
लखनउ(उत्तर प्रदेश, भारत), २३ चैत्र (एजेन्सी) इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत शुक्रवार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलेमुम्बई इण्डियन्सलाई १२ रनले हराएको छ।
२ सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो ।
मुम्बईका सूर्यकुमार यादवले ४३ बलमा ९ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६७ रन जोडे । मुम्बई १७ रनमै २ विकेट गुमाएर समस्यामा परेको थियो । तर, तेस्रो विकेटको लागि सूर्य र नमन धिरसँग ६९ रनको महत्वपूर्ण साझेदारी गरे । धिरले २४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए ।
चौथो विकेटका लागि सूर्य र तिलक बर्माले ६६ रनको साझेदारी गरे । तिलक २३ बलमा २ चौकाको सहयोगमा २५ रनमा १९औं ओभरको पाँचौं बलमा रिटायर आउट भए । पाँचौ विकेटका लागि तिलक र कप्तान हार्दिक पाण्ड्याले ३२ रनको साझेदारी गरे ।
कप्तान पाण्ड्या १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रनमा नट आउट रहे । ओपनर रायन रिकल्टन १० तथा विल ज्याक्स ५ रनमा आउट भए ।
मुम्बईलाई जितका लागि अन्तिम ओभरमा २२ रनको आवश्यकता थियो । पहिलो बलमा छक्का प्रहार गर्दै मुम्बईका पाण्ड्याले जितको आशा देखाए पनि आवेसले त्यसलाई पूरा हुन दिएनन् ।
मुम्बईलाई रोक्ने क्रममा लखनउका लागि शार्दुल ठाकुर, आवेस खान, आकाश दिप र दिग्वेश राठीले समान १ । १ विकेट लिए ।
त्यसअघि अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा घरेलु टोली लखनउले टस हारेर ब्याटिङको निम्तो पाएकोमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।
लखनउका मिचेल मार्श र एडेन मारक्रमले अर्धशतक पूरा गरे । मार्शले ३१ बलमा ९ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६० रन जोडे ।
पहिलो विकेटका लागि मारक्रम र मार्शले ४२ बलमा ७६ रनको साझेदारी गरे । मारक्रम ३८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५३ रनमा बनाए ।
चौथो विकेटका लागि आयुष बदोनीसँग मिलेर मारक्रमले ५१ रनको साझेदारी गरे । बदोनी १९ बलमा ४ चौकाको सहयोगमा ३० रनमा आउट भए । अब्दुल समाद २ बलमा ४ तथा निकोलस पुरन ६ बलमा १२ जोड्दै आउट भए ।
डेविड मिलरले १४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ जोडे । खराब लयमा रहेका कप्तान ऋषभ पन्त आज पनि चल्न सकेनन् र ६ बलमा २ रन जोड्दै आउट भए ।
दिल्लीविरुद्धको पहिलो खेलमा रनको खाता खोल्न नसकेका ऋषभले हैदराबादसँगको दोस्रो खेलमा १५ रन जोडेका थिए ।
ऋषभले पञ्जाबसँगको अघिल्लो खेलमा २ रन मात्र जोडेका थिए । २७ करोडमा लखनउमा आबद्ध भएका ऋषभले ४ खेलमा १९ रन जोडेका छन् ।
लखनउलाई रोक्ने क्रममा मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले ४ ओभरमा ३६ रन खर्चिएर ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्विनी कुमार र विग्नेश पुथुरले समान १ । १ विकेट लिए ।
जितसँगै लखनउले ४ खेलमा ४ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । लखनउ पछिल्लो खेलमा घरमै पञ्जाब किंग्ससँग पराजित भएको थियो । पराजित मुम्बई ४ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । मुम्बईले पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको थियो ।
आज के होला ?
इण्डियन प्रिमियर लिग अन्तरगत आज दुई खेल हुँदै छन् ।
पहिलो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । चेन्नईको घरेलु मैदान एमए चिदम्बरममा दुई टोलीबीचको खेल नेपाली समय अनुसार शनिवार दिउँसो ३ः४५ बजे सुरु भैसकेको छ ।
दिल्ली लगातार तेस्रो जितको लक्ष्यमा रहेको छ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको दिल्लीले दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराएको थियो ।
दिल्लीले २ खेलमा ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । उता, चौथो खेल खेल्दै गरेको ५ पटकको च्याम्पियन चेन्नई भने दोस्रो जितको खोजीमा रहेको छ । चेन्नईले सिजनको पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।
त्यसपछिका दुई खेलमा भने चेन्नई पराजित भएको थियो । दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग र तेस्रो खेलमा राजस्थान रोयल्ससँग चेन्नई पराजित भएको थियो । ३ खेलमा २ अंकका साथ चेन्नई तालिकाको आठौं स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा राजस्थान रोयल्स र पञ्जाब किंग्स आमनेसामने हुदै छन् ।
दुईबीचको खेल पञ्जाबको घरेलु मैदान महाराजा युद्धवीर सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम मुल्नपुर पञ्जाबमा नेपाली समय अनुसार शनिवार बेलुका ७ः४५ बजे सुरु हुनेछ । तेस्रो खेल खेल्दै गरेको घरेलु टोली पञ्जाब आफ्नो अपराजित यात्रा यथावत राख्ने लक्ष्यमा छ ।
पञ्जाबले यसअघि गुजरात टाइटन्स तथा लखनउ सुपर जायन्ट्सलाई उनीहरुकै घरमा पराजित गरेको थियो । पञ्जाब २ खेलमा ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।
राजस्थान भने सुरुवाती दुई खेलमा पराजित भएको थियो । भने, पछिल्लो खेलमा चेन्नईलाई पराजित गरेको थियो । राजस्थान पहिलो खेलमा सनराइजर्स हैदराबाद र दोस्रो खेलमा कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।
राजस्थान ३ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।
आइपिएलमा दुवै टोली हालसम्म २८ पटक आमने सामने भएका छन् । जसमा पञ्जाब ११ तथा राजस्थान १६ खेलमा विजयी भएकोमा १ खेल भने बराबरीमा सकिएको थियो ।