Prakash Adhikari May 9, 2025

 

काठमाडौं, २६ वैशाख । आज भैरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश गर्न रोक लगाइएको छ।

थापा साधारण सभामा भाग लिने बिहानै सभास्थल धुलिखेल पुग्नुभएको थियो। उहाँलाई सुरक्षाकर्मीले मुख्य गेटमा नै रोकिदिए।

थापा अदालतको कागजात सहित जानुभएको थियो। तर उहाँसँग साधारण सभाको लागि एन्फाले जारी गरेको पास थिएन। सोही पास नभएको भन्दै उहाँ र छोरा गौरव थापालाई प्रवेश दिइएन।

थापालाई प्रवेश गर्न दिनुपछ र दिनु हुँदैन भन्नेबीचको भनाभनले त्यहाँ केहिबेर स्थिति तनावपूर्ण बनेको थियो।

झण्डै १० बर्षपछि फुटबल क्षेत्रमा सक्रिय हुन लागेका थापा साधारण सभामा प्रवेश नपाएपछि निकै आक्रोसित बन्नुभएको थियो । उहाँले अदालतको निर्णय कि मान्छु भन्नुपर्यो कि मान्दिन भन्नुपर्यो भन्दै एन्फाका संस्थापन पक्षसंग जवाफ माग्नुभएको थियो । तर उदघाटन सत्रमा उहाँलाई प्रवेश दिइएन। उहाँ सभाहलमा पस्न पाउनुभएको छैन् ।

एन्फा साधारण सभाका लागि थापालाई सि डिभिजन क्लब आरसी ३२ ले आफ्नो प्रतिनिधि चयन गरेको थियो।

थापालाई एन्फाका वर्तमान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाहीले साथ दिनुभएको छ।

थापा सन् २०१५ अप्रिल १६ देखि फिफाले लगाएको प्रतिबन्धका कारण निष्क्रिय हुनुहुन्थ्यो।

२०२५ अप्रिल १५ मा प्रतिबन्ध अवधि सकिएपछि उहाँ पुनः नेपाली फुटबल गतिविधिमा सक्रिय हुँदै आउनुभएको छ ।

Share Now