Prakash Adhikari April 23, 2025

 

नयाँदिल्ली(भारत), १० वैशाख(बीबीसी)। भारत प्रशासित जम्मू कश्मीरमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाको मृत्यु भएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

कश्मीरको पहलगामनजिकै भएको उक्त घटनामा परेका नेपाली नागरिक रूपन्देहीका बासिन्दा भएको र उहाँ आफ्नी आमासहित कश्मीर घुम्न गएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। मृतकमध्ये अर्को एक जना यूएईका नागरिक भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

‘भारतको स्विट्जरल्यान्ड’ भनेर चिनिने कश्मीरस्थित लोकप्रिय पर्यटकीय स्थल पहलगाममा मङ्गलवार त्यहाँ घुम्न गएका पर्यटकहरूलाई निसाना बनाएर आक्रमण गरिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई ‘आतङ्कवादी हमला’ भन्नुभएको छ र त्यसमा जिम्मेवार जोकोहीलाई पनि नछोडिने उद्घोष गर्नुभएको छ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आक्रमणको निन्दा गर्दै ‘आतङ्कवादविरुद्धको लडाइँमा’ भारतसँगै उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली सङ्घकी प्रमुख उर्जुला फोन देर लेयनसहितका विश्वनेताहरूले उक्त घटनाको भर्त्सना गर्नुभएको छ।

घटनामा परेका नेपालीबारे के थाहा छ?

नेपाली राजदूतावासका अनुसार बुटवल घर भएको एउटा परिवार कश्मीर घुम्न भएको थियो। मृतक धरानमा अध्ययरत सुदीप न्यौपाने भएको उहाँका आफन्तहरूले पुष्टि गरेका छन्।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाका अनुसार आफन्तहरूसँग घुम्न गएका बुटवलका नेपाली युवकको गोली प्रहारबाट मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन्।

“उहाँकी आमालाई पनि भाग्ने क्रममा चोटपटक लागेको रहेछ तर अवस्था सामान्य छ”, थापाले भन्नुभयो । दूतावासका अनुसार सुदीपसँगै उहाँकी आमा, बहिनी र ज्वाइँ पनि हुनुहुन्थ्यो।

बुटवल-४ का वडाध्यक्ष दधिराम न्यौपालेले मृतक आफ्ना भतिज रहेको बीबीसीसँग बताउनुभएको छ। उहाँका अनुसार सुदीप न्यौपाने र अरू आफन्त शनिवार नेपालबाट हिँड्नुभएको थियो।

“सुदीप आफ्नी आमा अनि पोखरा बस्ने बहिनी र ज्वाइँलाई समेत लिएर कश्मीर भ्रमणमा निस्कनुभएको थियो। बाँकी तीन जना सकुशल छन् भन्ने आएको छ”, उहाँले टेलिफोनमा भन्नुभयो।

वडाध्यक्ष न्यौपानेका अनुसार सञ्चारमाध्यममा कश्मीर घटनामा मृत्यु भएका व्यक्तिको नाम सार्वजनिक भएपछि मृतक सुदीप आफ्नै भतिज भएको आशङ्कामा उहाँले सोधखोज सुरु गर्नुभएको थियो।

बुधवार बिहान सुदीपका ज्वाइँले सुदीपको मृत्युको पुष्टि गरेको उहाँले बताउनुभयो। ‘बिहान ज्वाइँले भोइस मेसिज पठाएर’, “दाजुलाई बचाउन सकिएनु भन्नुभयो”,उहाँले बीबीसीसँग भन्नुभयो।

मृतकका बुवा भने बुटवलमै हुनुहुन्छ।

सुदीप न्यौपाने स्नातक तहमा पढ्दै गरेको र अविवाहित रहेको बुझिएको छ।

भारतीय सञ्चारमाध्यमले नेपाली नागरिकको मृत्यु भएको विवरण प्रकाशित गरेपछि नेपाली अधिकारीहरूले त्यसबारे खोजी गरेका थिए।

थापाका अनुसार मृतकको परिवार नेपाली अधिकारीहरूको सम्पर्कमा आइसकेको छ।

उक्त क्षेत्रमा घुम्न र मौसमी कामदारका रूपमा पनि नेपालीहरू जाने गरेको नेपाली दूतावासले जनाएको छ।

Share Now