Prakash Adhikari May 11, 2025

फणीन्द्र दाहाल
संवाददाता, बीबीसी न्यूज नेपाली
काठमाडौं, २८ वैशाख । कीर्तिपुरमा टिनले छाएको अस्थायी टहरामा बसेर सिर्जना बस्नेतले रुसी सेनामा काम गर्न गएका आफ्ना श्रीमान्‌को आधिकारिक खबर महिनौँ कुर्नुभयो।

नेपाली सेनाको जागिर छाडेर रुसी सेनामा भर्ना हुनुभएका उहाँका श्रीमान् विनोदबहादुर सुनुवार अघिल्लो वर्ष रुस(युक्रेन लडाइँमा मारिएको खबर आएको थियो।

त्यसैका आधारमा आफ्ना पतिको अन्तिम संस्कार गर्नुभएकी सिर्जना राहत र क्षतिपूर्ति रकम दाबी गर्न मस्को जान चाहनुहुन्छ।

सरकारी विवरण अनुसार झन्डै डेढ दर्जन नेपाली परिवार क्षतिपूर्ति लिन र आफन्त खोज्न अहिले मस्को पुगेका छन्।

तर सिर्जना र उहाँजस्ता कैयौँ अरू रुस पुगेका परिवारहरूले ल्याउने खबर कुरिरहनुभएको छ।

कुशको शवको अन्त्येष्टि तर आधिकारिक खबरको पर्खाइ

मध्य अफ्रिकी गणतन्त्रमा एक वर्ष शान्ति सैनिकको रूपमा काम गरेर फर्किएपछि विनोदले नेपाली सेनाको जागिर छोड्नुभयो। राम्रो आम्दानी हुने अपेक्षामा उहाँ सन् २०२३ मा रुसी सेनामा भर्ना हुन जानुभएको थियो।

एक वर्ष रुसको सेनामा काम गरेपछि सुनुवारले रुसको नागरिकता लिनुभयो। त्यो बेला उहाँले चाँडै नेपाल फर्किएर परिवारका सदस्यलाई पनि रुस घुमाउन लैजान चाहेको सिर्जनालाई सुनाउनुभएको थियो।

तर गएको नोभेम्बरमा उहाँ एकाएक सम्पर्कविहीन हुनुभयो। प्रत्यक्ष लडाइँको मोर्चामा खटिएको समयबाहेक हरेक दिनजसो आफ्नो परिवारलाई फोन वा ह्वाट्स्यापमार्फत् सम्पर्क गर्ने गरेका विनोदको मेसेज आउन बन्द भयो।

तीन हप्तासम्म आफ्ना पतिसँग कुरा हुन नसकेपछि सिर्जनाको मनमा चिसो पस्यो अनि उहाँले विनोदको खोजीका लागि विभिन्न निकायको दैलो ढकढक्याउनु भयो।

“रेडक्रस, रुसी राजदूतावास र नेपालका सरकारी निकाय सबैमा गएँ तर केही पत्ता लागेन। रुसी सेनामा रहेका एकजना भाइले कमान्डरसँग कुरा गर्दा नराम्रो खबर पाइयो भनेर मलाई सहयोग गरिरहनुभएकी एकजना बहिनी (जसका देवर युक्रेनको कब्जामा छन्ला)ई एउटा कुराकानीको स्क्रिनसट पठाउनुभयो।”

उक्त सूचना पाएको भोलिपल्ट परिवारका सदस्यहरू जम्मा भए र पर्सिपल्ट धार्मिक परम्पराअनुसार विनोदको अन्तिम संस्कार गरियो। ओखलढुङ्गामा रहेका बुवालाई गाउँबाट काठमाडौं झिकाइयो।

“उहाँको खबर पाउन हामी तड्पिरहेका थियौँ। उक्त सन्देशकै आधारमा हामीले काजक्रिया गर्‍यौँ।”

सिर्जनाले बीबीसीसँग भन्नुभयो, “परिवारको आर्थिक अवस्थाकै कारण उहाँ रुस जानुभयो र त्यसैका कारण उहाँको ज्यान गयो। हामीलाई त्यहाँ पुगेर क्षतिपूर्ति लिनका लागि रुस सरकार र नेपाल सरकारले चाँडै व्यवस्था मिलाइदिओस्।”

