काठमाडौं, १२ वैशाख । सर्वोच्च अदालतले २४ दिनदेखि राजधानी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्न सरकारलाई आदेश जारी गरेको छ ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार एक अन्तरिम आदेश जारी गर्दै शिक्षकहरूलाई तीन दिनभित्र विद्यालयमा फर्किन आदेश दिएको हो ।
‘आन्दोलित शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ सर्वोच्चले आदेशमा भनेको छ।
शिक्षकहरू २४ दिनदेखि आन्दोलित हुँदा देशभरका सामुदायिक विद्यालयहरुमा नयाँ शैक्षिक सत्रको भर्ना र पठनपाठन अझै सुरू भएको छैन। शिक्षक हडतालले पार्ने असरलाई दृष्टिगत गर्दै अधिवक्ता श्रवणकुमार चौधरीले गत चैत १० गते रिट हाल्नुभएको थियो ।
चौधरीले सर्वोच्चसँग विद्यार्थीहरूलाई पढ्ने वातावरणका लागि अन्तरिम आदेश माग गर्नुभएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतका विभिन्न ६ निकाय र संगठनलाई प्रतिवादी बनाउँदै हालेको रिटमा चौधरीकै मागअनुसार विद्यालय खोल्ने गरी सर्वोच्चले आदेश दिएको हो ।






















