नेपालगञ्ज(बाँके), ८ वैशाख । नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब सेमिफाइनलमा पुगेको छ।
अन्तिम क्वाटर फाइनल खेलमा आज कर्णाली प्रदेश फुटबल संघलाई ६-० ले पराजित गर्दै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो।
खेलको १८ औं मिनेटमा कर्णालीकी टिना रावतको आत्मघाती गोलबाट एपीएफले अग्रता लियो । ३५ औं मिनेटमा एपीएफकी रेनुका नगरकोटेले गोल गरिन् ।
त्यसको एक मिनेटपछि अनिता केसीले गोल गरिन् । ४५ औं मिनेटमा गीता रानाले गरेपछि एपीएफले पहिलो हाफमा ४(० को अग्रता बनायो।
४६ औं मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् । ५० औं मिनेटमा कर्णालीकी टिनाबाट अर्को आत्मघाती गोल भएपछि एपीएफले फराकिलो जित दर्ता गर्यो।
सोही खेलबाट गोलकिपर अञ्जना रानामगरले एपीएफबाट डेब्यू गरिन् । अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेर उनी दुई साता अघि एपीएफमा आबद्ध भएकी हुन् । दोस्रो हाफमा अञ्जनाको सट्टा सावित्री किशनले पोस्ट सम्हालेकी थिइन्।
एपीएफकी रेनुका प्लेयर अफ दि म्याच घोषित भइन् ।उनलाई राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङ, खेल प्रायोजक राजा खानका प्रतिनिधि सादाब खान र मनमाया मेमोरियल फिजियोथेरापीका डाक्टर खेमा भण्डारीले ५ हजार रुपैयाँ हस्तान्तरण गरे ।
अब एपीएफले रौतहट जिल्ला फुटबल संघसँग सेमिफाइनल खेल्नेछ। पहिलो सेमिफाइनलमा मंगलवार नेपाल पुलिस क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ।


















