Prakash Adhikari February 3, 2025
काठमाडौँ, २१ माघ : चालु आर्थिक वर्षको छ महिनामा रु सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव एक प्रतितशले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक दशमलव एक प्रतिशतले वृद्धि भइ रु पाँच अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु सात खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार, सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार चार सय ३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार  छ सय २८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या क्रमशः दुई लाख  हजार तीन सय ९० र एक लाख ३३ हजार नौ सय ४० रहेको थियो ।

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ ।

अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि रु ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ । गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय रु ९२ अर्ब ८७ करोड बराबर थियो ।

समीक्षा अवधिमा खुद सेवा आय रु ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले वृद्धि भई रु ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ३९ अर्ब ८२ करोड रहेको थियो ।

Share Now