यो परिवारले अझै पनि उक्तको मृत्युको आधिकारिक पुष्टि हुने जानकारी रुसबाट प्रतीक्षा गरिरहेको छ।

रुसी सेनामा रहेका नेपालीको उद्धार तथा पीडित परिवारलाई राहत एवं क्षतिपूर्ति दिलाउन चलाइएको एउटा अभियानकी संयोजक कृतु भण्डारीले रुसले मृत्यु प्रमाणित नगर्दासम्म पीडित परिवारलाई क्षतिपूर्ति पाउन कठिन हुने बताउनुभयो।

भण्डारीले भन्नुभयो, “कति जनाको मृत्यु भएको डेढ वर्ष भयो। परिवारले काजकिरिया गरिसक्नुभयो। तर अझै मृत्यु स्थापित भएको छैन। त्यो नहुँदासम्म क्षतिपूर्तिको प्रक्रिया अघि बढ्दैन।”

परिवारको आर्थिक अवस्थाकै कारण उहाँ रुस जानुभयो र त्यसैका कारण उहाँको ज्यान गयो। हामीलाई त्यहाँ पुगेर क्षतिपूर्ति लिनका लागि रुस सरकार र नेपाल सरकारले चाँडै व्यवस्था मिलाइदिओस्
सिर्जना बस्नेत
विनोद बहादुर सुनुवारकी पत्नी

यस्तोमा सिर्जना र उनको परिवारका सदस्य के गर्ने भन्ने अन्योलमा छन्।

उहाँले भन्नुभयो, “अहिलेसम्म यो लास, यो सास भन्ने पनि छैन। आफ्नो देशको कुरा भएको भए हरेक कुनाकाप्चामा खोजेर छिटो थाहा पाइन्थ्यो होला। तर अर्काको ठाउँमा कसलाई समाउने, के गर्ने, कस्तो गाह्रो भइरहेको छ।”

क्षतिपूर्ति दाबी गर्न र आफन्त खोज्न रुस जाँदै नेपाली परिवार

नेपाली अधिकारीहरूले गएको पुसबाट हराइरहेका आफन्तको खोजी गर्न र ज्यान गुमाएका आफन्तको क्षतिपूर्ति माग गर्न रुस जान चाहनेका लागि आफूहरूले यात्रा अनुमतिपत्र प्रदान गरेर सहजीकरण गरिरहेको बताउँछन्।

रुसी सेनामा आबद्ध कम्तीमा ६५ जना नेपालीले ज्यान गुमाएका सरकारी आँकडा रहेको छ। बेपत्ता रहेका नेपालीको सङ्ख्या १०० भन्दा बढी रहेको ठानिन्छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले रुसमा नै गएर क्षतिपूर्ति प्राप्त गर्ने र बेपत्ताको खोजी गर्नका लागि नेपाली परिवारका लागि कन्सुलर विभागले सहयोग अनि सहजीकरण गर्दै आएको बताउनुभयो।

उहाँले भन्नुभयो,ूपरराष्ट्र मन्त्रालयले के सहयोग गर्नुपर्छ, त्यो हामीले गरिरहेका छौँ। अझ सहज ढङ्गले त्यो प्राप्तिका लागि पनि हामीले पहल गरिरहेका छौँ।ू

कन्सुलर सेवा विभागका निर्देशक लेखनाथ गौतमका अनुसार अहिलेसम्म १८ जनाका परिवारले रुस जान अनुमति लिएका छन्। त्यसमध्ये ११ जना मृतकका आफन्त रहेको र सातजना बेपत्ताका आफन्त रहेका उहाँले बताउनुभयो ।

रुसले सबैभन्दा नजिकको नातेदार खोज्ने हुँदा मस्को जान अनुमति लिनेमध्ये अधिकांश पीडितका श्रीमतीहरू रहेको उहाँले बताउनुभयो।

बीबीसीले कुरा गरेका एक सरकारी अधिकारीले रुस गएर राहत लिने प्रक्रियाले हप्तौँ समय लिने भएकाले मस्को पुगेका कतिपयको हकमा प्रक्रिया सुरु मात्र भएको उल्लेख गर्नुभयो।

परराष्ट्र मन्त्रालयले के सहयोग गर्नुपर्छ, त्यो हामीले गरिरहेका छौँ। अझ सहज ढङ्गले त्यो प्राप्तिका लागि पनि हामीले पहल गरिरहेका छौँ

