-अनबरसन एथिराजन र टिफनी वर्ट्हाइमर
दक्षिण एशिया सम्पादक र बीबीसी न्यूज
लण्डन(संयुक्त अधिराज्य), २५ वैशाख । भारतले आफ्नो भूमिबाट बग्ने पानी अन्तर्राष्ट्रिय सीमापारि जान नदिने घोषणा गरेको छ।
“अब भारतको पानी भारतको फाइदाका लागि बग्ने छ, भारतको फाइदाका लागि संरक्षण गरिने छ र त्यसको उपयोग भारतको प्रगतिका लागि गरिने छ”, प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार भन्नुभयो। तर त्यस क्रममा उहाँले पाकिस्तानको नाम किटान गर्नुभएन।
उहाँको यो टिप्पणी भारतले ६५ वर्ष पुरानो पानी बाँडफाँट सन्धि निलम्बन गरेको करिब दुई साता पछि आएको छ। गत महिना भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध निकै बिग्रिएको छ।
भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गर्ने गरेको आरोप लगाउने गरेको छ। तर पाकिस्तानले त्यसको खण्डन गर्दै आएको छ।
मङ्गलवार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा क्षेप्यास्त्र हमला गरेको छ। पाकिस्तानी सेनाका अनुसार भारतीय आक्रमणका परी कैयौँ सर्वसाधारण मानिस हताहत भएका छन्। भारतले पाकिस्तानले गरेको गोलाबारीका कारण आफ्नो भूमिमा कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ।
भारतबाट बग्ने नदीको महत्त्व

भारतबाट पाकिस्तानतिर बग्ने एउटा नदीः भारतले नदीको प्रवाह रोकेको अवस्थामा सुक्खा मौसममा पाकिस्तानमा गम्भीर असर पुग्न सक्छ
भारतबाट पाकिस्तानतर्फ केही नदीहरू बग्छन्।
ती नदीबाट पाकिस्तानपट्टि ८० प्रतिशतजति भूमिमा आवश्यक सिँचाइ गरिन्छ।
पाकिस्तानी नेताहरूले यस अघि पानी रोक्ने कुनै पनि प्रयत्नलाई ‘युद्धको कारबाही मानिने’ बताएका थिए।
सन् १९६० मा भारत र पाकिस्तानबिच सिन्धु जल सन्धि (आईडब्ल्यूटी) भएको थियो। त्यसले सिन्धु बेसिनमा भएका छवटा नदीको जल बाँडफाँटलाई निर्देशित गर्दै आएको थियो।
यसअघि लडाइँ र सैन्य द्वन्द्व चर्किँदा उक्त सन्धि अप्रभावित रहने गर्थ्यो। उक्त सन्धिलाई दुई देशको सीमावारपार जल व्यवस्थापनको एउटा उदाहरणका रूपमा हेर्ने गरिएको थियो।
तर पहलगाम घटनामा २६ जनाको मृत्यु भएपछि मोदीले सिन्धु जल सन्धि निलम्बन गरिदिनु भयो।
प्रधानमन्त्रीले बढी भएको पानी भारतले कसरी प्रयोग गर्ने योजना बनाएको छ भन्ने विस्तृतमा बताउनु भएन।
तर विज्ञहरू भारतले आफू भूमिबाट बाहिर जाने पानी सङ्ग्रह गर्न थप बाँध, जलाशय र तालहरू बनाउनुपर्ने र त्यसका लागि समय लाग्ने औँल्याएका छन्।
परमाणु शक्ति सम्पन्न दुई देशबीचको तनाव अहिले उत्कर्षमा पुग्दा संयुक्त राज्य अमेरिकाले दुवैलाई शान्ति कायम गर्न फेरि आह्वान गरेको छ।
“हामी दुवै देशलाई जिम्मेवारीपूर्वक समाधान खोज्न र दीर्घकालीन शान्ति तथा क्षेत्रीय स्थिरता कायम गर्न पाकिस्तान र भारतलाई निरन्तर आग्रह गर्छौँ”, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले मङ्गलवार अपराह्ण सञ्चारकर्मीहरूसँग भन्नुभएको छ।


















