Prakash Adhikari April 21, 2025

काठमाडौं, ८ वैशाख । तेस्रो नेपाल सुपर लिग (एनएसएल) अन्तरगत भएको आइतवार रातिको खेलमा एफसी चितवनलाई पराजित गर्दै पोखरा थन्डर्स दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ।

एफसी चितवनलाई ३-० ले पराजित गर्दै पोखराले अगाडिको यात्रा सुरक्षित गरेको हो ।

पोखराको जितमा जो आइडोले दुई गोल गरे।

पहिलो हाफ गोल रहित बराबरीमा सकियो। दोस्रो हाफमा १३ मिनेटभित्र पोखराले ३ गोल गर्दै चितवनलाई स्तब्ध बनायो। पहिलो पटक प्ले अफ पुगेको चितवनको यात्रा भने इलिमिनेटरमा नै टुङ्गियो।

खेलको सातौं मिनेटमा पोखराले अग्रता बनाउने मौका गुमायो। आयुष घलानको पासमा जो आइडोले बक्सको एजबाट हानेको उत्कृष्ट प्रहारलाई चितवनका गोल किपर अमल नाइटले पन्च गर्दै बचाए। खेलको १७ औं मिनेटमा पोखराका सुदिल राईको पासमा जो आइडोको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।

२५ औं मिनेटमा भने चितवनले राम्रो मौका गुमायो। सुमित श्रेष्ठले बललाई उत्कृष्ट शैलीमा अगाडि बढाए। तर उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। उनले बक्सभित्र रहेका आफ्नै टिमका खेलाडीलाई पास दिन कन्जुस्याइँ गरे।

लगत्तै २८ औं मिनेटमा चितवनका भिक्टर मानसारेको सटिक पासमा टोरिक जेब्रिनले बक्स बाहिरबाट हानेको प्रहार पोखराका गोलकिपर गिल्याम प्रिसोले सानदार बचाउ गरे। पहिलो हाफमा दुवै टिम गोल रहित बराबरीमा रोकिए।

खेलको ६३ औं मिनेटमा पोखराले अग्रता बनायो। आयुष घलानको पासमा स्टेफन बिनोङको पावरफुल प्रहारलाई गोल किपर अमल नाइटले बचाए। रिबाउन्डमा समिर तामाङले हानेको क्रस चितवनका डिफेन्डर अभिषेक लिम्बुलाई डिफलेक्ट हुँदै गोलमा परिणत भयो। पोखराले १-० को अग्रता बनायो।

७२ औं मिनेटमा पोखराले अग्रता दुगुना गर्यो। जो आइडोको प्रहार चितवनका जोनाथन क्याम्पबेलमा डिफलेक्ट भएर गोलमा परिणत भयो।

त्यसको ३ मिनेटपछि चन्दन कुमार दासको पासमा बक्सभित्रबाट गोल गरे। उनको यो व्यक्तिगत दोस्रो गोल हो।

८४ औं मिनेटमा चितवनले गोल अन्तर कम गर्ने उत्कृष्ट मौका गुमायो। टोरिक जेब्रिनको पावरफुल सट पोखराका किपर प्रिसोले सानदार शैलीमा बचाए। रिबाउन्डमा मिलन राईले बल‌ प्रहार गर्नुभन्दा अगाडि बल कलेक्ट पनि गरे।

इन्ज्युरी समयको पहिलो मिनेटमा पोखराका सबस्टिच्युट नवयुग श्रेष्ठको प्रहारलाई चितवनका किपर अमल नाइटले रोके। चितवन खेलमा फर्कन नसक्दा पोखराले ३-० को नतिजा आफ्नो पक्षमा पार्यो।

अब पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीसँग बुधवार फाइनल प्रवेशको लागि खेल्नेछ। पहिलो क्वालिफायरमा धनगढीलाई २(१ ले हराउँदै ललितपुर सिटी एफसी अपराजित रहँदै फाइनलमा पुगिसकेको छ।

एफसी चितवन ३ जित १ बराबरी र २ हारमा १० अंक सहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो। पोखराले २ जित, २ बराबरी र २ हारको नतिजामा ८ अक जोड्दै गोल अन्तरमा काठमाडौं रेजर्सलाई पछि पार्दै प्ले अफमा पुगेको हो।

यो सिजन पोखराले सुरूवाती दुई खेल गुमाएपनि उत्कृष्ट कमब्याक गर्दै दोस्रो क्वालिफायर सम्मको यात्रा तय गरेको थियो। पोखरा गत सिजन अंक तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको थियो। तर पहिलो र दोस्रो दुवै क्वालिफायरमा पराजित भएपछि उसको फाइनल पुग्ने आकांक्षामा विरामा लागेको थियो।

Share Now