काठमाडौँ, २३ वैशाख । मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उहाँको अन्त्यष्टि गरिनेछ ।
यसअघि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । नेपालको आजै सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
पूर्वमन्त्री नेपालकेही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
विसं २०५० को दशकमा नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त र वरिष्ठ नेता नेपाल नेकपा (एमाले)भित्र निर्णायक र प्रभावशाली हुनुहुन्थ्यो ।
एमालेको सचिवालय सदस्य, स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख भई काम गर्नुभएका नेता नेपालले पार्टी सुदृढीकरण र सङ्गठन विस्तारमा अतुलनीय योगदान पुर्याउनुभएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो । यसैगरी उहाँले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।
एमालेको पोलिटब्युरो सदस्य रहिसक्नुभएका उहाँले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउदै आउनुभएको थियो । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गर्नुभएको थियो ।
उहाँ २०५६ सालमा काठमाडौ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने त्यसअघि राष्ट्रियसभा सदस्य रहनुभएको थियो ।
नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक हुनुभएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय हुुनुहुन्थ्यो । भूमिगत कालमा उहाँ सञ्जय थापाका नाममा परिचित हुनुहुन्थ्यो ।
नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा भएको थियो ।


















