Prakash Adhikari April 30, 2025
काठमाडौँ, १७ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताउनुभएको छ । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उहाँले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिनुभएको हो ।
वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनइएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुभएको थियो ।
साथै महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी सहभागी भएको थियो ।

आजको मन्त्रिपरिषद् बैठक महत्वपूर्ण

यसैबीच नेपाल शिक्षक महासंघले आफ्ना माग सम्बोधन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएको छ ।

मंगलबार रातिसम्म शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रिपरिषदबाट हल गर्न सकिने बुँदाहरूबारे छलफल भएको यसबारे निर्णय लिन बुधबार मन्त्रिपरिषद् बैठक बस्ने जवाफ सरकारले दिएको वार्तामा सहभागी महासघका अध्यक्ष एवं आन्दोलन परिचालन संयोजक लक्ष्मीकिशोर सुवेदीले बताउनुभएको छ ।

उहाँले सरकारको निर्णय नआउदासम्म आन्दोलन कायमै रहने र कक्षा १२ को परीक्षाबारे महासंघ गम्भीर रहेको बताउनुभयो ।

वार्ताका दौरान शिक्षामन्त्री रघुजी पन्तले साझा मिलनबिन्दु खोजेर सहमतिको प्रयास गरिने बताउनुभएको अध्यक्ष सुवेदीले बताउनुभएको छ ।

सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेकामा आज पुनः वार्ता भएको हो ।
शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।
Share Now