Prakash Adhikari May 7, 2025

इस्लामावाद(पाकिस्तान), २४ वैशाख । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतले मङ्गलवार राति थालेको क्षेप्यास्त्र हमलालाई जघन्य अपराध भन्दै त्यसको निन्दा गरेको छ। समितले पाकिस्तानी सार्वभौमसत्तामाथि भारतले धावा बोलेको निष्कर्ष निकालेको छ।

संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ५१ उद्धृत गर्दै पाकिस्तानले आफ्नो प्रतिरक्षा गर्न पाउने अधिकार आफूसँग भएको बताएको छ। पाकिस्तानका सैन्य बलहरूलाई भारतलाई जबाफ दिने गरी कारबाही गर्न पाउने अधिकार दिइएको उसले बताएको छ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले समितिको बैठकको अध्यक्षता गर्नुभएको थियो।

समितिको बैठकपछि प्रकाशित विज्ञप्तिमा पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान र ड्रोन खसालिएको दाबी गरेको छ।

पाकिस्तानी भूमिमा आतङ्ककारीहरूका शिविरहरू भएको भारतीय आरोपको पाकिस्तानले फेरि खण्डन गरेको छ।

भारतीय कूटनीतिज्ञलाई बोलाएर असन्तुष्टि व्यक्त

भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेको बेला पाकिस्तानले इस्लामाबादस्थित भारतीय कूटनीतिक नियोगका उपप्रमुखलाई बोलाएर ‘बिनाउक्साहट’ भारतबाट पाकिस्तानी भूमिमा हवाई हमला भएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

“ती हमलामा परी कैयौँ सर्वसाधारण मानिसको मृत्यु भएको छ, तीमध्ये महिला र बालबालिका पनि छन्”, पाकिस्तानको विदेश मन्त्रालयले सार्वजनिक गरेको एउटा विज्ञप्तिमा उल्लेख छ।

उसले भारतीय कारबाहीबाट पाकिस्तानको सार्वभौमसत्ताको अनादर हुन पुगेको आरोप पनि लगाएको छ।

“त्यस्तो दुस्साहसपूर्ण व्यवहारले क्षेत्रीय शान्ति र स्थिरतामाथि गम्भीर खतरा पुग्छ”, इस्लामाबादले भनेको छ।

२६ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते

पाकिस्तानी सेनाले भारतीय हमलामा परेर आफ्नो देशमा कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको जनाएको छ।

सेनाका प्रवक्ता लेफ्टिनन्ट जेनरल अहमद शरीफ चौधरीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरी ६ स्थानमा हमला भएको बताउँदै त्यस क्रममा कम्तीमा ४६ जना घाइते भएको समेत बताउनुभयो।

इस्लामाबादले ‘भारतीय हमलाको बदला लिने बताउँदै पाँच वटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालिदिएको’ समेत दाबी गरेको छ। हालसम्म भारतले उक्त दाबीका सम्बन्धमा कुनै टिप्पणी गरेको छैन। भारत प्रशासित कश्मीरमा समेत कैयौँ नागरिक हताहत भएको विवरण आएका छन्। दुवैतर्फबाट विवादित सीमावारपार भीषण गोलाबारी चलिरहेको बताइएको छ।
हमलाबारे पाकिस्तान सरकारको आक्रोशपूर्ण प्रतिक्रिया

भारतले गरेको क्षेप्यास्त्र आक्रमणबारे प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले त्यसलाई कायरतापूर्ण कार्यको सङ्ज्ञा दिनुभएको छ।

एउटा विज्ञप्ति जारी गर्दै उहाँले पाकिस्तानले बदला लिने पनि बताउनुभएको छ।

पाकिस्तान सरकारले भारतीय हमलामा कम्तीमा आठ जनाको ज्यान गएको बताएको छ।

शरिफको भनाई

“शत्रुले पाकिस्तानभित्रका पाँच स्थानमा कायरतापूर्ण हमला गरेको छ। यो दूष्टतापूर्ण आक्रामक कारबाहीको जबाफ दिइने छ”, प्रधानमन्त्री शरिफले भन्नुभएको छ, “बिनाउक्साहट गरिएको भारतीय हमलाका विरुद्ध निर्णायक प्रतिक्रिया दिने स्पष्ट अधिकार पाकिस्तानसँग छ – दृढ प्रतिक्रिया दिइँदै छ।”

उहाँले सम्पूर्ण देश आफ्नो सैन्य फौजका पछाडि एकताबद्ध भएको अनि देशको मनोबल र इच्छाशक्ति उच्च रहेको पनि बताउनुभएको छ।

“शत्रुलाई उसको दुर्भावनापूर्ण उद्देश्य हासिल गर्न कदापि दिइने छैन।”

भारतले के भन्यो

भारत सरकारले जारी गरेको विज्ञप्तिमा उसले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही सुरु गरेको उल्लेख छ।

उसले एप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा ‘आतङ्कवादीहरूले पर्यटकमाथि हमला गरेर २६ जनाको ज्यान लिएको घटनाको बदलामा’ यो कारबाही गरिएको भनेको छ।

भारतले नौ विभिन्न स्थानहरूलाई निसाना बनाई हमला गरिएको भनेको छ।

तर पाकिस्तानका प्रधानमन्त्री शरिफले चाहिँ पाकिस्तानका पाँच स्थानमा हमला भएको उल्लेख गर्नुभएको छ।

जेट तथा ड्रोन खसालिएको दाबी

दिल्लीले आफूले ‘आतङ्ककारी संरचना’लाई निसाना बनाएको बताएको छ।

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले कैयौँ भारतीय जेट तथा एक ड्रोनलाई खसालिएको दाबी गर्नुभएको छ। यसबारे भारतले कुनै टिप्पणी गरेको छैन।

पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले बीबीसी उर्दूसँग कुरा गर्दै भारतले आतङ्ककारीहरूको स्थलमा प्रहार गरेको दाबीलाई अस्वीकार गर्नुभएको छ।

“म अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भन्न चाहन्छु कि उनीहरू स्वयं यहाँ आएर हेरून् ( ती आतङ्ककारीका थलो हुन् वा गैरसैनिक नागरिकहरू बस्ने (इलाका) हुन्”, उहाँले भन्नुभयो।

ध्वस्त भएका संरचनामा दुइटा मस्जिद समेत रहेको उनले बताए। साथै मारिएकामध्ये एक बच्चा र एक महिला भएको उहाँले बताउनुभयो ।

उहाँले भारतले ७ ठाउँमा आक्रमण गरेको जसमध्ये ‘२ वटा कश्मीरमा र ५ वटा पाकिस्तानमा रहेको बताउनुभयो।’

पाकिस्तानको राजनीतिक दल पिपल्स पार्टीका अध्यक्ष बिलावल भुट्टोले भारतीय आक्रमणको निन्दा गर्दै त्यसको जवाफ दिइने प्रतिक्रिया दिनुभएको छ।

Share Now