विर्तामोड (झापा),९ साउन । बंगलादेशमा एमबीबीएस गर्ने छात्राहरुका बारेमा अमर्यादित र अपमानजनक अभिव्यक्ति दिएका विर्तामोडस्थित बी एन्ड सी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले ्आफ्नो अभिव्यक्तिले एमबीबीएस अध्ययनरत र गरिफर्केका छात्राहरु सहित महिलाहरुमा पर्न गएको चोटप्रति सार्वजनिक रुपमा क्षमा याचना गरेका छन् ।
झापाको बिर्तामोडको आफ्नै अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी प्रसाईँले भने, “नेपाली चेलीहरुप्रति अपमान गर्ने कुरा म सोच्न पनि सक्दिन, चौध महिनाअघिको भिडियोलाई तोडमोड गरी भ्रम फैलाउने नियतले मेरो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल बनाइयो ।”
उनले आफ्नो पुरानो अभिव्यक्तिमा प्रयोग भएको कतिपय शब्दका कारण नेपाली छात्रा र अभिभावकमा पर्न गएको चोटप्रति पटक पटक क्षमा मागिएको बताए ।
यता राष्ट्रिय मानवअधिकार आयोग, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद , महिला संघ तथा नेविसंघले माफि मागेर नपुग्ने भन्दै कारबाहीको माग गरेको छ।
प्रसाईँले नयाँ निजी क्षेत्रमा नयाँ शिक्षण अस्पतालको औचित्य पुष्टि गर्न हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली छात्रालाई ४ बर्षको पाठ्यक्रम सक्न ९ वर्ष लाग्ने र उनीहरुले आफ्नो अस्मिता बेचेर प्रमाणपत्र ल्याउन पर्ने विवादस्पद अभिव्यक्ति दिएका थिए ।
राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीका अनुसार विदेशमा चिकित्सा शिक्षा लिएका सम्पूर्ण छात्रा र महिला डाक्टर सहित तिनका अभिभावक र आफन्तहरुलाई मर्माहत गर्ने उनको अभिव्यक्तिको चौतर्फी विरोघ भएपछि आयोगले उनलाई पक्राउ गर्न सरकारलाई पत्र पठाएको छ ।
यसअघि बीएन्डसी हस्पिटलमा नेपाल महिला संघ झापाले कालो झण्डा गाडेर प्रसाईँले दिएको अभिव्यक्तिप्रति खेद जनाउदै महिलाले विरोध गरेका थिए । महिला संघले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाउदै प्रसाईँलाई कारबाही गर्न सरकारसँग माग गरेको थियो ।
यस अगाडि यस्तै अभिव्यक्ति दिएका कारण न्याय,कानूत तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाड.ले माफी मागेर नपुगेर मंगलबार राजिनामा दिनु परेको थियो ।
अस्पतालका कार्यकारी निर्देशक प्रसाई प्रधानमन्त्री के.पी. शर्मा ओली र पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नै निवासमा बोलाएर चरेसको थालमा मार्सी चामलको भात ख्वाएर शिक्षण अस्पतालको लाइसेन्स लिन प्रयास गरेकोमा केही समयदेखि निकै चर्चामा आएका व्यक्तिमा पर्दछन् ।
प्रसाईसंगको निकटताको कारण झापा निर्वाचन क्षेत्र भएका प्रधानमन्त्री ओली समेत नराम्रोसंग विवादमा मुछिन पुग्नूभएको छ ।