Prakash Adhikari May 8, 2025

 

काठमाडौं, २५ वैशाख । नेपाली कांग्रेसका सांसद एवम् सुशासन तथा राज्य व्यववस्था समितिका सभापति रामहरि खतिवडाले भारतले थालेको आतंकवादविरुद्धको लडाइँलाई नेपालले साथ दिनुपर्ने बताउनुभएको छ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले आतंकवाद विश्वको साझा चुनौती भएको भन्दै त्यसविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

पाकिस्तानी भूभागबाट भारतको सीमावर्ति क्षेत्रमा भइरहेका आतंकवादी घटनामा संलग्न तत्वहरुविरुद्ध भारतले सुरु गरेको कारबाहीलाई नेपालले नि:शर्त रुपमा दह्रो समर्थन दिनुपर्ने पनि उहाँले बताउनुभयो ।

केही हप्ता अगाडि भारतको कश्मिरको पहलगाममा एक पर्यटकीय .बसमा आतंककारीहरुले अन्धाधुन्द गोली प्रहार गरेर २६ जना पर्यटकको जीवन लिएका थिए । सो आक्रमणमा आमा, बहिनी र ज्वाईँलाई लिएर कश्मिरको सुन्दरता अवलोकन भ्रमणमा गएका बुटवलका सुदीप न्यौपानेले पनि जीवन गुमाउनु परेको थियो ।

सांसद खतिवडाले भन्नुभयो ‘आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ ।’

नेपालमा रहेका भारतका मित्रहरुले आतंकवाद उन्मूलनको लागि भारतले थालेको लडाँईलाई दह्रो समर्थन गर्दै भनेका छन्,”अपरेशन सिन्दूर अन्तर्गत आतंककारीहरूलाई समाप्त पार्न पाकिस्तानका नौ स्थानमा भारतले गरेको उच्चस्तरीय आक्रमणलाई हामी दृढतापूर्वक समर्थन गर्छौं।”

उनीहरुले भारतीय आक्रमणले भारतीय भूमिमा प्रयोग हुने पाकिस्तानी आतंकवादी समूहहरूको आधारहरू ध्वस्त पारेको उल्लेख गर्दै कश्मीरको पहलगाममा हालै भएको आतंकवादी आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेको मृत्यु भएको दुःखद घट्नाको पनि स्मरण गरेका छन् ।

उनीहरुले भनेका छन्, “आतंकवादी कार्यहरू सबै प्रकारका मानवता विरुद्ध छन् र तिनीहरूलाई बिना शर्त कुल्चिनुपर्छ।”

Share Now