काठमाडौं, ९ साउन । चिकित्सा शिक्षा विधेयक विज्ञहरुको राय अनुसार आएको अध्यादेश अनुरुप हुनुपर्ने मुख्य माग सहित चिकित्सा क्षेत्रको सुधारको माग लिएर २६ दिनदेखि अनशनमा बस्नुभएको प्रा. डा. गोविन्द केसीका वार्ताकार र सरकारी वार्ता टोलीबीचको निर्णायक भनिएको वार्ता विफल भएको छ।
१५ औ सत्याग्रहको २६ औ दिनमा पुगीसक्दा पनि सरकारी पक्ष गैरजिम्मेवार भयर प्रस्तुत भयो र डा केसीले अपनाउनु भयको लचकताको खील्ली उडाईयो।
तसर्थ यस मुद्दालाई सार्थक बनाउने गरि आ-आफ्नो स्थानबाट बीरोधको आवाजहरु उठाउन र अझ सशक्त तरिकाले लाग्न अपिल गर्द्छु। #BackOffMedicalEducationBill pic.twitter.com/7Fx52JaIjZ— Dr Abhishek Raj Singh (@SinghR_Abhishek) July 25, 2018
शिक्षा मन्त्रालयमा बसेको दोस्रो चरणको वार्तामा सरकारी पक्षले चिकित्सा शिक्षा विधेयकबारे छलफल नै गर्न नचाहेकाले वार्ता विफल भएको केसीका वार्ताकारहरुले आरोप लगाएका छन् । डा. केसीका सहयोगी एवं वार्ता टोलीका सदस्य डा. जीवन क्षेत्रीले अनशनको २६ औं दिनमा सरकारी पक्ष जुन रुपले प्रस्तुत भयो त्यसले वार्ता विफल भएको निष्कर्ष निकालिएको बताउदै अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गरिने बताउनुभयो।
डा.के.सी.का सहयोगी डा.क्षेत्रीका अनुसार ुदोस्रो पटकको वार्तामा पनि सरकारी पक्षले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकको बारेमा विषय प्रवेश नै गर्न मानेन। विषय प्रवेश नै नगरी वार्ता विफल भयो।
डा. क्षेत्रीले अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति बनाउन डा. केसीसँग छलफल गरेर अगाडि बढ्ने निर्णयमा पुगेको बताउनुुभएको छ।
डा. केसीका वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले सामाजिक ट्विटर मार्फत एक सन्देश दिंदै सरकारी पक्ष गैर जिम्मेवार भएर प्रस्तुत भएको उल्लेख गर्नुभएको छ । उहाँले सरकारी पक्ष लचक हुनुको सट्टा डा. केसीको खिल्ली उडाइएको आरोप लगाउनुभएको छ ।
उहाँले डा. के.सी.को जीवन रक्षा र स्वास्थ्य क्षेत्रको विकृति निराकरणका लागि सशक्त विरोध कार्यक्रम सञ्चालन गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभएको छ ।
पढ्नुहोस् विज्ञप्ति :
प्रेस विज्ञप्ति
डा. गोविन्द केसी १५ औँ सत्याग्रहको २६ औँ दिनमा रहनुभएको यहाँहरूलाई विदितै छ। यसबीच सरकार तथा डा. केसी दुवैका तर्फबाट वार्ता टोली गठन भएर विभिन्न चरणमा वार्ता समेत भइसकेको छ। अध्यादेश बमोजिमको चिकित्सा शिक्षा ऐन आउनुपर्ने डा. केसीको मागको सन्दर्भमा यस अगाडि सरकारले तोडमोड गरेर संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने डा. केसीको अडान रहेको थियो। तर वार्ताको क्रममा हदैसम्म लचकता अपनाउँदै डा. केसीका तर्फबाट विधेयक फिर्तीको माग थाँती राख्दै विधेयकका प्रावधानहरुमा सुधार गरी सहमति जुटाउनका लागि सरकार पक्षसँग विभिन्न चरणका अनौपचारिक र औपचारिक छलफलमा सहभागी भएका थियौँ।
तर आज २६औँ दिनमा डा. केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको हुनाले यही अलमलका कारण डा. केसीको स्वास्थ्यमा अपूरणीय क्षति पुग्ने अवस्था आइसकेको छ। यो अवस्थामा थप अलमल गरेर डा. केसीको स्वास्थ्यलाई झनै जोखिममा पार्न हामी तयार छैनौँ।
त्यसैले यस्तो संवेदनशील समयमा आएर छलकपटपुर्वक सत्याग्रही डा. केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने सरकारको रवैयाको कडा विरोध गर्दर्छौँ। साथै हामीले सरकारलाई उपलब्ध गराएको सुची बमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउँछौँ।
डा. अभिषेकराज सिंह
संयोजक
डा. गोविन्द केसी वार्ता टोली