नभएको विषयमा कुनै जानकारी दिएका थिएनन्।

केन्द्र र राज्य सरकारका विरोधाभासपूर्ण प्रतिक्रियाको धेरैले आलोचना गरेका थिए। सरकारमा पारदर्शिता नभएको मानिसहरूले औँल्याएका थिए।

केही व्यक्तिले बिहानको भागदौडपछि आफ्ना आफन्तहरू भुइँमा लडेको र त्यसपछि सम्पर्कविहीन भएको बीबीसीलाई बताएका छन्।

भारतमा कुम्भमेला भइरहेको स्थान

बिहान प्रयागराजका एक स्वास्थ्यकर्मीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बीबीसीलाई उक्त घटनामा कम्तीमा एक दर्जन मानिसको ज्यान गएको हुन सक्ने बताएका थिए। प्रत्यक्षदर्शीहरूले पनि बीबीसीलाई समान जानकारी दिएका थिए।

“प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ। यसमा आफ्ना प्रियजन गुमाउने श्रद्दालुहरूप्रति म गहिरो समवेदना व्यक्त गर्छु”, सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले लेख्नुभएको छ।

उहाँले आफू राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र बिहान भएको घटनाका विषयमा योगी आदित्यनाथसँग कुरा गरेको जानकारी दिनुभएको छ।

रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले पनि मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

आलोचना

विपक्षी दलका नेताहरूले अव्यवस्थाका कारण उक्त दुर्घटना भएको आरोप लगाउँदै सरकारको आलोचना गरेका छन्।

संसद्‌मा प्रमुख विपक्षी दल कङ्ग्रेसका नेता राहुल गान्धीले “अव्यवस्था र सर्वसाधारण भक्तजनलाई नभई भीआईपीलाई बढी ध्यान दिने प्रशासनको व्यवहारका कारण यो दुःखद घटना” भएको टिप्पणी सामाजिक सञ्जालमा गर्नुभएको छ।

उत्तर प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको सरकार छ।

अरू विपक्षी दलका नेताहरूले उक्त घटनाप्रति दुःख र शोक व्यक्त गरेका छन्।

“केही तीर्थयात्रीहरू गम्भीर घाइते भए, उनीहरूको अस्पतालमा उपचार हुँदै छ”,केही समयअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भन्नुभएको थियो। उहाँले परिस्थिति नियन्त्रणमा आइसकेको पनि दाबी गर्नुभयो।

तर मेला हुने स्थानमा अहिले पनि आठदेखि १० करोड श्रद्धालुहरू अझै रहेको भन्दै उहाँले मानिसहरूलाई सङ्गमतिर नजान बरु आफू भएको स्थाननजिकैखो नदीतटमा स्थान गर्न आग्रह गर्नुभयो।

“यो विशेष दिनमा गङ्गामा जहाँ स्नान गरे पनि उही फल पाइन्छ”, उहाँले भन्नुभयो।

बीबीसी संवाददाता विकास पाण्डेका अनुसार घाइतेहरूलाई लगिएको एउटा मुख्य अस्पतालमा सञ्चारकर्मीलाई प्रवेश दिइएको छैन।

त्यहाँ बिहानैदेखि एम्बुलेन्सको आउजआउ भएको देखिन्छ।

कुन बेला भयो घटना

बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा ुअमृतस्नानु हुन लागेका बेला उक्त घटना भएको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बार तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो।

योगी आदित्यनाथका अनुसार केही तीर्थयात्रीले प्रहरीद्वारा स्थापित छेकबार नाघेर सङ्गमतिर जान खोजेपछि बिहान १ देखि २ बजेका बीचमा उक्त घटना भएको जानकारी दिनुभएको छ।

प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारहरूसँग कुरा गर्दै केही ठाउँमा भिडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोधहरू तोडफोड भएको खबर आएको र त्यहाँ भागदौड निम्तिएको तर अवस्था गम्भीर नरहेको बताउनुभयो। घाइतेहरूको उपचार भइरहेको उहाँले बताउनुभयो।

