बाढीले तहसनहस थामेमा आज ‘ हिमाल आरोहीको सम्मेलन’, जलवायु परिवर्तनका असर न्युनीकरणका बिषयमा छलफल हुने

थामे(सोलुखुम्बु), ९ वैशाखः हिमताल विष्फोट भएर आएको बाढीले तहसनहस पारेको सोलखुम्बुको थामेमा आज हिमाल आरोहीको सम्मेलनहुन लागेको छ ।
‘समिटर्स समिट’मा सहभागीहरू यहाँ आउनेक्रम जारी छ । समिटमा सहभागिताका लागि एक टोली हिजो काठमाडौंबाट थामे प्रस्थान गरेको छ ।
जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको ‘साथसाथै’ संस्थाले आयोजना गर्न लागेको सम्मेलनलाई नेपाल सरकारद्वारा आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वकार्यक्रमका रूपमा लिइएको छ ।
समिट आयोजक संस्थाकी अध्यक्ष प्रजिता कार्कीका अनुसार हिजो प्रस्थान गरेको टोलीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त आरोही, जलवायु र पर्यटनविज्ञ तथा विभिन्न तहका सरकारी प्रतिनिधिहरू सहभागी छन् ।
नेपाल सरकारका मन्त्रीसहितको अर्को टोली मङ्गलबार नै हेलिकप्टरमार्फत थामे पुग्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा सहभागी हुन सगरमाथा आरोही एवं कतारकी राजकुमारी आस्मा अल थानी, विश्व कीर्तिमानी सगरमाथा आरोहीहरु कामीरीता शेर्पा, मिङ्मा डेभिड शेर्पा, कान्छो सगरमाथा आरोही तेम्बाछिरी शेर्पालगायतको टोली थामे पुग्दैछ । उक्त सम्मेलनमा स्थानीयवासी तथा गत वर्ष थामे क्षेत्रमा हिमपहिरोबाट प्रभावितसमेत सहभागी हुने आयोजक संस्थाले जनाएको छ ।
सम्मेलनमा जलवायु परिवर्तन, पर्यटन र हिमाली जीवनशैलीका विविध पक्षबारे समूहगत छलफल हुनेछ । वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार र खुम्बु पासाङल्हामु गाउँपालिकासँगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागिएको हो । यस्तै, सहआयोजक संस्थामा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, टेवा, नेप्लिज युथ फर क्लाइमेट एक्सनलगायत छन् ।
समिटमा सहभागी हुन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, अन्तररास्ट्रिय पत्रकार महासङ्घ एसिया प्रसान्तका कार्यकारी सदस्य बद्री सिग्देलसहितको टोली खुम्बु पुगिसकेको छ ।