बैंकक(थाइल्याण्ड), ६ वैशाख । आइसीसी महिला टी ट्वान्टी वल्ड कप एसिया क्वालिफायर अन्तरगत आजदेखि थाइल्यान्डको बैंककमा सुरु हुने नेपाल र हंगकंगबीचको खेल रद्द भएको छ।
हिजो राति परेको पानीको कारण आउट फिल्ड भिजेको छ। वेट आउट फिल्डको कारण खेल टस नभईकन रद्द भएको हो। खेल बिहान ८ः४५ बजे सुरू हुने समयतालिका थियो ।
यो क्वालिफायरमा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् ।
समुह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ। सबै टोलीले आनो समुहमा रहेको टिमसँग दुई पटक खेल्नेछन्। समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ । सुपर थ्रीबाट शीर्ष दुईमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउन सफल हुनेछ ।
टि ट्वान्टी आईको पछिल्लो पाँच भेटमा नेपालले हङकङलाई २ खेलमा हराउँदा हङकङ पनि समान खेलमा नै विजयी भएको छ । एक खेल भने बर्षाका कारण रद्द भएको थियो।
आजको खेल रद्द भएकोले नेपाल र हंगकंगले अंक बाँडेका छन् । अब नेपाल र हंगकंग दुवैले बहराइनसंग खेल्न बाँकी छ । क्रिकेटमा उस्तो चर्चामा नरहेको बहराइनलाई दुवैले हराउने संभावना छ । यसो भएमा रन रेटले अगाडिको यात्रा तय गर्ने छ । यसले नेपालले आउँदो खेलमा पूरा शक्ति लगाएर खेल्नुपर्ने अवस्था छ ।


















