Prakash Adhikari April 22, 2025

 

काठमाडौं, ९ वैशाख(बीबीसी) । प्रत्येक वर्ष एप्रिल २२ मा अन्तर्राष्ट्रिय पृथ्वी दिवस मनाइन्छ।

संयुक्त राष्ट्रसङ्घले छानेको यो मितिले सन् १९७० को एप्रिल २२ मा भएको घटनाको स्मरण गराउँछ। मानवीय गतिविधिले निम्त्याएको वातावरणीय क्षतिको विरोधमा उक्त दिन संयुक्त राज्य अमेरिकाका मुख्य सहरहरूमा २ करोड मानिस सडकमा ओर्लिएका थिए।

पृथ्वी दिवस २०२५ को मन्त्र “हाम्रो शक्ति, हाम्रो ग्रह” हो। यसपालि हाम्रो घर यो ग्रहसँग जोडिएका केही रोचक तथ्यबारे जानौँ।

पृथ्वी पूरै गोलो छैन

पृथ्वीलाई गोलाकार खगोलीय पिण्डका रूपमा प्रस्तुत गरिन्छ। तर पृथ्वीको आकार ठ्याक्कै गोलो छैन। दुईवटा ध्रुवमा पृथ्वी अलि थेप्चो परेको छ। यस्तो आकारलाई अङ्ग्रेजीमा “अब्लेट स्फिअरोइड” भनिन्छ।

अन्य ग्रहमा जस्तै गुरुत्वाकर्षणको प्रभाव तथा पृथ्वी आफ्नै अक्षमा घुम्दाखेरि पैदा हुने सेन्ट्रिफ्यूगल (अपकेन्द्रीय) बलका कारण यो ग्रह ध्रुवीय क्षेत्रमा थेप्चिएको छ भने भूमध्यरेखाको क्षेत्रमा केही फराकिलो भएको छ।

त्यसैले भूमध्यरेखाको क्षेत्रमा पृथ्वीको व्यास, एक ध्रुवदेखि अर्को ध्रुवसम्मको दूरीभन्दा ४३ किलोमिटरले बढी छ।

७०% पृथ्वी पानीले ओगटेको छ

माइक्रोनेशियाका टापुहरूको फोटो

पृथ्वीको सतहको तीनचौथाइ भाग हिमनदी, दलदल, ताल, नदी, सागर तथा महासागर गरेर  पानीले ओगटेको छ।

पृथ्वीमा पानी ठोस, तरल र ग्यासको तीनवटै स्वरूपमा पाइन्छ भने यहाँ पाइने पानीको ९७% नुनिलो पानीको रूपमा महासागरमा पाइन्छ।

पृथ्वीको १०० किलोमिटर माथिबाट अन्तरिक्ष सुरु हुन्छ

पृथ्वीको वायुमण्डल र अन्तरिक्षको सीमारेखालाई ‘कार्मन लाइन’ भनिन्छ।

उक्त सीमा समुद्री सतहभन्दा १०० किलोमिटर माथि छ ।

वायुमण्डलको कुल पिण्डको ७५% भाग प्रारम्भिक ११ किलोमिटर माथिसम्मको भागमै छ।

पृथ्वीको भित्रपट्टि ‘आइरन कोर’

पृथ्वीको संरचनाको चित्र

पृथ्वीको भित्री भागको न्यूक्लिअस मुख्यतया फलामले बनेको छ

पृथ्वी सौर्यमण्डलमा सबभन्दा सघन अनि पाँचौँ ठूलो ग्रह हो ।

पृथ्वीको सबभन्दा भित्री भाग करिब १,२०० किलोमिटर अर्धव्यासको ठोस भकुन्डो जस्तो रहेको ठानिन्छ।

त्यो मुख्यतः फलामले बनेको छ।

‘कोर’ भनिने उक्त संरचनाको अनुमानित ८५% तौल फलामले अनि १०% तौल निकल धातुले ओगटेका छन्।

जीवन रहेको ‘एकमात्र ग्रह’

ब्रह्माण्डमा रहेका खगोलीय पिण्डहरूमध्ये जीवन रहेको पुष्टि भएको एकमात्र ग्रह हो, पृथ्वी।

यहाँ हालसम्म १२ लाख प्रजातिका जीवको अभिलेख तयार पारिएको छ। तर त्यो कुल सङ्ख्याको सानो अंश मात्र भएको ‍ठानिन्छ।

सन् २०११ मा वैज्ञानिकहरूले प्राकृतिक विश्वमा करिब ८७ लाख प्रजाति रहेको अनुमान गरेका थिए।

