Prakash Adhikari April 22, 2025

 

इडेन गार्डेन(कोलकोत्ता, भारत), ९ वैशाख (एजेन्सी) । – इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत सोमबार राति भएको खेलमा गुजरात टाइटन्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले छैठौै जित निकालेको हो । यो जितसंगै गुजरातले लिगमा १२ अंक बनाएको छ।
खेलमा जितको लागि १ सय ९९ रनको चुनौति पछाएको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो।

कोलकाताले पहिलो पावर प्लेमा ४५ रन मात्र जोड्दा २ विकेट गुमाइसकेको थियो। ओपनर रहमानुल्लाह गुर्बाज १ रनमा र सुनिल नराइन २७ रनमा आउट भए। लगत्तै भेन्कटेश अयर १४ रनमा पबिलियन फर्किए।

कप्तान अजिन्के राहने अर्धशतक बनाएर चौथो विकेटको रूपमा आउट भए। उनले ३६ बल खेल्दै ५ चौका र १ छक्क प्रहार गरे। ४ विकेटको नोक्सानीमा कोलकाताले मात्र ९१ रन बनायो।

त्यसपछि अन्य कुनै पनि खेलाडी‌ क्रिजमा टिक्न सकेनन्। आन्द्रे रसलले २१ रन बनाउँदा अङकृश रघुवंशीले अविजित २७ रनमा रहे। बलिङमा प्रसिद्ध कृष्णा र रसिद खानले २ । २ विकेट लिए।

त्यसअघि टस जितेर कोलकाताले पहिले गुजरातलाई ब्याटिङको लागि मैदानमा उतार्यो। गुजरातले कोलकाताका बलरहरूलाई निरिह बनाउँदै सानदार सुरूवात गर्यो।

गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटको लागि शतकीय साझेदारी गरे।

यी दुईले १२ ओभर २ बलमा १ सय १४ रनको साझेदारी गर्दै गुजरातलाई राम्रो सुरूवात दिलाउन सफल रहे। ३६ बलमा ५२ रन जोडेर साई आउट भए। आन्द्रे रसलले साझेदारी तोड्दै साइलाई आउट गरे।

त्यसपछि जोश बटलरले शुभमनलाई साथ दिए। दोस्रो विकेटको लागि उनीहरुले ५८ रनको साझेदारी गर्दै कोलकाताका बलरहरूलाई दबाब दिए।

गिल शतकबाट १० रनले चुके। सानदार पारी खेलेका उनले ५५ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गर्दै ९० रनको योगदान दिए।

जोस बटलर २३ बल खेल्दै अविजित ४१ रनसम्म क्रिजमा रहे। साहरुख खानले अविजित ११ रन जोडे ।
गुजरातलाई रोक्न कोलकाताका मात्र दुई बलर आन्द्रे रसल र वैभव अरोराले १ । १ विकेट लिए। अन्य चार बलर विकेट विहिन रहे।

अंकतालिकामा गुजरात १२ अंकसहित शीर्षमा छ । दोस्रो स्थानमा १० अंकसहित दिल्ली रहेको छ । एक खेल कम खेलेको दिल्लीले ७ खेलबाट १० अंक जोडेको छ। कोलकाताका लागि भने यो पाँचौं हार हो। आठ खेलबाट उससँग मात्र ६ अंक रहेको छ।

Share Now