Prakash Adhikari April 4, 2025

काठमाडौँ, २२ चैतः सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज उज्वेकिस्तान प्रस्थान गर्नुभएको छ ।

प्रतिनिधिमण्डलमा सांसद श्यामकुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोविता गौतम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्कराज राईलगायत सहभागी हुनुहुन्छ ।

अन्तरव्यवस्थापिका सङ्घको वार्षिकसभा र असंलग्न सञ्जालको चौथो शिखर सम्मेलन यही चैत २३ देखि २७ गतेसम्म उज्वेकिस्तानको राजधानी ताश्केन्टमा हुँदैछ । सङ्घको सभामा सभामुख घिमिरेले ‘सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू’ विषयमा सम्बोधन गर्ने तथा सांसद घिमिरे र तामाङ सङ्घका स्थायी समितिको बैठकमा सहभागी हुनुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सांसद शाक्यले महिला सांसदको मञ्च र सांसद गौतमले युवा सांसदको मञ्चमा सहभागिता जनाउने तथा सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रका तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

सभामुख घिमिरेले चैत २४ गते हुने संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा ‘बन्दुङ आत्माको ७० वर्षको सम्झनाः बन्दुङ सिद्धान्तको पालना गर्न संसद्को भूमिका’ विषयमा मन्तव्य दिने कार्यक्रम छ । त्यस क्रममा विभिन्न मुलुकका सभामुखहरूसँग ‘साइडलाइन’ भेटवार्ता पनि हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

शाक्यलाई जिताउन सभामुख  घिमिरेको पहल

सभामुख देवराज घिमिरेले राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यलाई अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु) को दिगो विकास स्थायी समितिको सदस्य पदमा जिताउन पहल गर्नुभएको छ । घिमिरेले समितिमा रहेका ३५ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे र सांसद डा शाक्यसहितको प्रतिनिधिमण्डल अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन आजै उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेको छ ।

अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा र असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलन चैत २३ देखि २७ गतेसम्म ताश्केन्टमा हुँदैछ । सांसद शाक्यले त्यहाँ महिला सांसदहरूको मञ्चमा सहभागिता जनाउने कार्यक्रम छ । शाक्यले त्यहाँ दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रका तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम छ ।

उहाँ राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजकसमेत हुनुहुन्छ । शाक्यकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ । उहाँ संयोजक रहेको उपसमितिले पटक–पटक विभिन्न मन्त्रालय, सरोकार भएका निकाय र निजी क्षेत्रसँग छलफल गरी उक्त प्रतिवेदन तयार गरेको थियो ।

दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गर्नुभएकी शाक्यले अन्तरराष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा सभामुखले पनि लिएको उहाँको सचिवालयले जनाएको छ ।

Share Now