पृथ्वीको उत्पत्ति अनुमानित ४.५ अर्ब वर्ष अघि भएको ठानिन्छ। यसको भौतिक विशिष्टता, भौगर्भिक इतिहास तथा पृथ्वी हिँड्ने कक्षका कारण यहाँ दशौँ करोड वा अर्बौँ वर्षदेखि जीवन धानिएको छ।

पृथ्वीको सबै भागमा गुरुत्त्वाकर्षण समान छैन

पृथ्वीको गुरुत्त्वाकर्षण क्षेत्रको चित्र

तस्बिरको क्याप्शन,पृथ्वीको गुरुत्त्वाकर्षण क्षेत्रको शक्तिमा विविधता छ

हाम्रो ग्रह पूर्ण गोलाकार नभएको अनि सबै ठाउँमा समान पिण्ड नहुने भएकाले गुरुत्त्वाकर्षण क्षेत्रको शक्ति पनि फरकफरक ठाउँमा फरकफरक हुन्छ।

उदाहरणका लागि, हामी भूमध्यरेखाबाट ध्रुवीय क्षेत्रतर्फ लाग्दा गुरुत्त्वाकर्षण क्षेत्रको सघनता बढ्दै जान्छ।

यद्यपि मानिसले यो भिन्नता खुट्ट्याउन भने सक्दैनन्।

 

विविधतायुक्त संसार

हाम्रो ग्रह एकदमै विविधतायुक्त छ। यसका भौगोलिक क्षेत्र तथा मौसमका विविधताका कारण हरेक क्षेत्रमा आआफ्नै विशिष्टता पाइन्छ।

पृथ्वीमा सबभन्दा तातो ठाउँ भन्न मिल्ने थुप्रै छन् तर अमेरिकाको डेथ भ्यालीमा सन् १९१३ को जुलाई १० मा रेकर्ड गरिएको ५६.७ डिग्री सेल्सिअसको तापक्रम नै रेकर्ड गरिएको सबभन्दा तातो तापक्रम हो।

अर्को छेउमा एन्टार्क्टिका छ। सन् १९८३ को जुलाई ३१ मा त्यहाँको भोस्टोक स्टेशनमा तापक्रम नाप्दा माइनस ८९.२ डिग्री सेल्सिअस रेकर्ड भएको थियो।

सबभन्दा विशाल जीवित संरचना

कोरल रीफ अर्थात् मुँगाको चट्टान

तस्बिरको क्याप्शन,ग्रेट ब्यारिअर रीफ हजारौँ प्रजातिका जीवको वासस्थान हो

अस्ट्रेलियाको तटपारि अवस्थित ग्रेट ब्यारिअर रीफ जीवहरूले बनेको यो ग्रहकै सबैभन्दा विशाल संरचना हो। त्यसलाई अन्तरिक्षबाट समेत देख्न सकिन्छ।

यो रीफ २,००० किलोमिटरसम्म फैलिएको छ। त्यहाँ हजारौँ समुद्री जीव बस्छन्।

सन् १९८१ मा यसलाई यूनेस्कोले विश्व सम्पदामा सूचीकृत गर्‍यो।

सौर्यमण्डलमा सक्रिय टेक्टोनिक प्लेट भएको एकमात्र ग्रह

यी भौगर्भिक प्लेटहरूका हलचलका कारण यस ग्रहको सतह निरन्तर परिवर्तन भइरहन्छ।

यिनैका कारण पर्वतहरूको निर्माण भएका छन् भने भूकम्प तथा ज्वालामुखी विस्फोट हुने गर्छन्।

पृथ्वीको तापक्रम नियमित गर्न, अनि महासागरका पीँधहरूको स्थायी परिवर्तनमार्फत् कार्बन डाइअक्साइडजस्ता हरितगृह ग्यासको चक्रमा योगदान गर्न यी प्लेटहरूको चक्रीय चालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।

पृथ्वीको वरपर सुरक्षा कवच

पृथ्वीको चुम्बकीय क्षेत्रको चित्रण

तस्बिरको क्याप्शन,पृथ्वीको चुम्बकीय क्षेत्रले सुरक्षा कवचको काम गर्छ

पृथ्वीको चुम्बकीय क्षेत्रले सूर्यबाट निरन्तर ओइरिने उच्च ऊर्जायुक्त कणहरूबाट जोगाउने कवचको काम गर्छ।

यो क्षेत्र पृथ्वीको भित्री भागबाट सुरु भएर ‘सोलर विन्ड’ अर्थात् सौर्य आँधी भेट्टिने ठाउँसम्म फैलिएको छ।

त्यसबाहेक चुम्बकीय क्षेत्रले कतिपय जीवजन्तुलाई तिनको गन्तव्य पत्ता लगाउन सहयोग गर्छ (कम्पास प्रयोग गर्ने हो भने त्यसले हामीलाई दिशा चिन्न त्यसरी नै सघाउँछ।)

Share Now