पोखरा(कास्की), १६ माघ । पोखरामा जारी एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको खेलमा अपराजित रहँदै एपीएफ टिम पहिलो क्वालिफायरमा पुगेको छ ।
लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३(० को सोझो सेटमा पराजित गर्दै एपीएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो
।
एपीएफसँग पराजित भएको टाइगर ग्रुप समूह उपविजेताको रुपमा पहिलो क्वालिफायर खेल्ने छ ।
आजको खेलमा एपीएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा ११–१६ को पछि परेको स्थितिलाई उल्टाउँदै टाइगर ग्रुपले १८–१७ को स्थितिमा पुर्याएको थियो ।
तर, त्यसपछि भने एपीएफले पुनरागमन गर्दै खेल २५–२० ले आफ्नो पक्षमा पार्यो । पहिलो क्वालिफायरमा पुनः एपीएफ र टाइगर ग्रुपबिच बिहीवार भिडन्त हुने छ ।
यसअघि आजै भएको खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेर सान्त्वना जित निकालेको थियो ।
पुरुषतर्फ हेल्प नेपाल विजयी, एपीएफ बाहिरियो

आजै सम्पन्न पुरुष टिम तर्फको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र एपीएफ क्लबबीचको खेलमा हेल्प नेपाल विजयी बन्यो । पराजित भएको एपीएफ क्लब एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखरा रंगशालामा बुधवार भएको खेलमा हेल्प नेपालसँग ३(२ को सेटले पराजित भएपछि एपीएफ प्रतियोगितबाट बाहिरिएको हो ।
तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपीएफले पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगितबाट बाहिरिएको हो । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो ।
हेल्प नेपालले तेस्रो सेट १३–२५ र चौथो सेट २३–२५ ले गुमाएको थियो । पहिलो र दोस्रो सेट गुमाएको एपीएफले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।
पाँचौं सेटमा सुरुवातबाटै अग्रता लिँदै हेल्प नेपालले १५–१२ ले जित निकाल्यो ।
हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल गण्डकी प्रदेशसँग खेल्नेछ । उक्त खेलमा जित निकाल्ने टोलीले एलिमिनेटर खेल्नेछ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
आर्मी र भारतको सुनिल क्लबको खेल स्थगित

प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल स्थगित भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेल खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो । पहिलो सेट पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको भारतीय क्लबले तेस्रो सेट १८–२५ ले गुमाएको थियो ।
त्यसपछि खराब प्रकाशका कारण खेल स्थगित भएको थियो । अब आर्मी र सुनिल भलिबल क्लबबिचको खेल बिहीबार हुनेछ । यसअघि स्थगित भएको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबिचको खेल पनि बिहीवार नै हुने तालिका छ । दुवै खेल पहिलो सेटबाट नै सुरु हुने बताइएको छ ।


















