Prakash Adhikari April 23, 2025

बर्दिवास(महोत्तरी), १० वैशाख । नेपाली साहित्यको प्रवर्द्धन र सर्जकहरूको उत्साहवर्द्धनका लागि शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बर्दिवासमा आयोजना गरेको विशेष कार्यक्रममा प्रा.डा. सुमन कर्माचार्यलाई शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान–२०८१ प्रदान गरिएको छ ।

कर्माचार्यलाई साहित्य, शिक्षा र समाजसेवामा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै १५ हजार ५ सय ५५ रुपैया राशीको पुरस्कार दिइएको हो ।

३० औँ राष्ट्रिय छन्द दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा मधेस प्रदेश सभा सदस्य माननीय शारदा थापा प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रमको सभापतित्व प्रतिष्ठानका संरक्षक प्रेम घिमिरे अग्नि कवचले गर्नुभएको थियो ।

छात्रवृत्ति वितरण कार्यक्रममा भारतबाट आएका लेखक कामरुदिन नदाफले विशेष शारीरिक क्षमता भएका दुई विद्यार्थी—गरिमा परियार र दिनेश महतोलाई जनही रु ५ हजार ५ सय ५५ सहयोग स्वरूप प्रदान गर्नुभयो । साथै, साहित्यप्रेमी मिना देवकोटाले बर्दिवासकै सुस्मिता कट्वाललाई रु २ हजार ५ सय ५५ छात्रवृत्ति उपलब्ध गराउनुभएको थियो ।

कार्यक्रममा मधेस, कोशी र बाग्मती प्रदेशका विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूको उपस्थिति थियो । विशिष्ट अतिथिहरूमा होटल तथा पर्यटन व्यवसायी महासंघका अध्यक्ष हिरा गौतम, प्रगतिशील लेखक संघका अध्यक्ष नारायण घिमिरे, उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु खड्का, लोक तथा दोहोरी प्रतिष्ठान अध्यक्ष रुद्रसेन विश्वकर्मा, साहित्यकार गुञ्जबहादुर कार्की, विमला विक, सरिता ढुङ्गाना, निला घिमिरे लगायत थुप्रै प्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहेको थियो ।

गीत, गजल र कविता वाचनले साहित्य र संगीतमय बनेको कार्यक्रममा डा. जो जोनसन, डा. जेनी हेरिङटन, कुमार कुसुम, गोपाल यादव, बाबुराम फुयाल, पुष्पा गजमेर, बिपिराज दाहाल, जीवन आचार्य, बोधकुमार घिमिरेलगायत थुप्रै सर्जकहरूको प्रस्तुति रहेको थियो । सर्जकहरूलाई स्व. शिशिर घिमिरेकी आमाले प्रशंसा पत्र वितरण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बुढ्यौली साहित्य समाज अध्यक्ष लम्बोदर काफ्ले र उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु खड्काले मोफसलमा भइरहेका यस्ता कार्यक्रमहरूले साहित्यिक वातावरण सशक्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि शारदा थापाले कार्यक्रममा आफ्नो मन्तव्य दिँदै यस्तो प्रयासले नेपाली साहित्यको गहिरो साधनामा कलम चलाउने सबैलाई ऊर्जा दिने बताउनुभयो ।

सम्मानित प्रा. डा. सुमन कर्माचार्यले आफू सम्मानित भएकोमा गर्व व्यक्त गर्दै प्रतिष्ठानको कार्यप्रति आभार प्रकट गर्नुभयो ।

सभाध्यक्ष प्रेम घिमिरेले कार्यक्रमको समापनमा सम्मान, प्रेरणा र सृजनशीलताको उद्देश्यले प्रतिष्ठान स्थापित गरिएको स्मरण गराउँदै, समाज र साहित्यका सेवकहरूलाई निरन्तर सम्मान गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो साहित्यिक कार्यक्रमको संचालन सर्जक नारद काफ्लेले गर्नुभएको थियो भने स्वागत मन्तव्य सर्जक भिमकुमार राउतले प्रस्तुत गर्नुभएको थियो ।

Share Now