काठमाडौं, १४ बैशाख । नेपाल पुलिस क्लबले आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
यो प्रतियोगितामा पुलिस पहिलो पटक च्याम्पियन बनेको हो।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार भएको फाइनल खेलमा ६ पटकको च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३ ० को सोझो सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो।
एपीएफ विरुद्ध पुलिसले सुरुवात बाटै रवाफिलो प्रदर्शन गर्दै सहज जितका साथ उपाधि जितेको हो।
पुलिसले एकपक्षीय शैलीमा एपीएफलाई हरायो। पहिलो सेट २५-१५ ले जित्दै १-० को अग्रता बनायो। दोस्रो सेटमा एपीएफले केहि चुनौती दिने प्रयास गर्यो। तर यो सेट पनि २५-२३ ले जित्दै पुलिसले २-० को अग्रता बनायो।
खेलमा टिकिराख्न तेस्रो सेट एपीएफलाई जित्नैपर्ने थियो। तर २५-१६ ले सहजै पुलिसले तेस्रो सेट पनि जित्यो।
प्रतियोगितामा पुलिस उपाधि जित्ने तेस्रो टोली हो। यसअघि छ पटक एपीएफ र एक पटक टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले जितेको थियो।
उपाधिसँगै पुलिसले ४ लाख ९९ हजार र एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
न्यु डायमण्ड तेस्रो
आजै भएको तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा टिपटप न्यु डायमण्ड युथ भलिबल क्लब सफल रहयो।
उसले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५-१९, २५-१२ र २५-१८ को सेटमा माथ दियो। तेस्रो भएको न्यु डायमण्डले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्यो।
कामना सर्वोत्कृष्ट
प्रतियोगिता विजेता पुलिस टिमकी कामना बिष्ट सर्वोत्कृष्ट खेलाडी बनिन्। उनलाई नगद ५० हजार प्रदान गरियो। पुलिसकी कमला पुन उत्कृष्ट सेटर, शान्ति कला उत्कृष्ट लिबरो र रूपेश कुमार बिष्ट उत्कृष्ट प्रशिक्षक बन्न सफल रहे।
व्यक्तिगत एपएिफकी निरूता ठगुन्ना बेस्ट स्पाइकर र पुजा चौधरी उत्कृष्ट सर्भर बने। व्यक्तिगत पुरस्कार विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।
शेरबहादुर खड्का मेमोरियल ट्रष्टको आयोजनामा बैशाख १० गते सुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता थियो।


