परराष्ट्र मन्त्रालयले के सहयोग गर्नुपर्छ, त्यो हामीले गरिरहेका छौँ। अझ सहज ढङ्गले त्यो प्राप्तिका लागि पनि हामीले पहल गरिरहेका छौँ
कृष्णप्रसाद ढकाल
प्रवक्ता, परराष्ट्र मन्त्रालय

नाम उल्लेख गर्ने अनुमति नभएको बताउने ती अधिकारीले भने, “रुसले नै सम्बन्धित नातेदारलाई विमान भाडा र यात्रा गर्दा लाग्ने खर्च दिने हामीले बुझेका छौँ। तर निवेदन दिने प्रक्रिया पूरा हुन करिब ३ महिना लाग्दोरहेछ। त्यसपछि मात्रै तीन किस्तामा भुक्तानी दिने कुरा छ जसले थप केही समय लिन्छ। ”

युद्धका कारण रुसमाथि कैयौँ अन्तराष्ट्रिय प्रतिबन्धहरू छन्। त्यहाँबाट अन्य देशमा हुने अन्तरब्याङ्क ट्रान्सफरमा पनि प्रतिबन्ध लागेकाले मस्कोमा परिवारले पाउने क्षतिपूर्ति रकम नेपाल ल्याउने उपायबारे पनि आफूहरू परामर्शमै रहेको नेपाली अधिकारीहरू बताउँछन्।

रुसी सेनामा सुरक्षा निकायका बहालवाला र पूर्व कर्मचारी गएकोबारे नेपालस्थित सम्बन्धित सङ्गठनलाई जानकारी हुँदैन

मस्को पुगेको कम्तीमा एक परिवारले क्षतिपूर्तिबापत दुई किस्ता रकम प्राप्त गरिसकेको र अर्का एकजना पनि क्षतिपूर्ति पाउने क्रममा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बताउनुभयो।

केही समय पहिले मस्को पुग्नुभएकी रुसी सेनामा काम गर्दा ज्यान गुमाएका एक नेपालीकी श्रीमतीले आफूले कागजपत्र बुझाएको र क्षतिपूर्ति कुरिरहेको बताउनुभएको थियो।

उहाँले थप्नुभयो, “आउने जाने र बस्ने खाने सबै खर्च चाहिँ आफ्नै हो। रुस सरकारबाट हामीले पाउने भनेको क्षतिपूर्ति रकम मात्रै हो। रुसी भाषा जान्ने एक जनालाई हामीले लिएर जानुपर्छ। राजदूतावासले अनुवादक खोज्न सघाउने कुरा गर्नु भएको थियो। तर हामीले आफैँ खोजेका हौँ।”

“यहाँको राहदानी लियो भने ३५ हजार रुबल ९५८ हजार रुपैयाँ भन्दा बढी० मासिक भत्ता दिँदोरहेछ। राहदानी लिएपछि त्यो दोहोरो हुने भएकाले मैले नलिने निर्णय गरेँ।”

यात्रा र बसोबासमा झन्डै नौ लाख रुपैयाँ आफूहरूको खर्च भएको उहाँले बताउनुभयो।

नेपालमा नै क्षतिपूर्तिको प्रबन्ध गरिदिन माग

रुस युक्रेन युद्धमा आफ्ना २३ वर्षका भाइ गुमाएका धनुषाका अमित साहलाई राहत र क्षतिपूर्ति लिन रुस पठाउने नेपाल सरकारको कदम उपयुक्त लागेको छैन।

उहाँ भन्नुहुन्छ, “बुवाआमा त्यसै पनि पीडामा हुनुहुन्छ। ‌औषधि खाइरहनुभएको छ। अझ त्यसमाथि रुस जाने कुरा गर्‍यो भने नकारात्मक हुन्छ। मैले त्यो कुरा उहाँहरूलाई भन्न समेत सकिरहेको छैन।”

“भर्ना गर्ने बेलामा नै केही भइहाल्यो भने परिवारलाई क्षतिपूर्ति दिने भनेर सम्झौता गरेको छ। मेरो परिवारलाई जे पाउनुपर्ने हाम्रो सरकारको माध्यमबाट गराइदिनुहोस्।”

सन् २०२२ को जुलाईमा अमितका भाइ अनित उच्च शिक्षाका लागि रुस गएका थिए। ओभरसियर अध्ययन पूरा गरेका अनितलाई रुस पठाउन शिक्षण पेसामा आबद्ध रहेका उहाँका पिताले करिब १० लाख रुपैयाँ खर्च गर्नुभएको थियो।

