Prakash Adhikari March 13, 2025

कम्पाला(युगाण्डा), २९ फागुन । वुमेन्स कप टी २० आई सिरिज अन्तरगत आज भएको खेलमा नेपाल आयोजक राष्ट्र युगाण्डासंग पराजित भएको छ ।

पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो ।

नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा बाहेकका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कविता २७ बलमा १२ तथा कप्तान इन्दु १२ बलमा ११ रन जोड्दै आउट भइन् । नेपालका ५ खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो ।

युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका लागि रिया शर्माले २ तथा रुविना क्षेत्री, पूजा महतो र इश्वरी बिष्टले समान १ । १ विकेट लिएका थिए ।

यसै सिरिजको पहिलो भेटमा भने नेपालले युगाण्डालाई १ विकेटले पराजित गरेको थियो । सिरिजको अन्तिम लिग खेल नेपालले शुक्रवार हङकङसंग खेल्दै छ ।

आजको खेलमा नेपालले जित्ने आशा थियो । आज जितेको भए भोलि हंगकंगलाई पराजित गरेको भए नेपाल तीन खेल जितेर फाइनलमा पुग्छ भन्ने धुकधुकी रहन्थ्यो । तर आजको खेलमा पराजित भएपछि नेपालको फाइनलको संभावना सकिएको छ ।

Share Now