
राफी बर्ग र रुथ कमरफोर्ड
बीबीसी न्यूज
हमासको लडाकु दस्ताका एक जना प्रवक्ताले इजरायली बन्धकहरूको आगामी निर्धारित रिहाइलाई स्थगित गरेको जनाउनुभएको छ। ‘इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन’ गरेका कारण त्यसो गरिएको आरोप उहाँले लगाउनुभएको छ।
इजरायलमा थुनामा रहेका थप प्यालेस्टिनी बन्दीहरू रिहा हुने गरी शनिवार गाजामा बन्धक बनाइएका तीन जना इजरायली मुक्त गर्ने योजना थियो।
इजरायलका रक्षामन्त्री इजरेल कात्सले हमासको उक्त घोषणालाई युद्धविराम सम्झौताको ुपूर्ण उल्लङ्घनु बताउनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार सम्ममा यदि सबै बन्धकहरू मुक्त नगरिएमा युद्धविराम खारेज गरिनु पर्ने सुझाउनुभएको थियो।
“मेरो विचारमा शनिवार १२ बजेसम्म उनीहरू फर्कनु पर्छ…सबैजना, किस्ता किस्तामा गरेर होइन, दुई र एक र तीन र चार र दुईजना गरेर होइन”, उहाँले भन्नुभयो,”म मेरो विचार बोल्दैछु ।”
उहाँको भनाइ थियो, “इजरायलले यसलाई सच्याउन सक्छ।”
इजरायल र अमेरिका के भन्छन्?
सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलाका क्रममा बन्धक बनाइएका ७३ जना र एक दशकअघि लगिएका अन्य तीनजना अझै पनि गाजामा बन्धकका रूपमा छन्।
यदि बन्धकहरू रिहा नभए नसोचिएको अवस्था देखा पर्ने ट्रम्पको चेतावनी थियो।
ट्रम्पलाई के त्यसको अर्थ इजरायलले बदला लिनु पर्छ भन्न खोजिएको हो? भनेर सोधिएको थियो। जसमा उहाँको जबाफ थियो?
“तपाईँले पत्ता लगाउनु हुनेछ र उनीहरूले पनि पत्ता लगाउनेछन्। मेरो भनाइको मतलब के हो भनेर हमासले पत्ता लगाउने छ।”
रक्षामन्त्री कात्सले आफूले इजरायली सेनालाई ‘गाजामा सम्भावित जुनसुकै अवस्था र समुदायहरूको सुरक्षाको लागि सतर्कताको उच्च स्तरमा तयार रहन’ आदेश दिएको बताउनुभएको छ।
“हामी अक्टोबर ७ को वास्तविकता फर्कन दिने छैनौँ”, उहाँले थप्नुभयो।
इजरायली बन्धक अलोन ओहेलको २४औँ जन्मदिन मनाउन तेल अभिभमा मानिसहरू भेला हुनुभन्दा केहीअघि हमासको त्यस्तो घोषणा आएको हो।
उहाँलाई सन् २०२३ को अक्टोबर ७ मा नोभा फेस्टिभलबाट बन्धक बनाएर लगिएको थियो ।
चिन्ता
संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ता फरहान हकले कमजोर युद्धविराम सम्झौतामा कुनै पनि ढिलाइ समस्या बन्न सक्ने भन्दै यसमा संलग्न सबै पक्षहरू तय गरिएका सम्झौता र समयसीमा पालना गर्नु पर्नेमा जोड दिनुभएको छ।
इजरायलले आफ्नो दायित्व पालना गरेमा हमासले शनिवार हुने आदानप्रदानको ‘ढोका खुला रहने’ बताएको समाचार संस्था एएफपीले जनाएको छ ।
हमास प्रवक्ता अबु ओबेदाले इजरायलले विस्थापित प्यालेस्टिनीहरूलाई उत्तरी गाजामा फिर्ता गर्न ढिलाइ गरेको, मानिसहरूमाथि गोली चलाएको र सहमति अनुसार मानवीय सहायतालाई अनुमति दिन असफल भएको आरोप लगाउनुभएको छ।
१९ ज्यानुअरीमा युद्धविराम सुरु भएयता १६ इजरायली र पाँचजना थाई बन्धकहरू मुक्त गरिएका छन्। त्यसको बदलामा ५ सय ६६ जना प्यालेस्टिनी बन्दीहरू रिहा गरिएका छन्।
अबको तीन सातामा सकिने युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा झण्डै ३३ जना बन्धक र १ हजार ९ सय प्यालेस्टिनीहरू छाडिनेछन्। इजरायलले ३३ मध्ये आठजनाको मृत्यु भएको जनाएको छ।
हमासले झन्डै १२ सय जनाको ज्यान लिने र २ सय ५१ जनालाई बन्धक बनाउने गरी इजरायलभित्र प्रवेश गरेर अक्टोबर ७ मा हमला गरेपछि इजरायलले उनीहरूलाई नष्ट पार्ने भन्दै गाजामा सैन्य कारबाही थालेको थियो।
हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ४७ हजार ५ सय जनाको ज्यान गइसकेको छ।
त्यहाँको २३ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् भने उक्त क्षेत्रमा युद्धका बेला दुई तिहाइभन्दा धेरै घर तथा भवनहरू ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घको विवरण छन्।