Prakash Adhikari April 24, 2025

काठमाडौं, ११ वैशाख । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि   मन्त्री रघुजी पन्तले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथपछि मन्त्रालयमा पद बहाली गर्नुभएका मन्त्री पन्तले आन्दोलनरत शिक्षकहरुसंग वार्ता गरी शिक्षकहरुलाई सडकबाट कक्षा कोठामा फर्काउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा उहाँले शिक्षामन्त्री पन्तलाई शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवाराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।

नेकपा एमालेका नेता पन्तलाई प्रधानमन्त्री ओलीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले शिक्षामन्त्री नियुक्त गर्नुभएको थियो । यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गते राजीनामा दिनुभएको थियो ।
नव नियुक्त शिक्षामन्त्री पन्त समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

नवनियुक्त शिक्षामन्त्रीद्वारा पदबहाली

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पदबहाली गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शपथपछि उहाँले सिंहदरबार पुगेर पदबहाली गर्नुभएको हो ।

सो क्रममा उहाँले वार्ताका माध्यमबाट आन्दोलनरत शिक्षकको माग सम्बोधन गरिने बताउनुभयो । आफूले भर्खर मात्र मन्त्रालयको जिम्मेवारी लिएको जनाउँदै उहाँले शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्ने स्पष्ट पार्नुभयो।

तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य पन्त शिक्षामन्त्रीमा नियुक्त हुनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
–––

Share Now