जनकपुरमा मार्केटिङको काम गरिरहनुभएका अमितका अनुसार पढ्दै खर्च धान्न गाह्रो भएपछि उहाँका भाइ रुसी सेनामा भर्ना हुनुभएको थियो।

उहाँलेले बीबीसीसँग भन्नुभयो, “काम नपाएको समयमा पढाई खर्च जुटाउन गाह्रो हुन्थ्यो भनेर भाइले भन्थ्यो। त्यही बेलामा सेनामा आवेदन खुलेछ। अनि दलालहरूले फकाएका रहेछन्।”

सेनामा भर्ना भएको थाहा भएपछि परिवारले जागिर छाड्न बारम्बार भने पनि भाइले नमानेको अमित बताउनुहुन्छ।

उहाँले थप्नुभयो, “उसले हामीलाई सबै सेवासुविधा राम्रो छ। एक वर्षपछि नागरिकता दिन्छ अनि परिवारलाई पनि लैजान दिन्छ भनेर घरमा धेरै आशा देखायो।”

“बुवाले हाम्रो परिवारबाट सेनामा कोही पनि छैन, तिमी पनि छोड भनेर त्यो बेला भन्नुभएको थियो। उसले अरू २० जना साथीहरू छन् तनाव नलिनू भनेर सम्झायो। एक वर्षपछि तपाईँहरूलाई पनि ल्याउँछु र घुमाउँछु भन्दै फकायो। धेरै सपना घरमा देखायो।”

सेनामा भर्ना भएको अढाइ महिनापछि अनित परिवारको सम्पर्क बाहिर भए। उहाँकी आमाको डीएनएको नमुना भिडाएर रुसी अधिकारीहरूले उहाँ युद्धमा मारिएको पुष्टि गरेका थिए।

गएको वर्षको अगस्टमा मस्कोस्थित नेपाली राजदूतावासले अनितको अस्तु नेपाल पठाइदिएको थियो।

“मैले एक पटक भए पनि भाइको शव हेर्न पाऊँ भनेको थिएँ। त्यो मौका पनि पाइन। अझै पनि उसको सिक्री, एटीएम र कागजपत्रहरू मस्कोमा रहेको नेपाली राजदूतावाससँगै छ।”

रुसी सेनामा भाइको मृत्युयता आमाबुवालाई सम्झाउँदै र रेखदेख गर्दैमा अमितको दिनचर्या बित्ने गर्छ।

अन्य कतिपय पीडितका आफन्तहरू चाहिँ केही नयाँ जानकारी पाउने आशामा सरकारी निकायहरू पुग्छन्।

कति जनाले रुसमा रहेका नेपाली दूतावासका अधिकारीहरूलाई सम्पर्क गरेर क्षतिपूर्तिको प्रक्रिया र बेपत्ता आफन्तबारे सोधखोज गरिरहन्छन्।

मस्को पुगेका नेपालीले ल्याउने खबरको प्रतीक्षा
रुसी सेनामा भर्ना भएका नुवाकोट पञ्चकन्याका रामजी राईले बेपत्ता छोरा दिनेशको प्रतीक्षा गरेको १६ महिना पुग्न लाग्यो।

रामजी पछिल्ला केही सातायता मस्को पुगेका बेपत्ता नेपालीका अन्य परिवारले पठाउने समाचारलाई व्यग्रतापूर्वक कुरिरहनुभएको छ।

आफ्नो गाउँबाट टेलिफोनमा उहाँले भन्नुभयो, “रुस पुगेको परिवारले उता के गरिरहेका छन्, त्यहाँ के भइरहेको छ म त्यही सोचिरहेको हुन्छु। उताबाट कस्तो खबर आउँछ, हाम्रो राजदूतावासले के भन्छरु आउनुपर्छ, तपाईँ आवश्यक पर्‍यो भन्यो भने म पनि रुस जान्छु।”

रुसीहरूले जति क्षतिपूर्ति पाउँछन् त्यही नै हाम्रो हकमा पनि हो। प्रत्येकको सम्झौतामा नै त्यही छ। हामीसँगका सबै पत्राचारमा पनि छ
मिलनराज तुलाधर
रुसका लागि पूर्वनेपाली राजदूत

