Prakash Adhikari April 29, 2025

-जेम्स चेटर /बीबीसी न्यूज, सिड्नी

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले व्यापार तनाव बढ्दै जाँदा अर्को महिना हुने चुनावमा जितेमा महत्त्वपूर्ण खनिजहरूको रणनीतिक भण्डारमा १.२ अर्ब अस्ट्रेलियाली डलर लगानी गर्ने वाचा गर्नुभएको छ ।

चीनले विद्युतीय सवारी साधन, लडाकु विमान र रोबटसहित उन्नत प्रविधिको उत्पादनका लागि आवश्यक सातवटा ‘रेअर अर्थ’ पदार्थहरूमा निर्यात प्रतिबन्ध लगाएपछि उनको यो घोषणा आएको हो।

चीनको प्रतिबन्ध सबै देशहरूका हकमा लागु हुने भए तापनि यसलाई व्यापक रूपमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढाएको आयात शुल्कको बदलाको रूपमा हेरिएको छ।

अल्बनेजीका अनुसार अस्ट्रेलियाले आफ्नो र आफ्ना साझेदारहरूको सुरक्षाको लागि महत्त्वपूर्ण खनिजहरूलाई प्राथमिकता दिनेछ। त्यसमा ‘रेअर अर्थ’हरू पनि समावेश छन्।

तर के अस्ट्रेलियाका प्रधानमन्त्रीको उक्त योजनाले चीनको प्रभुत्वलाई चुनौती दिन सक्छ?

‘रेअर अर्थ’ खनिजहरू के हुन् र ती किन महत्त्वपूर्ण छन्?

रासायनिक समानता भएका १७ वटा तत्त्वहरू ‘रेअर अर्थ’ वर्गमा पर्छन्। तिनलाई निकाल्न र परिष्कृत गर्न निकै नै कठिन हुनुले यी “दुर्लभ” मानिन्छन्।

सामारियम र टर्बियम जस्ता ‘रेअर अर्थ’हरू आउँदा दशकमा संसारलाई नयाँ स्वरूप दिन सक्ने ठानिएका प्रविधिका उत्पादनको लागि महत्त्वपूर्ण छन्।

त्यस्ता प्रविधिमा विद्युतीय सवारी साधन र उच्च उन्नत हतियार प्रणालीहरू समावेश छन्।

अल्बनेजीको प्रस्तावित भण्डारमा ‘रेअर अर्थ’का साथै अन्य महत्त्वपूर्ण खनिजहरू समावेश छन्। जस्तो लिथियम र कोबाल्टको समेत अस्ट्रेलिया शीर्ष उत्पादक हो।

चीन र अस्ट्रेलिया दुवैसँग ‘रेअर अर्थ’को भण्डार छ। तर प्रविधिमा प्रयोग हुन सक्ने गरी ‘रेअर अर्थ’को प्रशोधनको ९० प्रतिशत काम चीनमा हुन्छ।

जसले गर्दा चीनलाई यस्ता पदार्थको उल्लेख्य आपूर्ति गर्नमा एकाधिकार दिएको छ र त्यसका कारण पश्चिमा सरकारहरू समेत चिन्तित बनेका छन्।

बेइजिङले ट्रम्पले अमेरिकामा चीनबाट हुने आयातमा लगाएको व्यापक शुल्कको प्रतिक्रिया स्वरूप ‘रेअर अर्थ’माथिको प्रतिबन्ध लगाएको जनाएको छ। त्यस्तो भन्सार शुल्क हाल १४५ प्रतिशत छ।

तर खासगरी बेइजिङसँगको कूटनीतिक तनाव गहिरो हुँदै जाँदा ‘रेअर अर्थ’को आपूर्ति सुरक्षित गर्न वाशिङ्टनको असक्षमता ट्रम्प प्रशासनको प्रमुख चिन्तामध्ये एक बनेको विश्लेषकहरू ठान्छन्।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सन् २०१९ र सन् २०२२ को बीचमा अमेरिकामा ‘रेअर अर्थ’को झण्डै ७५ प्रतिशत आयात चीनबाट भएको थियो।

पश्चिम अस्ट्रेलियाको पर्थस्थित आइरन ओर रिसर्चका निर्देशक फिलिप किर्च्लेचनरले बीबीसीलाई बताए अनुसार अमेरिका र युरोपेली सङ्घ ईयूले हालैका दशकहरूमा ‘रेअर अर्थ’को महत्त्वलाई पहिचान गर्नमा गल्ती गरेका छन् जसले गर्दा चीनले द्रुत गतिमा त्यसको प्रशोधनमा एकाधिकार विकास गरेको छ।

“चीनको खुट्टा अमेरिकी र युरोपेली रक्षा प्रणालीको रक्तनलीमा छ…,” उहाँले थप्नुभयो ।

टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कले गत साता बताए अनुसार चीनले उन्नत चुम्बकहरूमा प्रयोग हुने ‘रेअर अर्थ’को निर्यात रोक्दा उक्त कम्पनीको मानवजस्ता रोबोट विकास गर्ने क्षमतामा असर परिरहेको छ।

यी बेइजिङले अमेरिकी कम्पनीहरूलाई दिने पीडाको प्रारम्भिक झल्को हो।

के अस्ट्रेलियाको प्रस्तावले कायापलट गर्न सक्छ?