भारतीय समाचारसंस्था पीटीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडिओ पोस्ट गरेको छ। त्यसमा घाइतेहरूलाई ‘सेक्टर२४’स्थित अराइल उपकेन्द्रीय अस्पतालमा लगिएको देखिन्छ।

घटनास्थलबाट बीबीसी संवाददाता समिरा हुसेनले दिएको जानकारीअनुसार नदीतटमा बिहानीपख पूरै अस्तव्यस्त र कोलाहलको स्थिति थियो भने भुइँमा लुगाफाटा, जुत्ता, कम्बल र झोलाहरू छरपस्ट थिए।

विशेष स्नान रद्द तर स्नान गर्न जाने मानिसको ठूलो घुइँचो

उक्त घटनापछि सबै अखाडाहरूले औँसीका दिन हुने विशेष स्नानको कार्यक्रम रद्द गरेको विवरण सार्वजनिक भयो। अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले बुधवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भागदौडका कारण कार्यक्रम रद्द गरिएको बताउनुभएको थियो।

मध्यरातपछि बिहानीपख भएको घटनालाई दृष्टिगत गरी कार्यक्रम नगर्ने निर्णय लिइएको जानकारी पुरीले दिनुभएको थियो। ूमौनी अमावस्यामा स्नान गर्न सबै साधुसन्तहरू तयार अवस्थामा थिए। तर उक्त घटनालाई ध्यानमा राख्दै जनहितका लागि स्नान नगर्ने निर्णय गरियो।ू

तर गङ्गा र यमुना नदीका किनारमा करोडौँ मानिसले स्नान गरेका छन्। त्यो क्रम दिनभरि जारी रहने देखिएको छ।

नागासाधुहरूले गर्ने शाहीस्नान भनिने विशेष स्नान केही ढिलो गरी सुरु भएको छ। शरीरभरि विभूति घसेका दिगम्बर नागासाधुहरूको समूह स्नान गर्न गएको हेर्न र उनीहरूबाट आशीर्वाद लिन मानिसहरूको भिड सडकछेउछाउ उभिएको देखिएको थियो।

प्रत्यक्षदर्शी के भन्छन् ?

समाचारसंस्था आईएएनसँगको कुराकानीमा उक्त भागदौडमा फसेकी एक महिलाले आफूले सुरक्षाकर्मीलाई उद्धार गर्न आउन आग्रह गरेको तर कसैले मद्दत नगरेको बताउनुभयो।

अर्की एक महिलाले पीटीआईलाई अचानक भागदौड हुँदा उहाँले कहाँ जाने भन्ने अत्तोपत्तो नपाएको बताउनुभयो।

आफूलाई त्यहाँबाट बाहिर निकालिदिन अधिकारीहरूसँग आग्रह गरेको तर त्यहाँका खटिएका व्यक्तिहरू हाँसेको उहाँको दाबी छ।

मध्यप्रदेशबाट आएका अर्का एक व्यक्तिले घटनास्थलमा प्रहरी पनि नभएको र कोही पनि मद्दतका लागि नआएको बताउनुभयो। उहाँका अनुसार त्यहाँ धेरै मानिसहरू घाइते भएका छन्।

उहाँले आफ्नी आमा पनि जीवित छन् कि छैनन् भन्ने आफैँलाई थाहा नभएको बताउनुभयो।

अर्का प्रत्यक्षदर्शी किशनले सङ्गममा स्नान गर्ने पालो कुर्दै गर्दा आफूहरूलाई कसैले धकेलेको महसुस भएको बताउनुभयो।

“हामीलाई हुत्त्याइदिन। केही महिलाहरू लडे। हामीले उनीहरूलाई छेक्यौँ। त्यति बेला जे पनि हुन सक्थ्यो। भिड अन्यत्र मोडियो, नत्र त्यहाँ निकै अप्रिय घटना हुन सक्थ्यो।”

कुम्भमेला के हो ?