एथ्लेटिक्समा जिल्ला र प्रदेश स्तरका प्रतिस्पर्धाहरू जितेका उहाँ खेलकुदमा अब्बल हुनुहन्थ्यो।

गाउँकै विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्नुभएका राई काठमाडौं आएर १२ कक्षासम्म पढनुभयो र ब्रिटिश सेनामा भर्ती हुनका लागि तालिम लिनुभयो।

अन्तिम चरणको छनौटअन्तर्गत दुई वर्षअघि पोखरासम्म पुग्नुभएका राई त्यसमा सफल नभएपछि लाहुरे बन्ने अर्को मौकाको खोजीमा हुनुहुन्थ्यो।

रामजी राईले बीबीसीसँग भन्नुभयो, “मैले यतै काम गर, सेनामा नै जागिर खाने भए पनि नेपालमा लप्टन, कप्तान भिडाइदिन्छु भनेको थिएँ। उसले म विदेशमा पाएँ भने सेनामा जागिर खान्छु भन्थ्यो। ब्रिटिश सेनामा असफल भएपछि दलाल भेटेछ अनि त्यसले फसाइदियो।”

उहाँ थप्नुहुन्छ, “दलालले फ्रान्स भनेर मेरो छोरालाई रुसमा पुर्‍याएछ। तीन महिनासम्म सम्पर्कमा थियो। त्यसपछि सम्पर्कविहीन भयो। अहिले १६ महिना बित्न लाग्यो।”

मस्को पुगेका रुसी सेनामा काम गर्दा बेपत्ता भएका नेपालीका परिवारले ल्याउने खबरको प्रतीक्षा रामजी राईको परिवारले गरिरहेको छ।

दिनेश रुस पुगेको एक महिनापछि मात्रै उनी रुसी सेनामा भर्ना भएको आफूले थाहा पाएको बताउने रामजी छोराले अन्तिम पटक भनेको कुरा बारम्बार सम्झिनुहुन्छ

उहाँ भन्नुहुन्छ, “राम्रै छ चिन्ता लिनुपर्दैन भन्थ्यो। अन्तिम पटक ड्याडी आजबाट म ट्रेनिङबाट जानुपर्छ, एक दुई महिना कुरा हुन सक्दैन कि भनेर भोइस म्यासेज छोडेको थियो। त्यहाँदेखि अहिलेसम्म कल पनि छैन, कुरो पनि छैन।”

रुस युक्रेन युद्धमा कसरी जोडिए नेपाली

सन् २०२२ को फेब्रुएरीमा रुस युक्रेन युद्ध सुरु भएको थियो जुन अझै पनि सकिएको छैन। ब्रिटेन र भारतको सेनामा गोर्खा सैनिकका रूपमा बर्षौँदेखी काम गर्दै आएका नेपालीहरू पनि सन् २०२३ बाट यो लडाइँमा प्रत्यक्ष रूपमा नै आबद्ध भएका विवरण आएका थिए।

यो समयमा भारतीय सेना भर्ती योजना ‘अग्निपथ’प्रति नेपालले राखेको असहमतिमा कारण नेपालीहरूको भारतीय सेनामा भर्ती रोकिएको थियो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे १५, २०२३ मा एउटा कानुनमा हस्ताक्षर गरेका थिए जसले रुसी सशस्त्र बल, सेना वा सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गरेका विदेशी नागरिकहरूलाई एउटा सरल प्रक्रियामार्फत् रुसी नागरिकता उपलब्ध गराउने व्यवस्था गरेको थियो।

राजनीतिक अस्थिरता, रोजगारीको अभावसहितका कारणले दैनिक २ हजारभन्दा बढी नेपाली विदेसिने आँकडामाझ रुसी सेनामा रोजगारीको अवसर धेरैले आकर्षक मान्न पुगे।

यस्तोमा मानवतस्करहरूको सञ्जालले आफ्नो बहादुरी र लडाइँ कौशलका कारण संसारभरि परिचित नेपालीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाए।

तर आफ्नो मुलुकसँग काहीँ कतै साइनो नभएको युद्धमा नेपालीहरूको ज्यान जान थालेको विवरण आउन थालेपछि रुसी सेनामा भर्ना भएका कैयौँ नेपालीका परिवारहरू आफन्तलाई स्वदेश फर्काउन माग गर्दै सडकमा आएका थिए।

