Prakash Adhikari April 8, 2025

 

-सिमोन ज्याक । व्यापार सम्पादक, बीबीसी न्यूज

लण्डन(संयुक्त अधिराज्य), २६ चैत्र । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका करका कारण विश्वभरि शेयर बजार धराशायी भएको छ। के त्यसको अर्थ विश्व आर्थिक मन्दीतर्फ उन्मुख हुँदै छ भन्ने हो त ?

हामीले बुझ्नुपर्ने पहिलो कुरा के हो भने शेयर बजारमा भइरहेको कुरा अर्थतन्त्रका हकमा लागु नहुन सक्छ। घट्दो शेयरको मूल्यले आर्थिक सङ्कट निम्त्याउँछ नै भन्ने हुँदैन। तर कहिलेकाहीँ त्यस्तो हुन पनि सक्छ।

अहिले विश्वका धेरै बजारमा जसरी शेयरको मूल्य घटिरहेको छ त्यसले विश्वभरि शेयर बजारमा सूचीकृत कम्पनीहरूले भविष्यमा कमाउने नाफामा ठूलो परिवर्तन हुने सङ्केत गर्छ।

करका कारण लागत मूल्य बढ्छ र नाफा घट्छ भन्ने बजारले बुझेको हुन्छ।

अहिलेको यसको अर्थ आर्थिक मन्दी अवश्यम्भावी हो भन्ने चाहिँ होइन। यद्यपि ट्रम्पले घोषणा गरेको एक शताब्दीयताकै सबैभन्दा व्यापक र कठोर करका कारण त्यस्तो सम्भावना उच्च छ।

चीनले ट्रम्पले लगाएका आयात शुल्कको प्रतिकार गर्ने उद्घोष गरेपछि एशियाका केही शेयर बजारको स्थिति सुधारोन्मुख देखिएको छ। विश्वकै ठूला अर्थतन्त्र भएका यी दुई देशबीच ुव्यापार युद्धु अझ चर्किने सम्भावना भएको विश्लेषकहरू बताउँछन्।

आर्थिक मन्दी के हो?

हाम्रो र सरकारको खर्च घटेको वा निर्यात लगातार दुई त्रैमासिक अवधिसम्म खुम्चिएको अवस्थालाई आर्थिक मन्दी भनिन्छ।

गएको अक्टोबर महिनादेखि डिसेम्बरसम्मको तीन महिनामा यूकेको अर्थतन्त्र ०.१ प्रतिशतको झिनो अङ्कले वृद्धि भएको थियो। ज्यानुअरीको पछिल्लो मासिक तथ्याङ्कले त्यति नै मात्रामा अर्थतन्त्र खस्किएको देखाएको छ।

आगामी शुक्रवार प्रकाशित हुने फेब्रुअरीको तथ्याङ्कले अर्को तीन महिनाको सङ्केत दिन्छ। त्यस कारण यूके तत्काल आर्थिक मन्दीको परिभाषाभित्र पर्ने सम्भावना देखिँदैन।

यद्यपि शेयर बजार घटेर राताम्य बन्दा यसबाट हुन सक्ने क्षतिबारे चिन्ता देखिएको छ।

ब्याङ्कहरूलाई अर्थतन्त्रका मानकको रूपमा लिइन्छ। ूब्याङ्कहरूको मूल्य घटेको कुराले म आत्तिएको छु,ू शेयर बजारका एक पर्यवेक्षकले भनेका छन्।

पूर्वी र पश्चिम युरोपबीच हुने अन्तर्राष्ट्रिय व्यापारमा कारोबार गर्ने एचएसबीसी र स्ट्यान्डर्ड चार्टर्ड दुइटै ब्याङ्कको शेअर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको छ।

डर मान्नुपर्ने अरू सङ्केतहरू शेअर बजारमा भन्दा पनि कच्चा पदार्थ तथा कृषिउपजको व्यापार हुने बजार (कमोडिटी एक्सचेन्ज) मा देखा परेका छन्। तामा र तेलको मूल्यलाई वैश्विक अर्थतन्त्रको स्वास्थ्यको मापकका रूपमा लिइन्छ।

ट्रम्पले करको ुबमबारीु गरेयता तामा र तेल दुवैको मूल्य १५ प्रतिशतले घटेको छ। यस्तो किसिमको मन्दी यसअघि त्यति धेरै भएको थिएन।

पूरा विश्व प्रभावित हुने गरी भएका तीन दुर्लभ घटना

सन् १९३० को दशक, ग्रेट फाइनान्शल क्राइसिसपछिको अवस्था र कोभिड महामारीले विश्वभरि सिर्जना गरेको परिस्थितिमा अर्थतन्त्रका मूख्य सूचकहरू एकसाथ ओरालो लागेका थिए। यी तीन घटनालाई वैश्विक आर्थिक मन्दीका दुर्लभ उदाहरण मानिन्छ।

यद्यपि त्यो हदको मन्दी हुन सक्ने अवस्था अहिले देखिएको छैन। अधिकांश आर्थिक विश्लेषकहरूले अमेरिका, यूके र ईयूअन्तर्गत रहेका देशहरूमा आर्थिक मन्दी हुने सक्ने सम्भावना औँल्याएका छन्।

ब्रिटिश अर्थमन्त्री रेचल रिभ्सका अनुसार मानिसहरू तुलनात्मक रूपमा सुरक्षित मानिने सरकारी ुबन्डुमा लगानीका लागि ओइरिएका कारण सरकारले सापटीमा लिने रकम वर्षमै ५ अर्बदेखि ६ अर्ब पाउन्डसम्म कम गर्न सक्ने देखिन्छ।

तर अर्थतन्त्र उल्टो बाटो फर्कँदा सरकारले उठाउने कर घट्ने जोखिम पनि उत्तिकै छ।

Share Now