Prakash Adhikari April 25, 2025

 

बैगलुरु(कर्नाटका,भारत), १२ बैशाख(एजेन्सी) । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत बिहिवार राति भएको ४२ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले राजस्थान रोयल्सलाई ११ रनले पराजित गरेको छ।

जितको लागि २ सय ६ रनको चुनौति पाएको राजस्थानले लक्ष्य हासिल गर्न सकेन । २० ओभरको निर्धारित खेलमा उसले ९ विकेटको क्षतिमा १ सय ९४ रनमात्र जोड्न सक्यो ।

राजस्थानका लागि ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ५२ रनको साझेदारी गरे। वैभव १६ रनमा आउट भए। यसपछि यशस्वी अर्धशतकबाट मात्र १ रनले चुके। १९ बलमा ७ चौका र ३ छक्का सहित ४९ रन बनाएका उनी जोश हेजल्उडको बलमा आउट भए।

त्यसपछि राजस्थानले ठुलो साझेदारी बनाउँदै आरसीबीलाई दबाब दिन सकेन। कप्तान रियान पराग २२ रनमा, नितीश राना २८ रनमा र सिम्रोन हेटमेर मात्र १२ रनमा आउट भए।

त्यसपछि ध्रुव जुरेल ४७ रनमा आउट भए। योसँगै राजस्थान १ सय ९४ रनमा समेटियो।

राजस्थानलाई रोक्ने क्रममा आसीबीका जोश हेजलउडले ४ ओभरमा ३३ रन दिएर ४ विकट लिए। क्रुनाल पाण्ड्याले २ विकेट लिए।

त्यसअघि बंगलुरुमा भएको खेलमा राजस्थानले‌ टस जित्दै आरसीबीलाई पहिले ब्याटिङमा उतार्यो। आरसीबीले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो।

ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरे। यी दुईले पहिलो पावर प्लेमा ५९ रन जोडे। साल्ट २६ रनमा आउट भए।

त्यसपछि विराटसँग मिलेर देवदत्त पाडिकलले तेस्रो विकेटको लागि ९५ रनको सानदार साझेदारी गरे। यो क्रममा दुवैले अर्धशतक बनाए।

४२ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गर्दै विराटले सर्वाधिक ७० रनको पारी खेले। देवदत्तले २७ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै टिम डेबिटले २३ रन जोड्दा जितेश शर्मा अविजित २० रनमा रहे।

राजस्थान रोयल्सको बलिड.मा सन्दीप‌ शर्माले २ विकेट लिए। जोफ्रा आर्चर र वानिन्दु हसरङ्गाले समान १ विकेट झारे।

आरसीबीसँग १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। राजस्थानसँग मात्र ४ अंक रहेको छ।

Share Now