रामजी पनि काठमाडौंमा आएर अनसन र दबाबमुलक प्रदर्शनमा सहभागी हुनुभयो।

उहाँ भन्नुहुन्छ, “रुसको कुरा भएकाले हामी धेरैजना रुसको दूतावास गएका थियौँ। हामीले हाम्रो मान्छे सद्दे भए नेपाल फर्काइदेऊ ज्यान गुमाएको भए मृत्यु भयो भनेर नाम निकालिदेऊ भनेर भन्यौ। उहाँहरूले हामी बुझ्छौँ भन्नुभएको थियो। तर केही भएको छैन।”

आफ्ना छोरालाई रुस पठाउने व्यक्तिलाई चिनेको भए पनि रकम दिएको प्रमाण नहुँदा उसलाई कानुनको दायरामा ल्याउन नसकेको उहाँले सुनाउनुभयो। दिनेशले ुफ्रान्सको भिसा आयोु भनेपछि आफूले आठ लाख रकम जुटाइदिएको र उहाँले दलाललाई नगद बुझाएको रामजी बताउँनु हुन्छ।

धेरै परिवारलाई आफन्त रुसी सेनामा जाँदा लागेको ऋण कसरी तिर्ने भन्ने सुर्ता छ। तर रामजी राई भन्नुहुन्छ, “सबैभन्दा पहिला छोरा खोज्नुपर्‍यो। त्यसपछि ऋण भनेको जग्गा बेचेर पछि तिर्दा पनि केही फरक पर्दैन।”

कन्सुलर सेवा विभागका निर्देशक गौतमले बेपत्ताको हकमा केही पत्ता लाग्छ कि भनेर आफूहरूले तिनका आफन्तहरूलाई मस्को जान अनुमति दिएको बताउनुभयो।

एक जानकार नेपाली स्रोतले रुसी सेनामा खटिएको समयमा ६ महिनाभन्दा बढी समय बेपत्ता रहेकाहरूलाई स्थानीय कमान्डरको सिफारिसमा न्यायिक निकायले मृत्यु भएको करार गर्नसक्ने जानकारी दियो।

तर चिठ्ठीपत्र आदानप्रदान, भाषा अनुवाद लगायतका कारण यो प्रक्रियाले महिनौँ लिनसक्ने अवस्था रहेको उहाँ बताउँनुहुन्छ।

बीबीसीले राहत र खोजीका बारेमा नेपालस्थित रुसी राजदूतावास र रुसको विदेश मन्त्रालयलाई सम्पर्क गरेको भएपनि जबाफ प्राप्त भएको छैन।

पीडित परिवारले कति क्षतिपूर्ति पाउँछन्?

रुसका लागि पूर्वनेपाली राजदूत मिलनराज तुलाधरका अनुसार रुसीहरूले जति क्षतिपूर्ति पाउँछन् त्यही बराबर रकम ज्यान गुमाएका नेपालीका परिवारहरूले पनि पाउने छन्।

उहाँले भन्नुभयो, “रुसीहरूले जति क्षतिपूर्ति पाउँछन् त्यही नै हाम्रो हकमा पनि हो। प्रत्येकको सम्झौतामा नै त्यही छ। हामीसँगका सबै पत्राचारमा पनि छ। ”

मृत्यु हुनेहरूको हकमा युद्ध समाप्त नभएसम्म क्षतिपूर्ति खासै दिँदैन होला किनभने त्यहाँ सबै लथालिङ्ग छ
सुदीप खत्री
पूर्व रुसी सैनिक

तर सबै कानुनी प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले ज्यान गुमाएकाहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन केही समय लागेको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “कसलाई मनोनयन गरेको छ त्यो हेर्नुपर्‍यो। नेपालको वार्ड र प्रशासनबाट को को हकदार छन् त्यो प्रमाणित गर्नुपर्‍यो। अनि फेरी रुसी भाषामा अनुवाद गरेर प्रमाणित गर्नुपर्‍यो।”

अघिल्लो वर्ष मस्कोबाट फर्किएका उनले थपे, “म (राजदूतको जिम्मेवारीबाट) फर्कने बेलासम्म मृत्यु भएका मानिसहरूको क्षतिपूर्ति लिनेबारे चिठीपत्रहरू आदानप्रदान भइरहेको थियो।”