कुम्भमेलाको आरम्भको कथा समुद्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ)का लागि देवता र दानवहरूबीच युद्ध भएको पौराणिक प्रसङ्गसँग जोडिएको देखिन्छ।

अमृत पिएर अमर हुन पाउने लोभमा देवासुर सङ्ग्राम हुँदा उक्त कुभ्मबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको किंवदन्ती छ।

उक्त युद्ध १२ देववर्षसम्म चलेको थियो र प्रत्येक देववर्षको अवधि पृथ्वीमा १२ वर्षसम्म हुने गर्छ। कुम्भमेला चार सहरहरूमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ। दुइटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ।

चारवटै सहरमा कुम्भमेलाको आयोजना गर्ने गरिएको भए पनि सबैभन्दा प्रयागराजमा आयोजित हुनेलाई महाकुम्भ मानिन्छ। त्यहाँ पुग्ने श्रद्धालु र पर्यटकहरूको सङ्ख्या प्रत्येक पटक बढ्दै गएको पाइन्छ।

अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले मेला सुरु हुनुअघि यसपालिको कुम्भ अझ विशेष हुने बताउनुभएको थियो।

“घडाबाट अमृत छचल्किएर पोखिँदाको समय जसरी नै अहिले ग्रह र नक्षत्रहरू मिलेर बसेका छन्”, उहाँले बीबीसीसँग भन्नुभएको थियाये, “यस्तो उत्तम अवस्था १२ वटा कुम्भ पर्वपछि अर्थात् १४४ वर्षपछि आएको छ।”

कुम्भमेलाको व्यवस्थापन गर्ने अधिकारीहरूले अमावस्याका दिन हुने अमृतस्नानका लागि आठदेखि १० करोड श्रद्धालु प्रयागराज पुग्ने ठानेका थिए।

मेलामा खटिएको प्रहरीले मङ्गलवार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै अमावस्याका अवसरमा आउने श्रद्धालुलाई स्वागत गरेको थियो।

उसले कुम्भमेलामा आउने सबैको सुरक्षाका लागि प्रहरी एकाइहरू खटिएको जनाएको थियो।

अब यी दिनहरूमा विशेष स्नान हुने छ :

३ फेब्रुअरी : वसन्तपञ्चमी (श्रीपञ्चमी)
१२ फेब्रुअरी : माघ शुक्ल पूर्णिमा (माघस्नान समाप्त हुने दिन)
२६ फेब्रुअरी : महाशिवरात्रि

प्रयागराजमा बिहान देखिएका केही दृश्य

भारतमा बारम्बार घातक भागदौडका घटनाहरू हुने गरेका छन्।

यही महिना आन्ध्र प्रदेश राज्यस्थित तिरुपति मन्दिरमा भिडले कुल्चिँदा छ जनाको मृत्यु भएको थियो। गत वर्ष उत्तर प्रदेशको हाथरसमा आयोजित एउटा धार्मिक प्रवचनस्थलमा भागदौड मच्चिँदा कम्तीमा १ सय २० जनाको ज्यान गएको थियो।

सरकारी तथ्याङ्कका अनुसार भारतमा सन् २०२१ र २०२२ मा ४७ वटा भागदौडका घटना भए। तर मृतकको कुल सङ्ख्या भने स्पष्ट छैन।

सन् २०१३ मा प्रयागराजमै भएको कुम्भमेलामा भागदौड हुँदा कम्तीमा ३० तीर्थयात्रीको मृत्यु भएको थियो।

धार्मिक कार्यक्रम, मेला र सार्वजनिक स्थानमा ठूलो भिड लाग्ने भएकाले मानिसहरूको ज्यान जानेको गरेको देखिन्छ।

सरकारी निकायहरू ठूला भेलाको व्यवस्थापन गर्न प्रायः सक्षम भए पनि फितलो योजना, भिड नियन्त्रण गर्ने अपर्याप्त उपाय र उत्तरदायित्व वहन नगर्ने प्रवृत्तिका कारण भागदौड हुँदा मानिसहरू हताहत हुने गरेको पाइन्छ।

साँघुरो स्थान, अकस्मात् बढ्ने मानिसहरूको घुइँचो र आपत्कालीन निकासको अभावजस्ता कुराले जोखिम अझै बढाइदिन्छन्।

Share Now