अल्बनेजीको यस प्रस्तावमा प्रयोगबिनै राखिएका ती खनिजहरू “घरेलु उद्योग र अन्तर्राष्ट्रिय साझेदारहरू” दुवैलाई उपलब्ध हुने भनिएको छ। त्यो सम्भवतः अमेरिका र ईयू जस्ता सहयोगीहरूलाई इङ्गित गर्दै ल्याइएको हो।

किर्च्लेचनर यस कदमलाई “धेरैअघि गर्नुपर्ने काम” भनेर स्वागत गर्छन्। उनले उक्त प्रस्तावले “समस्या समाधान नगर्ने” समेत बताउनुभयो ।

आधारभूत रूपमा हेर्दा अस्ट्रेलियाले थप महत्त्वपूर्ण खनिजहरू भण्डार गर्‍यो भने पनि ‘रेअर अर्थ’हरूको प्रशोधन प्रक्रिया अझै पनि धेरै हदसम्म चीनमा नियन्त्रित हुनेछ।

उदाहरणका रूपमा लिथियम ‘रेअर अर्थ’ नभए तापनि विद्युतीय सवारी साधनको ब्याट्री र सौर्य प्यानल उत्पादनमा एक महत्त्वपूर्ण धातु हुो।

अस्ट्रेलियामा विश्वको लिथियमको ३३ प्रतिशत उत्खनन हुन्छ। तर उसले त्यसको सानो अंश मात्र प्रशोधन गरेर निर्यात गर्छ।

अर्कोतर्फ चीनले विश्वको लिथियमको २३ प्रतिशत मात्र उत्खनन गरे तापनि त्यसको ५७ प्रतिशत प्रशोधन गर्ने अन्तर्राष्ट्रिय ऊर्जा निकायको विवरण छ।

अस्ट्रेलियाले भविष्यमा ‘मेड इन अस्ट्रेलिया’ योजनाको एक अंशको रूपमा ‘रेअर अर्थ’हरू प्रशोधनमा लगानी गरिरहेको छ।

त्यसको उद्देश्य हरित सङ्क्रमणलाई अगाडि बढाउन देशको महत्त्वपूर्ण खनिज भण्डारहरूको लाभ उठाउनु रहेको छ।

पर्थमै मुख्यालय रहेको अराफुरा रेअर अर्थ्सले गत वर्ष ‘रेअर अर्थ’को लागि देशको पहिलो संयुक्त खानी र रिफाइनरी बनाउन ८४० मिलियन अस्ट्रेलियाली डलर बराबरको रकम प्राप्त गरेको थियो।

र नोभेम्बरमा अस्ट्रेलियाले आफ्नो पहिलो ‘रेअर अर्थ’ प्रशोधन प्लान्ट खोल्यो जुन लिनास रेअर अर्थ्सद्वारा पश्चिम अस्ट्रेलियामा पनि सञ्चालित छ।

तर वाशिङ्टनमा मुख्यालय रहेको सेन्टर फर स्ट्रटेजिक एण्ड इन्टरन्याश्नल स्टडीजका अनुसार अस्ट्रेलिया कम्तीमा सन् २०२६ सम्म प्रशोधनको लागि चीनमा निर्भर रहने अपेक्षा गरिएको छ।

अमेरिका र चीनले के गर्लान्?

चीन ट्रम्पले ल्याएको अस्थिरताको सदुपयोग गर्ने प्रयासमा छ।

अस्ट्रेलियाली पत्रिकाहरूमा आएका शृङ्खलाबद्ध सामग्रीहरूमा क्यानबेराका लागि चीनका राजदूतले विश्वव्यापी व्यापारप्रति वाशिङ्टनको दृष्टिकोणको आलोचना गर्नुभयो । जसक्रममा उहाँले। अस्ट्रेलियालाई बेइजिङसँग “हात मिलाउन” आह्वान गरे तापनि अल्बनेजीले त्यसलाई तत्काल अस्वीकार गर्नुभयो ।

अस्ट्रेलियाले ट्रम्पसँगको वार्तामा आफ्नो स्रोतहरूको उद्योगमा जोड दिएको छ।

धेरैजसो अस्ट्रेलियाली उत्पादनहरूको आयातमा उसले लगाएको १० प्रतिशत भन्सारबाट केही महत्त्वपूर्ण खनिजहरूलाई छुट दिइएको थियो।

अल्बनेजीको प्रस्ताव मुख्यत: अस्ट्रेलिया र यसका साझेदारहरूलाई चीनजस्ता रणनीतिक प्रतिद्वन्द्वीबाट जोगाउने उद्देश्यले गरिएको विश्लेषकहरू ठान्छन्।

नाटिक्सिसमा एशिया-प्रशान्त क्षेत्रका लागि प्रमुख अर्थशास्त्री एलिसिया गार्सिया-हेरेरोले बीबीसीलाई बताए अनुसार अल्बनेजीको योजना अघिल्ला प्रस्तावहरू भन्दा “बढी परिष्कृत” थियो।

उहाँका अनुसार यसमा आर्थिक तनावको क्षणमा अस्ट्रेलियाको स्रोतहरू बेच्ने क्षमता समावेश थियो।

यदि चीनले निर्यात प्रतिबन्धहरू लागू गरेमा अस्ट्रेलियाले विश्वव्यापी बजारमा मूल्यहरू कम गर्न मद्दत गर्न र मूल्यहरू निर्धारणमा चीनको नियन्त्रणलाई खुकुलो पार्न आफ्नो खनिज भण्डारहरू बेच्न सुरु गर्न सक्छ।

तर उहाँले अस्ट्रेलियाले अझै पनि चीनलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने बताउनुभयो ।

Share Now