काठमाडौं,६ साउन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाईभन्दा बढीको समर्थन पाएको कम्युनिष्ट नेतृत्वको वर्तमान संयुक्त सरकार सर्वसत्तावादी शासन स्थापनामा लागेको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेसका संस्थापक, पूर्व सभापति एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३६ औं दिवसको उपलक्ष्यमा नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिद्धारा सानेपास्थित पार्टी कार्यालयका आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो आरोप लगाउनु भएको हो ।
कांग्रेस सभापति देउवाले राजधानीका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएकोप्रति लक्षित गर्दै कम्युनिस्ट सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने काम गरेको दाबी गर्नुभयो ।
‘जनताको शान्तिपूर्ण बिरोध गर्ने अधिकारलाई रोक्न सरकारले एकलौटी निर्णय गरेर निषेधित क्षेत्र घोषणा गरेको छ’, कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘यो अप्रजातान्त्रिक हो , उनीहरु जनताको लागि होइनन् भन्ने यसबाट पुष्टि हुन्छ ।’
उहाँले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकार एकदलीय तानाशाही, सर्वसत्तावादी शासन स्थापना गर्न खोजको आरोप पनि लगाउदै भन्नुभयो, ‘उनीहरुले बोल्न दिँदैनन् । लेख्न दिँदैनन् । त्यसैले उनीहरु जनताका लागि होइनन् ।’
उहाँले बीपी कोइरालाले ‘कम्युनिस्टहरुसँग मिल्नु हुँदैन’ भनेको कुरा अहिले आएर आफूले पनि बुझेको बताउनुभयो।उहाँले भन्नुभयो, ‘बीपीले कम्युनिस्टहरुलाई पहिल्यै चिन्नुभएको रहेछ । तर, हामीले अहिले मात्रै चिन्यौं । उनीहरु जनताका लागि हुँदै होइनन् ।’
सभापति देउवाले डा. गोविन्द केसीको अनसनको प्रसंग उठाउँदै केसीको माग जायज भएकोले उहाँले जीवन रक्षा गर्न एकजुट हुन पनि आग्रह गर्नूभयो ।
सभापति देउवाले आफ्नो प्रधानमन्त्रित्वकालमा अनसनरत डाक्टर गोविन्द केसीका माग र माथेमा आयोगले दिएको प्रतिवेदनको आधारमा सर्वसहमतिमा चिकित्सा शिक्षा विधेयक ल्याए पनि अहिलेको सरकारले अध्यादेशका असल प्रावधान हटाएर नाफाखोरलाई पोस्ने गरी विधेयक ल्याएको दावी गर्नुभयो।
‘प्राइभेटलाई मेडिकल कलेज खोल्न दिने गरी विधेयक बनाए। मेडिकल कलेज खोल्न दिने नाउँमा पैसा उठाउँदै खाएका छन् । सारा भ्रष्टाचार गर्न खोजेका छन्,सभापति देउवाले भन्नुभयो ।
उहाँले सरकारले संसदबाट विधेयक फिर्ता गरी चिकित्सा शिक्षा अध्यादेशका प्रावधान यथावत नल्याएसम्म कांग्रेसले नछाड्ने चेतावनी दिनुभयो।