Prakash Adhikari April 10, 2025

काठमाडौँ, २८ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सिन्धुलीगढीमा भएको युद्धमा अंग्रेज फौजलाई पराजित गर्न सिकारी सरदार वंशु (वंश) गुरुङको नेपालको इतिहासमा उल्लेखनीय योगदान रहेको बताउनुभएको छ ।

हुुलाक सेवा विभागले फिलाटेलिक कार्यक्रम २०२४÷२५ अन्तर्गत प्रकाशित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्ने कार्यक्रममा आज मन्त्री गुरुङले सिकारी सरदार वंशु (वंश) गुरुङको नेपालको सार्वभौमसत्ताको संरक्षणमा महत्वपूर्ण योगदान रहेको बताउनुभएको हो । नेपालको इतिहासमा सिकारी सरदारको योगदानका कारण आज नेपाललाई स्वतन्त्र भएर रहन पाएको र उहाँको हुलाका टिकटमा टाँचा लगाउन पाउँदा खुसी लागको मन्त्री गुरुङले बताउनुभयो ।

इतिहासमा सिकारी सरदारको योगदान सदा हुलाक टिकटमा रहने उहाँले बताउनुभयो । सिकारी सरदार वंशु (वंश) गुरुङको रु १० को हुलाक टिकट प्रकाशन गरिएको छ । मन्त्री गुरुङले नेपालका ‘इन्डेमिक’ बनस्पतीहरुमा पनि टाँचा लगाउनुभयो । ती सबै रु १० का हुलाक टिकट रहेका छन् ।

सिकारी सरदार वंशु (वंश) गुरुङ सिन्धुलीगढीमा भएको युद्धमा अंग्रेज फौजलाई पराजित गर्नेमध्येका नाइके हुनुहुन्थ्यो । उहाँको जन्म लमजुङको कोने नासा गाउँमा भएको हो । पछि उहाँ बसाइँ सरेर तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ढोर जस्पुर पुग्नुभएको थियो । उहाँ धनुषवाण खेलाउन निपुण हुनुहुन्थ्यो । त्यसैले पनि उहाँलाई तत्कालीन राजा पृथ्वी नारायण शाहले आफ्नो टोलीमा समावेश गर्दै अंग्रेज फौजसित लड्न सिन्धुलीगढी खटाउनुभएको इतिहासमा उल्लेख छ ।

Share Now