Prakash Adhikari July 9, 2018

ललितपुर, २५ असार । नेपालको धितोपत्र बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्डले आगामी बर्षमा धितोपत्र तथा वस्तु विनिमयका क्षेत्रमा लिइने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

धितोपत्र तथा वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै स्वस्थ,पारदर्शी,प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधरणको पहुँच बढाउने उद्देश्य लिएको बोर्डले बजारको नियमनलाई कडाई गर्दे बजारको विकास र विस्तारका लागि एक नेपाली एक डिम्याट खाता अभियान सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको हो ।

आगामी आर्थिक बर्षका लागि बोर्डले सार्वजनिक गरेको धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रममा धितोपत्र तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानूनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने घोषणा गरेको छ ।

बोर्डले बजार पूर्वाधार, लगानी उपकरण आदीमा सुधार तथा विकास गर्ने र एक नेपाली एक डिम्याट खातालाई अभियानको रुपमा संचालन गर्ने भएको छ ।

बोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्न , सुपरिवेक्षण व्यवस्थामा सुधार, बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिवृद्धि गर्ने उल्लेख गरेको छ ।

बोर्डले बजार विकास तथा विस्तारको लागि आवश्यक अध्ययन अनुसन्धान गर्ने कार्यक्रम पनि तय गरेको छ ।

बजार विस्तारका लागि बोर्डले प्रदेश स्तरमा बजार सम्बन्धी जनचेतना समेत अभिबृद्धि गर्ने कार्यक्रम बनाएको छ ।

धितोपत्र बजारको नियमन व्यवस्थालाई थप प्रभावकारी बनाउन कानूनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने नीति बोर्डले लिएको छ । यस अन्तरगत धितोपत्र सम्बन्धी नयाँ ऐन तथा टष्ट ऐन बनाउने, भित्री कारोबार बन्देज नियमावली र गाभ्ने तथा गाभिने नियमावली तर्जुमा गरिनेछ । त्यस्तै प्राइभेट इक्विटी भेञ्चर क्यापिटल र हेज फण्ड लगायतका संस्थाहरुलाई पूँजी बजारमा प्रवेश गराइनेछ ।

त्यस्तै बजार पूर्वाधार तर्फ आगामी आर्थिक बर्षमा वास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा प्रवेश गराउन विशेष बर्षको रुपमा मनाउने,खुलामुखी सामूहिक लगानी योजना प्रवेश गराउने, भुक्तानी सुनिश्चित कोषको स्थापना र सञ्चालन, इक्विटी डेरिभेटिभ मार्केटको सुरुआत वस्तुविनिमय बजारको प्रतिस्पर्धात्मक सञ्चालन जस्ता कार्यक्रम रहेका छन् ।

बोर्डले आगामी आर्थिक बर्षमा बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिबृद्धि गर्ने प्रणाली सम्परीक्षण गर्ने, धितोपत्र बजारका सम्बन्धमा सार्वजनिक सुनुवाई गर्ने र व्यवसायीहरुको वर्गीकरण गर्ने कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।

बोर्डले संस्थागत लगानीकर्ताको पूँजी बजार प्रवेश, नगरपालिका ऋणपत्र निष्काशन,स्वचालित बजार सुपरीवेक्षण प्रणाली, स्वतन्त्र मूल्य निर्धारण ब्यवस्था विवाद समाधानको ट््िरब्यूनल आदिका बारेमा अध्ययन गर्ने भएको छ ।

धितोपत्र बजारमा व्यापक थजनसहभागिता बढाउन र दोस्रो बजारको कारोबार देशभर पुर्याउन अन्तराष्ट्रियस्तरको अनलाइनरह कारोबार प्रणाली सञ्चालनमा ल्याउने, नयाँ स्टक एक्सचेञ्चलाई अनुमति दिने, वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा प्रवेश गराउने, नेप्से तथा सिसडएसीको पुनसंरचना, दलाल व्यवसायीको सेवा विस्तार गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

त्यस्तै लिलामी बजारलाई व्यवस्थीत गरिने, बस्तु विनिमय बजार तथा वस्तु कारोबार व्यवसायी सेवा संचालन अनुमति दिने र ओटिसी कारोबारलाई प्रतिस्पर्धी एंव विश्वसनीय बनाउन स्वचालित कारोबार प्रणालीको व्यवस्था गर्ने जस्ता कार्यहरु गरी बजार पूर्वाधारहरुको सुधार तथा विकास गर्ने नीति बोर्डको छ ।

Share Now

Leave a comment.