Prakash Adhikari July 21, 2018

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसले आफ्नो भातृ संगठन नेपाल तरुणदलले आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको कडा भत्सर्ना गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै अधिनायकवाद उन्मुख सरकारद्वारा शान्तिपूर्ण जुलुसमाथि वानेश्वरमा भएको अन्धाधुन्द आक्रमणलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको बताउनुभएको छ ।

उहाँले नेपाल तरुण दलको नेतृत्वमा माइतीघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक भएको आक्रमणबाट ने पाली कांग्रेसका केन्द्रीय सदस्य बीरबहादुर बलायर,नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष पुष्प कुमार शाही ,क्षितीज भण्डारी लगायत लगायत ४ दर्जनभन्दा बढी घाइते भएको उल्लेख गर्नुभएको छ ।

उहाँले शान्तिपूर्ण रुपमा भेला हुने आफ्नो विचार प्रकट गर्ने संविधान प्रदत्त मौलिक हकको प्रयोग गर्दा सरकारद्धार भएको प्रहरी दमनको लगतै सभापति शेरबहादुर देउवा एवं नेता रामचन्द्र पौडेलले अस्पताल पुगेर घाइतेहरुको स्थिति बुझनुभएको उल्लेख गर्नुभएको छ ।

नेपाली कांग्रेसले सरकार माथि संसदलाई छलेर ८ दिन सारेको र सडकको प्रदर्शनमा पनि दमन गर्ने नीति अख्तियार गरेकोले सरकारका विरुद्ध एकतावद्ध ढंगले उभिन कार्यकर्ता पंक्तिलाई अनुरोध पनि गरेको छ ।

नेपाली कांग्रेसले आफ्ना सभापतिले सरकारको नेतृत्व सम्हालेको समयमा देशको आवश्यकता अनुरुप ल्याएको चिकित्सा शिक्षा अध्यादेश हुबुहु प्रतिस्थापन विधेयकको रुपमा पेश गर्नू नै आजको समस्याको वास्तविक समाधान हो भन्ने प्रष्ट पारेको छ ।

कांग्रेसले प्रा. डा. गोविन्द के.सी.ले जारी राख्नु भएको अनशन तेस्रो साता पूरा भैसक्दा पनि वार्ता मार्फत समाधान खोज्ने र उहाँको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनुलाई अत्यन्तै गैर जिम्मेवार प्रवृत्ति ठहर गरेको छ।

चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा पार्टीले आन्दोलन जारी गरेको उल्लेख गर्दै नेपाली कांग्रेसका प्रवक्ता शर्माले भन्नुभएको छ,’सरकार आफ्नो रवैया रुपान्तरित गरेर तत्कालै समाधान खोज्नतर्फ नलागे अधिनायकवाद उन्मुख शैलीका विरुद्ध अझ प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नु पर्ने चेतावनी दिन चाहन्छौँ ।’

Share Now

Leave a comment.