Prakash Adhikari April 10, 2025

टक्सार (भोजपुर), २८ चैत : भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा सञ्चालन भएको मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । आज भएको फाइनल खेलमा कोशी प्रदेशलाई ३–० सेटमा पराजित गरी गण्डकीले उपाधि जितेको हो ।

गण्डकी प्रदेशले कोशीलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–२२ तथा तेस्रोे सेट २५–१५ अङ्कले पराजित गरेको हो । यस्तै सुदूरपश्चिम प्रदेश बागमति प्रदेशलाई ३–० सेटले हराउँदै तेस्रो बन्यो । प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः रु तीन लाख तथा रु एक लाख ७५ हजार पायो । यस्तै तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर््यो ।

यही चैत २४ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा मधेस र कर्णाली बाहेक अन्य प्रदेशको सहभागिता रहेको थियो । विजेतालाई पूर्वमन्त्री तथा सांसद सुदन किराती, कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राई, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आले, रामप्रसाद गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पा, जिल्ला भलिवल सङ्घका अध्यक्ष वीन्द्रकुमार तामाङ लगायतले पुरस्कार वितरण गर्नुभयो । सोही अवसरमा राससका जिल्ला संवाददाता निरोज कोइरालालाई समेत सम्मान गरिएको थियो ।

Share Now