Prakash Adhikari April 23, 2025

श्रीनगर(जम्मू कश्मीर,भारत),१० वैशाख । भारत प्रशासित जम्मू कश्मीरमा बन्दुकधारीहरूले आन्तरिक पर्यटकहरूमाथि गोली चलाउँदा कम्तीमा दुई दर्जन मानिसहरूको मृत्यु भएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

भारतको स्वीट्जरल्यान्ड भनेर चिनिने कश्मीरस्थित एक लोकप्रिय पर्यटकीय स्थल पहलगाममा मङ्गलवार उक्त आक्रमण भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई आतङ्कवादी हमला भन्नुभएको छ र आक्रमणमा जिम्मेवार जो कोहीलाई पनि नछोडिने बताउनुभएको छ।

राज्यका मुख्यमन्त्री उमर अब्दुल्लाहले उक्त घटनालाई ूपछिल्ला वर्षहरूमा सर्वसाधारणलाई लक्ष्यित गरी भएको सबैभन्दा ठूलो आक्रमणू भन्नुभएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली सङ्घकी प्रमुख उर्जुला फोन देर लेयनसहितका विश्व नेताहरूले घटनाको भर्त्सना गर्नुभएको छ।

नेपाली परे-नपरेको बुझ्ने प्रयास

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पहलगाममा भएको आतङ्कवादी आक्रमणमा नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूबारे बुझ्ने प्रयास भइरहेको बताउनुभएको छ ।

“पीडितमध्ये नेपाली नागरिक पनि रहेको भन्ने विवरणको पुष्टि गर्न र आवश्यक सहायता उपलब्ध गराउन नजिकबाट समन्वय भइरहेको छ”, ओलीले एक्समा पोस्ट गर्दै भन्नुभएको छ।

आक्रमणको निन्दा गर्दै प्रधानमन्त्री ओलीले आतङ्कवादविरुद्धको लडाइँमा भारतसँगै उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

“नेपाल आतङ्कवादका कुनै पनि गतिविधिको निन्दा गर्छ र बलियो गरी भारतसँगै उभिन्छ”, ओलीले भन्नुभएको छ।

घटनापछि साउदी अरबको भ्रमण छोट्याएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा हमलाको कडा शब्दमा निन्दा गर्नुभएको छ।

“आतङ्कवादविरुद्ध हाम्रो अठोट डगमगाउँदैन र यो अझै बलियो हुन्छ”, उहाँले लेख्नुभएको छ ।

गृहमन्त्री अमित शाह मङ्गलवार नै कश्मीरको सबैभन्दा ठूलो सहर श्रीनगरको भ्रमण गरेर सुरक्षा अवस्थाको बारेमा आपत्कालीन बैठक राख्नुभएको थियो।

खासै नाम नसुनिएको इस्लामवादी समूहले घटनाको जिम्मेवारी लिएको छ।

घटनास्थलमा सेना र प्रहरी परिचालन

आक्रमणमा धेरैजना घाइते भएको विवरण आएका छन्। प्रहरीले गोली लागेका कैयौँ पर्यटकलाई अस्पताल लगिएको बताएको छ।

यो क्षेत्रका उपराज्यपाल मनोज सिन्हाले घटनास्थलमा सेना र प्रहरी परिचालन भएको बताउनुभयो।

घटनापछि उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ र सुरक्षाकर्मीहरूले त्यस क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनहरूलाई जाँच गरिरहेका छन्।

आक्रमणमा संलग्न भएकाहरूको खोजीका लागि भारतीय सेना र प्रहरीको संयुक्त टोली खटिएका छन्।

मुस्लिम बहुल यो क्षेत्रमा सन् १९८९ देखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्षहरूमा आक्रमणका घटनाहरूमा कमी आएका थिए।

यो क्षेत्रमा साढे तीन दशकसम्म चलेको द्वन्द्वका क्रममा पनि पर्यटकहरूमाथि यस्तो ठूलो स्तरमा विरलै आक्रमण भएको थियो।

आक्रमण भएको स्थान पहलगामदेखि पाँच किलोमिटर टाढाको बैसरन घाँसे मैदान हो। यो मनोरम स्थान पहाडको टुप्पोमा अवस्थित छ। पर्यटकहरूमाझ लोकप्रिय यो स्थान अहिले वर्षको सबैभन्दा धेरै पर्यटकहरू आउने समय हो।

जम्मू कश्मीरका प्रहरी प्रमुख विधिकुमार विर्दीले गोली प्रहार भएको स्थानमा सवारीसाधनहरू नपुग्ने बताउनुभएको छ।

आक्रमणमा परेको समूहमा रहेका गुजरातका एक पर्यटकले अचानक गोली प्रहार सुरु भएपछि अवस्था तनावपूर्ण भएको र मानिसहरू भाग्न, रुन र चिच्याउन थालेको बताउनुभयो।

भारतीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका भिडिओहरूमा भारतीय फौज आक्रमण भएको स्थानतर्फ दौडिँदै गरेको देखिन्छ।

कतिपय अन्य भिडिओहरूमा पीडितहरूले बन्धुकधारीले गैरमुस्लिमलाई मात्रै लक्ष्यित गरेको बताइरहेको सुनिन्छ।

सामाजिक सञ्जालमा फैलिएका र बीबीसीले पुष्टि गर्न बाँकी रहेका भिडिओहरूमा शवहरू घाँसे मैदानमा छरिएका र मानिसहरू रुँदै सहयोगका लागि चिच्याइरहेका देखिन्छ।

दशौँ हजारको ज्यान लिएको कश्मीर द्वन्द्व

सन् १९९०को दशकदेखि भारतीय शासनको विरोधमा पृथकतावादी सशस्त्र विद्रोह सुरु भएयता यो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारण समेत गरी दशौँ हजारको ज्यान गइसकेको छ।

ब्रिटेनबाट भारत स्वतन्त्र भएसँगै सन् १९४७ मा भारत र पाकिस्तान विभाजनका क्रममा यो हिमाली क्षेत्र पनि विभाजित भएको थियो। त्यसपछि भारत र पाकिस्तानबीच यो क्षेत्रका लागि दुईवटा युद्ध र अन्य कैयौँ द्वन्द्वका घटना पनि भए।

भारतले यो क्षेत्रमा करिब पाँच लाख सैनिकहरू स्थायी रूपमै परिचालन गरेको छ।

भारत सरकारले सन् २०१९ मा कश्मीरको आंशिक स्वायत्तता खारेजी भएसँगै यो क्षेत्रमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको छ। यद्यपि यहाँ बेलाबखत हिंसाका घटना हुँदै आएका छन्।

पछिल्लो पटक सन् २०२४ को जुनमा सर्वसाधारण लक्ष्यित आक्रमण भएको थियो। हिन्दू धर्मावलम्बी बोकेको बसमा सशस्त्र समूहले गोली चलाउँदा नौजनाको मृत्यु भएको थियो ३३ जना घाइते भएका थिए।

त्यसअघि सन् २०१९ मा भारत प्रशासित कश्मीरमा भएको आत्मघाती आक्रमणमा ४६ जना सैनिक मारिएका थिए। त्यसपछि भारतले पाकिस्तानमा विद्रोहीहरू लुकेको दाबी गर्दै केही क्षेत्रमा आक्रमण गरेको थियो।

भारतले पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय रहेका पहलगाम लगायतका क्षेत्रको प्रवर्द्धन गरिरहेको छ। गत वर्ष मात्रै कश्मीरमा ३५ लाख पर्यटक पुगेका सरकारी तथ्याङ्कहरूले देखाएका छन्।

Share Now