सुरुमा रुस सरकारले नेपाली राजदूतावासको खातामा रकम जम्मा गरिदिने ‘राहत भुक्तानी ढाँचा’मा छलफल अघि बढेको भए पनि पछि रुस सरकारले पीडितका आफन्त स्वयं मस्को आएर क्षतिपूर्ति दाबी गर्नुपर्ने नियम ल्याएको थियो।

मस्कोस्थित दूतावासमा जम्मा ३ जना मात्रै नेपाली कर्मचारी कार्यरत छन्। जनशक्तिको अभाव र रुसी भाषामा त्यहाँको सरकारबाट प्राप्त हुने सूचनामा निर्भर हुनुपर्ने भएकाले यो प्रक्रिया सहज नभएको कतिपय अधिकारीहरू बताउँछन्।

पूर्वराजदूत तुलाधरका अनुसार सन् २०२४ को मेमा रुसको रक्षा मन्त्रालयका अधिकारीले उहाँलाई नेपालीहरूको भर्ती रोक्ने निर्णय भएको जानकारी गराउनुभएको थियो।

त्यसयता रुसी सेनामा कार्यरत कैयौँ नेपालीहरू आफ्नो करार समाप्त गरेर नेपाल फर्किएका छन्।

नौ लाख रुपियाँ तिरेर रुसी सेनामा जागिर खान मस्को पुगेको बताउने ओखलढुङ्गाका सुदीप खत्री त्यसमध्ये एक हुनुहुन्छ।

उहाँ भन्नुहुन्छ, “लडाइँको समयमा उहीँ नै काम गर्नेहरूको पनि सानोतिनो केही कागज मिलेन भने तलब भत्ता केही पनि आउँदैन थियो। मृत्यु हुनेहरूको हकमा युद्ध समाप्त नभएसम्म क्षतिपूर्ति खासै दिँदैन होला किनभने त्यहाँ सबै लथालिङ्ग छ।”

“हामीले जतिखेर पनि हाम्रो मृत्यु हुनसक्छ उद्धार गर्नुहोस् भनेर रुसमा हुँदा कैयौँ पटक नेपालमा भन्यौँ। तर नेपाल सरकारको कुरा रुसले सुनुवाइ गर्छ जस्तो मलाई लाग्दैन। एक वर्ष काटेपछि हामीलाई बिदा दिएको थियो। त्यही बेला म फर्किएँ। बाँचेर नेपाल आए त्यो नै मेरो लागि ठूलो कुरा हो।”

न्यायको खोजी र परिवारका अपेक्षा

रुसले आफ्नो सेनामा नेपाली भर्ना भएका वा तिनको भर्ना रोकिएको विषयमा औपचारिक धारणा राख्ने गरेको पाइँदैन। तर यो बीचमा पीडित परिवार ‘बोलेर मात्रै केही नहुने’ मनस्थितिमा पुग्दै गएको देखिन्छ।

कीर्तिपुरमा भाडामा लिएको जग्गामा बनाइएको टहरा छाडेर सिर्जना बस्नेत अघिल्लो महिना काठमाण्डूको बौद्ध नजिकै डेरा सर्नुभयो।

किर्तीपुरमा बस्दा बङ्गुरपालन गर्दा आफ्नो परिवारलाई झन्डै ८ लाख नोक्सान भएको उहाँ बताउँनुहुन्छ। विनोदले शान्ति सेनाबाट कमाएर ल्याएको पैसाबाट उक्त ऋण सो परिवारले तिरेको थियो।

कीर्तिपुरको त्यो टहरामा बस्दा नै सिर्जनाले पति गुमाएको पीडादायी खबर सुन्नुपर्‍यो।

उहाँ भन्नुहुन्छ, “हामीले धेरै थोक गुमायौँ यहाँ नबसौँ भनेर छोराले पनि जिद्दी गर्‍यो। त्यही भएर केही काम पाइन्छ होला भनेर सहर नजिकै सरेका हौँ। अहिलेसम्म केही काम पाएकी छैन।”

रुस युक्रेनमा समस्यामा परेका नेपाली परिवारलाई सहयोग उपलब्ध गराउने जिम्मेवारी पाएको कन्सुलर सेवा विभागमा केही दिन अघि उहाँ पुग्नुभएको थियो। त्यहाँ उहाँलाई आफैँ खोज्न जाने कि कुर्ने दुईवटा विकल्प रहेको सुनाइएको थियो।

Share Now