काठमाडौँ, १४ वैशाख । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा शान्तिपूर्ण रुपमा आयोजना हुँदै आएको शिक्षकहरुको आन्दोलन आइतबार अशान्त बनेको छ ।
आन्दोलनकारी शिक्षकहरूले निषेधित क्षेत्र तोड्न थालेपछि आइतबार प्रहरीसँग झडप भएको छ ।
नेपाल शिक्षक महासंघको आह्वानमा गत वर्षको चैत २० गतेदेखि देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेका छन् । चैत्र २५ देखि अनिश्चितकालीन भनिएको यो आन्दोलन चलेको पनि २५ दिन नाघेको छ ।
यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो ।
बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ । शिक्षकहरूले शनिबार पनि केही समय निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।
शिक्षकहरुका मागहरु पूरा गराउने सन्दर्भमा प्रधानमन्त्री केपी ओलीसंग लय नमिल्दा विज्ञान,प्रविधिि तथा शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा दिनुभयो र उहाको स्थानमा अहिले एमालेकै रघुजी पन्त आउनुभएको छ ।
सर्वोच्च अदालतले शिक्षकहरुलाई तीनदिन भित्र विद्यालयमा फर्कने वातावरण तयार पार्नू भनेर शिक्षा मन्त्रालयका नाममा आदेश दिएको पनि आज तीन दिन पुगेको छ । सर्वोच्च अदालतले सो आदेश पालना गर्ने क्रममा आजसम्म सरकारबाट भएका प्रगति विवरण पनि अदालतमा बुझाउन भनेको थियो । तर सर्वोच्चमा प्रगति विवरण बुझाउने बेलामा शान्तिपूर्ण सत्याग्रहमा सहभागी गुरुहरुलाई चिसो पानीको फोहोराले हानेर भड्काएको दाग सरकारमाथि लाग्न गएको छ ।


















