काठमाडौं, २० माघ । महिला त्रिकोणात्मक टी २० अन्तराष्ट्रिय श्रृखला अन्तरगतको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुदैछन् ।
पहिलो खेलमा नेपाललाई नेदरल्याण्ड्सले पराजित गरेको थियो ।
श्रृखलामा भने दुवै टोलीको यो तेस्रो खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ ।
नेपाल पहिलो खेलमा नेदरल्याण्ड्स र दोस्रो खेलमा शनिवार थाइल्याण्डसँग पराजित भएको थियो ।
पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
कप्तान इन्दु बर्माको नेतृत्वमा रहेको नेपाली महिला टोलीमा बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सीता राना मगर रहेका छन् ।
नेपाली टोलीको बाँकी खेलतालिका
२ फेब्रुअरी (माघ २० गते) – नेदरल्याण्ड्ससँग
४ फेब्रुअरी (माघ २२ गते ) – थाइल्याण्डसँग
५ फेब्रुअरी (माघ २३ गते) – नेदरल्याण्ड्ससँग
७ फेब्रुअरी (माघ २५ गते)– थाइल्याण्डसँग


















